कञ्चनपुरमा ‘सेलिब्रेटी’ बन्दै बिना मगर, गाउँघरमा आकर्षणको केन्द्र


जी भट्ट
बेलौरी–‘बिना मगरलाई फेरि उम्मेदवारका रुपमा पाउँदा खुसी भएँ,’ बेलडाँडी गाउँपालिका–१ चन्दनवस्तीका ६५ वर्षिय वीरभान भट्टले भने, ‘अघिल्लो चुनावमा जितेका सांसदले विकासको अनुभूति गराउन नसकेपछि बिना मगरले मात्रै यो क्षेत्रको विकास गराउन सक्छिन् भन्ने लागेको थियो।अब उम्मेदवारकै रुपमा बिना आएपछि बिनालाई जिताएर विकास गराउने सपना पूरा हुने भयो।’

 

 

 

कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट वाम गठबन्धनकी उम्मेदवार बिना मगरलाई भेटेपछि ६५ वर्षिय भट्टले बिना मगरललाई विजयी गराउन गाउँगाउँमा भोट माग्दै हिँड्ने वचन दिए।

 

 

माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य तथा युवा नेतृ बिना मगर चुनावी प्रचारप्रसारमा हिँड्दा उम्मेदवार मगरलाई भेट्ने र कुराकानी गर्न खोज्नेको भीड नै लाग्छ।

 

 

सर्वसाधारण मतदाता बिना मगरलाई भेटेर आफ्ना समस्या राख्न र नजिकिन चाहन्छन्। ‘दक्षिणी क्षेत्रमा विकास देख्ने जनताको सपनालाई बिना मगरले नै सम्भव बनाउन सक्नुहुन्छ,’ बेलौरी नगरपालिका–६ रिछाहाकी सुनिता चौधरीले भनिन्, ‘हामी महिलाले बिना दिदीसँग आफ्ना समस्या र गुनासा सहजै भन्न सक्ने र समाधान हुने आशा भएकाले बिना दिदीलाई नै जिताउँछौं।’

 

 

 

वाम गठबन्धनकी उम्मेदवार बिना मगरसँग नेपाली कांग्रेसबाट यसअघि सांसद भइसकेका दिवानसिंह विष्टले प्रतिस्पर्धा गरिरहेका कारण मतदातालाई उम्मेदवार छान्न सजिलो भएको छ।

 

 

 

कांग्रेसका उम्मेदवार तथा निवर्तमान सांसद दिवानसिंह विष्टको क्षमता र भूमिका परीक्षण भइसकेका कारण मतदाताको आशा बिना मगरतिर सोझिएको छ।

 

 

 

‘दिवानसिंह विष्टले सडक बनाइदिन्छु, पुल बनाइदिन्छु, स्कूल बनाइदिन्छु भनेर चुनाव जित्नुभयो। तर, अर्काे चुनाव आउँदासम्म पनि केही पनि काम गर्नुभएन,’ बेलडाँडी गाउँपालिका–३ खैरीघाटका प्रेम विष्टले भने, ‘अब उहाँप्रति कुनै आशा छैन ।’ सांसद विकास कोषबाट सबै सांसदलाई आउने रकम पनि देख्न नपाइएको बेलडाँडी गाउँपालिका–१ का देवसिंह ठगुन्नाले बताए।

 

 

 

‘केही ठाउँमा आएका तटबन्ध निर्माणका सरकारी योजनामा गुणस्तरहीन काम भएका छन्,’ ठगुन्नाले भने।

 

 

गुणस्तरहीन काम हुँदा पनि मौन बसेर निवर्तमान सांसद दिवानसिंह विष्टले कमिसन खाएको आशंका बढेको स्थानीयको भनाई छ । ‘बेलौरी–कलुवापुर सडकखण्ड निर्माणको काम पूरा नहुँदै अधिकांश ठाउँमा कालोपत्रे फुटिसकेको छ। सांसदको संलग्नता नभएर ठेकेदारले गुणस्तरहीन काम कसरी गर्न सक्लान् ?’ बेलौरीका राजेन्द्र भट्टले भने।

 

 

 

 

निवर्तमान सांसद दिवानसिंह विष्टको कार्यकालप्रति सर्वसाधारणको नकारात्मक बुझाइ भएका कारण पनि मतदातामाझ बिना मगरको लोकप्रियता बढेको छ।

 

 

वाम गठबन्धनले बिना मगरलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएपछि स्थानीय स्तरका प्रभावशाली नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्न थालेका छन्।

 

 

 

कांग्रेसका लागि बलियो मानिएको क्षेत्र बेलडाँडीका स्थापित नेता ईश्वरी भट्ट केही दिनअघि कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कांंग्रेसले झुठा आश्वासन मात्रै दिएको र विकासको काम नगरेकाले बिना मगरलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको भट्टले बताए।

 

 

 

 

‘जितेका नेता पनि निर्वाचन क्षेत्रमा देखिँदैनन्। तर, बिना मगर चुनाव हारेर पनि निरन्तर हाम्रो बिचमा रहनुभयो, थुप्रै विकासका काम गर्नुभयो,’ उनले भने, ‘कुनै पदमा नभएर पनि उहाँले रौलेश्वर, कालिका, वैवाह क्षेत्रमा सडक ग्राभेलका योजना ल्याउनुभयो।’

 

 

 

भट्टको नेतृत्वमा बेलडाँडीका पूर्वगाउँ समिति सचिव डम्मरबहादुर शाह, क्रियाशील सदस्य हेमराज भट्ट, यज्ञराज भट्ट, घनश्याम कठायत, निर शाहु, कमल शाह, लाभुराम चौधरी कांग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

 

 

यस्तै, गत आईतबार नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य कविराम तामाङ र बौद्ध लामा तथा प्रदेश सदस्य जगत सायर सहित ३० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

 

 

 

 

दक्षिणी क्षेत्रको विकासका लागि बिना मगर नै सक्षम नेतृत्व भएकाले माओवादी केन्द्रमा प्रवेश गरेर महिला नेतृ बिना मगर जिताउने अभियानमा सहभागी भएको केन्द्रीय सदस्य कविराम तामाङले बताए।

 

 

 

स्थानीय तह निर्वाचनमा फोरम लोकतान्त्रिकबाट पुनर्वास नगरपालिकाको प्रमुख (मेयर) पदका उम्मेदवार झुठा राना माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

 

 

 

 

फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि कांग्रेस प्रवेश गरेका राना कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उपयुक्त नभएको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

 

 

 

आसन्न चुनावमा नेपाली कांग्रेसबाट कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिवानसिंह विष्टले यसअघि जितेर पनि केही गर्न नसकेकाले वाम गठबन्धनकी उम्मेदवार बिना मगरललाई जिताउन माओवादी केन्द्रमा प्रवेश गरेको रानाले बताए। ‘दक्षिणी क्षेत्रको विकास गर्न अब कांग्रेसका नेताबाट सम्भव छैन।

 

 

 

 

वाम गठबन्धनले मात्रै विकासबाट वञ्चित क्षेत्रको प्रगति गर्न सक्ने भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको हुँ,’ उनले भने 

 

 

 

विकासको आशाका कारण सर्वसाधारण मतदाताका लागि ‘राजनीतिक सेलिब्रेटी’ बनेकी बिना मगर पार्टी पंक्तिमा जनयुद्धताकाको योगदान र सक्रियताका कारण पहिल्यैदेखि लोकप्रिय थिइन्।

 

 

 

 

बाल्यकालदेखि बाल कलाकार हुँदै माओवादी आन्दोलनमा होमिएकी बिना मगर जनयुद्धकै क्रममा २७ महिना नेपाली सेनाको कष्टकर सैनिक हिरासतमा बसेकी थिइन्।

 

 

 

 

माओवादी केन्द्रका अध्यक्ष तथा नेपाली राजनीतिमा स्थापित व्यक्तित्व पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी भएर पनि बिना मगरले जन्मभूमिलाई नै कर्मभूमि बनाएकोप्रति समेत मतदाता खुसी छन्।

 

 

 

 

‘आलोचना र विरोध गर्नेले प्रचण्डकी बुहारी भनेर नकारात्मक प्रचार गर्ने गरेपनि प्रचण्डकी बुहारी भएर पनि कञ्चनपुरको दुर्गम र विकास नदेखेको क्षेत्रलाई कर्मभूमि बनाउनु बिना मगरको सकारात्मक पक्ष हो,’ लालझाडी गाउँपालिका–४ का शंकर रानाले भने, ‘समानुपातिक मार्फत् सजिलै सांसद हुने सक्ने सम्भावना हुँदाहुँदै पनि उहाँले जनतासँग प्रत्यक्ष जोडिन र जनताको सेवा गर्न प्रत्यक्षमै चुनाव लड्नुभयो।’

 

 

 

जन्मभूमिलाई नै कर्मभूमि बनाउने बिना मगरको निर्णयलाई मतदाताले सम्मान गर्ने रानाले बताए।

 

 

उम्मेदवारी दर्तापछि मतदातामाझ बढेको बिना मगरको लोकप्रियता र चर्चाले जित निश्चित हुँदै गएको वाम गठबन्धनभित्र चर्चा हुने गरेको छ।

 

 

 

स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रका उम्मेदवारका पक्षमा खसेका मतका आधारमा समेत वाम गठबन्धनका उम्मेदवार बलिया देखिएका छन्।

 

 

 

 

स्थानीय तह निर्वाचनमा १ नम्बर क्षेत्रभित्र रहेका ३२ वडाका वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा वाम गठबन्धन झण्डै २० हजार मतले अगाडि रहेको छ।

 

 

 

 

स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले १८ हजार ५ सय ६९ र माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले १६ हजार १ सय १५ गरी वाम गठबन्धनका उम्मेदवार पक्षमा ३४ हजार ६ सय ८४ मत खसेका छन्।

 

 

 

 

कांग्रेसका वडाध्यक्षका उम्मेदवारले स्थानीय चुनावमा १४ हजार ९ सय ५६ मत पाएका छन् । आसन्न निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ८८ हजार ५९ मतदाता रहेका छन्।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement