धितोपत्रको अध्यक्षमा विवादित कार्कीलाई ल्याउने महतो र ढकालको योजनालाई अर्थमन्त्रीको साथ


काठमाण्डु – नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण कार्कीलाई ल्याउने चलखेल भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले कार्कीलाई अध्यक्ष बनाउन १ नम्बरमा नाम सिफारिस गरेर मन्त्रिपरिषद् बैठकमा लैजाने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ । कार्की नेप्सेमा हुँदा विवादमा परेका थिए ।

व्यवसायी चन्द्र ढकाल र उपेन्द्र महतोको डिजाइनमा अर्थमन्त्री पुनले कार्कीलाई अध्यक्ष बनाउने तयारी गरेका स्रोतले जनाएको छ । कार्की व्यवसायीद्वयसँगै मन्त्री पुनसँग लामो समयदेखि निकट रहेको बताइन्छ । उनी यसअघि मन्त्री पुन ऊर्जामन्त्री हुँदा बुढीगण्डकी परियोजनामा कार्यरत थिए ।

स्रोतका अनुसार मन्त्री पुनले बुधबार नै गोप्य ढंगले कार्कीलाई अध्यक्ष बनाउनका लागि १ नम्बरमा नाम सिफारिस गराउन खोजे पनि अन्तिममा आएर रोकिएको छ । उनको नियुक्तिका लागि सिफारिस सम्बन्धी निर्णयको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पुगेपछि त्यसमा हस्तक्षेप भएको स्रोतको दाबी छ ।

‘अर्थमन्त्रीज्यूले उनलाई १ नम्बरमा सिफारिस गर्नका लागि बुधबार बैठक बोलाउनुभएको थियो । तर त्यसमा सचिव र अन्य सदस्यले आपत्ति जनाएपछि त्यो खेल सफल हुन सकेन,’ स्रोतले काठमाण्डुपाटीसँग भन्यो ।

अर्थमन्त्री पुन निकट स्रोतले दिएको जानकारी अनुसार बुधवार अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका अध्यक्ष मिनबहादुर श्रेष्ठबीच समेत यसबारेमा छलफल भएको थियो । त्यसका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत अर्थसचिव मधु मरासिनीलाई नै बुधबार छलफलका लागि बोलाएका छन् । बुधबारको बैठकले ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्दा कार्कीको नाम १ नम्बरमा सिफारिस गर्न खोजिएको थियो ।

सरकारले गत फागुन १५ गते सेबोन अध्यक्ष नियुक्ति गर्न योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा अर्थसचिव मधु मरासिनी र प्राध्यापक उदय निरौला सदस्य छन् ।

श्रेष्ठ नेतृत्वको समितिले आवेदकहरूमध्येबाट गत चैत २५ गते नै ५ जनाको नाम सिफारिस गरेको थियो । समितिले व्यावसायिक कार्ययोजना मूल्यांकन तथा शैक्षिक योग्यताबापत प्राप्तांकको आधारमा कृष्णबहादुर कार्की, चिरञ्जीवि चापागाईं, नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको छ ।

व्यवसायी ढकालले कार्की नभएको खण्डमा बीमा समितिको लाइसेन्स जारी गर्दा रकम उठाएको आरोप लागेका चापागाईंलाई बोर्डको अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् ।

धितोपत्र बोर्डको लाइसेन्स लिन व्यवसायी चन्द्र ढकाल, उपेन्द्र महतो, दिपक भट्ट र रामेश्वर थापाले प्रयास गरिरहेका छन् । बोर्डमा आफू निकटलाई अध्यक्ष बनाएर लाइसेन्स लिने दाउमा व्यवसायीहरू लागेका छन् ।

को हुन् कृष्णबहादुर कार्की ?

विभिन्न सरकारी निकायमा नियुक्ति पाउँदै आएका कार्कीले पछिल्लो समय नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भएका थिए । २०७८ माघमा नेप्सेमा नियुक्त भएका कार्की नेप्सेमा आएपछि उल्लेखनीय प्रदर्शन गर्न सकेका छैनन् । शेयर बजारलाई सुधार गर्नमा मुख्य भूमिका हुने ठाउँमा पुगेका कार्कीले भन्न लायक र देखाउन लायक काम गरेनन् ।

नेप्सेमा बसेर निश्चित व्यावसायिक घरानाका लागि सहयोगी हुने कामबाहेक उनले केही नगरेको त्यहीँका अधिकारीहरू बताउँछन् । शेयर बजार अनलाइन प्रणालीमा सञ्चालन भएदेखि नै नेप्सेको सफ्टवेयरमा वाइको नामक कम्पनीको एकाधिकार रहेको छ । व्यवसायी चन्द्र ढकालको कम्पनीले गम्भीर गल्ती गरेर बजारमा चलखेल गरेको अनुसन्धानबाटै देखिए पनि कार्कीले त्यसमा सुधारका लागि सिन्को समेत भाँचेका छैनन् ।

प्रणालीगत एकाधिकारको फाइदा उठाउँदै वाइकोमार्फत् निश्चित ब्रोकर तथा शेयर बजारका खेलाडीले चलखेल गरेको प्रष्ट आधार भेटिए पनि कार्कीले उल्टै संरक्षण गरेको आरोप उनीमाथि छ । यतिसम्म कि उनले अर्को ट्रेड म्यानेजम्यान्ट सिस्टम (टीएमएस) ल्याउन खोज्दा त्यसमा भाँजो हाल्न अन्तिमसम्म प्रयास गरेका थिए ।

नयाँ आउने सिस्टमलाई ‘प्लग इन’ दिनसम्म उनले लामो समय रोकेका थिए । त्यसका साथै विदेशी मुद्राको सिफारिसमा उल्झन सिर्जना गर्न पनि उनी पछि हटेनन् । व्यावसायी ढकालको खटनपटनमा चल्नेबाहेक कार्कीले नेप्सेको सुधारमा कुनै पनि काम गरेनन् ।

नेप्सेमै बसेर एउटा व्यावसायिक घरानाको फाइदाका लागि काम गरेका कार्की अझ धितोपत्रको नियामक धितोपत्र बोर्डको अध्यक्ष बन्न विभिन्न शक्ति केन्द्र धाइरहेका छन् । कार्कीलाई यसअघि नेप्सेमा आउँदा होस् या बुढीगण्डकी आयोजनाको प्रमुख बन्दा होस्, दुवैमा विचौलियाले रकम लगानी गरेको आरोप छ ।

आयोजना प्रमुख हुँदा त उनले बैंकमा डिपोजिट बापतको रकम राख्दा समेत बैंकहरूबाट कमिशन लिएको गुनासो मन्त्रालयसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement