ताइवान प्रकरण : भारतबाहेक दक्षिण एशियाका सबै देशको चीनलाई समर्थन !


एजेन्सी – ताइवान प्रकरणमा दक्षिण एसियाका धेरै देश चीनको समर्थनमा उत्रिएका छन् । चीनको विरोधका वावजूत अमेरिकी संसद नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन अमेरिका सम्बन्ध बिग्रिएको छ । चीनले अमेरिकाले मान्दै आएको एक चीन नीतिको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ ।

ताइवान प्रकरणमा भारत बाहेक नेपाल अफगानिस्तान, बङगलादेश,माल्दिभ्स,म्यानमार, पाकिस्तान र श्रीलंकाले चीनको एक चीन नीतिलाई समर्थन जनाएका छन् । चीनले ताइवान प्रकरणमा विश्वका एक सय मुलुकले समर्थन गरेको दावी गरेको छ । चिनियां विदेशमन्त्री वाङ यी ले पत्रकार सममेलनमा सयभन्दा बढी मुलुकहरुले एक चीन नीतिप्रति दृढ प्रतिवद्धता जनाएको बताएका छन् ।

चिनियां विदेश मन्त्रालयका प्रवक्ता हुया चुनिइंगले पत्रकार सम्मेलनमा बोल्दै दुनियांमा एक चीन भएको र उसको हिस्सा ताइवान भएको बताए । उनकाअनुसार अमेरिकासहित विश्वका १ सय ८१ देशले यही सिद्धान्तअनुसार चीनसंग रणनीतिक सम्बन्ध स्थापित गरेका छन् । दक्षिण एशियामा भारतले भने चीनसंगको सीमा विवादको कारण कुनै वक्तव्य दिएको छैन् ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघले ट्विट गर्दै एक चीन नीतिको समर्थन गरेका छन् । उनले चीनका राजदूत एच.ई.की. झेंगहोंगसंगको भेटपछी श्रीलंकाको एक चीन नीतिप्रतिको प्रतिवद्धतालाई दोहोराएका हुन् । उनले संयुक्त राष्ट्रसंघको बडापत्रको सिद्धान्तअनुसार राष्ट्रको सम्प्रभुता र क्षेत्रीय अखण्डताप्रति वचनवद्धता जाहेर गरेका छन् ।

बंङगलादेशले पनि एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको छ । उसको विदेश मन्त्रालयले ताइवान प्रकरणमा आफ्नो ध्यान रहेको भन्दै यसमा संयमता अपनाउन आग्रह गरेको छ । बंङगलादेशका विदेश राज्यमन्त्री मोहम्मद शहरियार आलमले बंङगलादेशले सुरुदेखि नै एक चीन नीतिको समर्थन गरिरहेको बताएका छन् ।

नेपालको परराष्ट्रमन्त्रालयले पनि एक चीन नीतिको समर्थन गरेको छ । परराष्ट्रमन्त्रालयले टिवट गर्दै नेपाल ताइवानको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै नेपाल संधै एक चीन नीतिको समर्थक रहेको स्पष्ट पारेको छ । नेपाल र चीन दुवै मुलुकले एक अर्काको सम्प्रभुता,क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वतन्त्रताको सम्मान गर्दै आएको परराष्ट्रमन्त्रालयको टिवटमा उल्लेख छ ।

म्यान्मारले पनि अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चिन्ता जनाएको छ । उसले पेलोसीको भ्रमणले यो क्षेत्रमै तनाव बढेको जनाएको छ । म्यान्मारले यस क्षेत्रमा अस्थिरता पैदा गर्ने कुनै पनि उत्तेजक कार्वाहीको र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै पनि प्रयासको विरोध गर्ने स्पष्ट पारेको छ । म्यानमारले समेत ताइवान चीनको अभिन्न अंग भएको बताएको छ ।

माल्दीभ्सको विदेशमन्त्रालयले एक चीन नीतिप्रति आफ्नो प्रतिवद्धता दोहोर्याएको छ । यसअघि चिनियां विदेशमन्त्री वाङ यीसंगको भेटमा माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिदले उक्त प्रतिवद्धतालाई दोहोर्याएका थिए ।

अफगानिस्तनको तालिबानी सरकारको विदेशमन्त्रालयले समेत एक चीन नीतिको खुलेर समर्थन गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता अब्दुल कहर बाल्खीले टिवट गर्दै चीन र अमेरिकाको सम्बन्ध सुरक्षा,स्थायित्व र यो क्षेत्रको शान्तिको लागि महत्वपूर्ण रहेको भन्दै उनले अर्को मुलुकको संप्रभुताको ख्याल गर्न पर्ने बताएका छन् ।

पाकिस्तान र इरानले समेत एक चीन नीतिको खुलेर समर्थन गरेका छन् । पाकिस्तानको विदेश मन्त्रालयले एक चीन नीतिको समर्थन गर्दै पाकिस्तानले चीनको संप्रभुता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने जनाएको छ ।

उता इरानका विदेशमन्त्री हुसैन आमिर अब्दुलाहयनले पूर्व एशियामा भइरहेको गतिविधिलाई लिएर चीनमाथि अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन् । उनले चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गर्दै चीनको एक चीन नीतिप्रति खुलेर समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement