कोरोना संक्रमितले अस्पतालका शैया भरिभराउ, स्थिती भयावह हुने चेतावनी


काठमाण्डु – काठमाण्डुका अस्पतालहरुमा कोरोनाभाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । पछिल्लो समय निषेधाज्ञा खुकुलो भएकाले पनि संक्रमण दर दिनहुँ बढ्दै गएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २५ जना आइसियुमा भर्ना भएका छन् । दैनिक २० देखी २५ जना कोरोनाका संक्रमितहरु अस्पताल पुग्ने गरेको अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले जानकारी दिए ।

यता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पनि आईसियुमा वेड अभाव हुन थालेको छ । अस्पतालमा रहेको ३० वटा आइसियु वेड विरामीले भरिएको त्रिवी शिक्षण अस्पतालका कोरोना फोकल पर्सन डा.निरज बमले जानकारी दिए। उनी भन्छन्, ‘अहिले विरामीको चाप अत्याधिक बढेको छ हामीसंग भएको ३० वटा आइसियु र १० वटा एचडियु भरिएका छन् । सचेत भइएन र पुर्व तयारी नगर्ने हो भने स्थिती भयावह हुनसक्छ ।’

दैनिक रुपमा २० देखि ३० जनासम्म कोरोनाका संक्रमितहरु शिक्षण अस्पताल पुग्ने गरेको उनको भनाइ छ । वृद्ध वुद्धादेखि युवायुवतीसम्म संक्रमित भएको उनले बताए । विर अस्पताल, पाटन अस्पताल लगायत काठमाण्डुमा ठुला अस्पतालहरुमा पछिल्लो हप्ता विरामीको चाप बढेको बताइएको छ ।

यता निजि अस्पतालहरुमा पनि कोरोनाका बिरामीको चाप बढेको छ । कलंकीमा रहेको नेपाल नेशनल हस्पिटलमा दैनीक १० देखि १५ जना कोरोनाका नयाँ संक्रमित पुग्ने गरेको अस्पतालका निर्देशक डा. प्रकाश पौडेलले जानकारी दिए ।अस्पतालमा अहिले १० जना बिरामी भर्ना भएका छन् ।उनीहरू सबै अक्सिजन चाहिने अवस्थाका छन्। ३ जनाको आइसियुमा उपचार भइरहेको छ ।

यता ललितपुरस्थित स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रूपाखेतीले पनि पछिल्लो हप्ता अस्पतालमा कोरोना संक्रमितको चाप बढेको जानकारी दिए । दैनिक २० जना संक्रमितहरु अस्पतालमा सेवा लिन पुगेको डा.रुपाखेतीले बताए । अस्पतालमा सिकिस्त बिरामीको संख्या दिनहुँ बढ्दै गएपछि जोखिम बढेको जानकारहरु बताउछन् ।

आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना कोरोनाका नयाँ संक्रमित थपिने स्वास्थ्य मन्त्रालयले प्रक्षेपण गरेको छ । नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने बताए। स्वास्थ्यमन्त्रालयका आनुसार शुक्रबार १ हजार २ सय ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आँकलन गरिएको थियो तर पछिल्लो समय भाइरसले स्वरूप परिवर्तन गर्दै थप शक्तिशाली बन्दै गएको छ । गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो वेभको कल्पना पनि गरेका थिएनन्। तर परिस्थिति त्यस्तो रहेन । अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ । भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ । नेपालमा तेस्रो लहर नआइसकेको तर अहिलेको अवस्था तेस्रो लहरको सङ्केत रहेको जनस्वाथ्यविद डा.शरद वन्तले बताए ।

नेपालमा पहिलो लहरको संक्रमण उच्च हुँदै शून्य मृत्युदर सम्म पुगेको थियो तर हाम्रा व्यवहार र जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा फेरी दोस्रो लहरको संक्रमण भोग्नु पर्यो । संक्रमणपुर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म यसको घटबड भएपनि घटबढलाई मात्रै आधार बनाएर लहरको आकलन गर्न नसकिने उनको भनाइ छ ।

उनी भन्छन् ‘के को आधारमा लहर भन्ने हो, पहिलो लहरको समयमा मृत्यु शून्यमा घटायौ, संक्रमण दर पनि ५ हजार बाट घटाएर दैनिक ५०, ६० मा पुरायौँ तर पछि फेरी संक्रमण दर ह्वात्तै बढ्यो  । जुन दोस्रो लहर थियो, पहिलो चरणमा हामीले सङ्क्रमणलाई निकै कम बनाउन सक्यौँ र पछि आएको लहरलाई दोस्रो भन्यौ तर अहिलेको अवस्थामा दैनिक संक्रमण दर पिँधमा ल्याउनै सकेका छैनौँ दैनिक निको हुने र संक्रमित हुने दर घटेकै छैन त्यसैले यसलाई तेस्रो लहर त नभनौँ तर संक्रमण बढ्नु तेस्रो लहरको सङ्केत हो जस्तो मलाई लाग्छ ।’  कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्यका मापदण्डको पालना गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement