कोरोना भाइरसको ‘धार्मिक संक्रमण’ : नेपालमा खतराको घण्टी !


काठमाडौं – संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण विभिन्न चरणले फैलिन्छ । नेपालमा हालसम्म देखिएको अधिकांश संक्रमण विदेशबाट आयात भएको संक्रमण हो -आयातित संक्रमण । कैलालीमा एक महिलामा मात्रै स्थानीय संक्रमण देखिएको छ – विदेशबाट आएका परिवारका सदस्यबाट घरमा अर्काे व्यक्तिमा सरेको । विदेशबाट आएका देवरबाट भाउजुमा कोरोना संक्रमण सरेको छ ।

आयातित संक्रमण र स्थानीय संक्रमणलाई ‘कन्ट्याक्ट ट्रेसिङ’ मार्फत पहिचान गरी व्यवस्थापन गर्न सकिन्छ । आयातित संक्रमित व्यक्ति सजग भए धेरै फैलिन पाउँदैन । आयातित संक्रमण आफूमै सीमित राख्न सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ९ जनामा कोरोना भाइरस संक्रमण देखिँदासम्मको सबै ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिसकेको जनाएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार सरकारले ट्रेसिङको काम गर्छ, जसले कोरोना संक्रमण फैलिनबाट रोक्छ । भारतबाट आएका कैलालीमा संक्रमण भेटिएका व्यक्तिबाट समेत अरुमा कोरोना नफैलिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

खतराको घण्टी !
आईतबार पर्साको वीरगञ्जमा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । १ जना उपचारपछि निको भइसकेका छन् । आईतबार कोरोना भेटिएका व्यक्ति धार्मिक र सामूहिक गतिविधिमा संलग्न रहेको पाइएकाले यसले नेपालमा खतराको घण्टी बजाएको छ । यसअघि संक्रमण भेटिएका व्यक्ति व्यक्तिगत र पारिवारिक गतिविधिमै सीमित थिए, जसले गर्दा संक्रमण फैलिन पाएको थिएन ।

मुस्लिम समुदायको मस्जिदमा रहेका व्यक्तिमा संक्रमण भेटिएपनि ती व्यक्तिमा कोरोना संक्रमण कहाँबाट भयो भनेर सरकारले यकिन गर्न सकेको छैन । भारतको नयाँदिल्ली र उत्तर प्रदेशका वासिन्दा रहेका संक्रमित व्यक्तिमा कहाँबाट कोरोना स¥यो ? कोरोना सरेपछि ती व्यक्ति कहाँ–कहाँ गए ? क–कससँग सम्पर्क भयो ? यी विषय सरकारले अनुसन्धान गरिरहेको छ तर एउटा स्पष्ट संकेत के मिलेको छ भने ती व्यक्ति धार्मिक गतिविधिमा सहभागी हुँदै वीरगञ्ज पुगेका थिए ।

विश्वभर कोरोना संक्रमण फैलिनै लाग्दा फागुन ३ गते सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलन भएको छ । त्यसपछि भारतको नयाँदिल्लीस्थित मस्जिदमा समेत मुस्लिम समुदायको भेला भएको छ । नेपालमा भएको सम्मेलनका अधिकांश सहभागी दिल्लीको भेलामा समेत सहभागी भएको अनुमान छ । नयाँदिल्लीको मुस्लिम भेलाका सहभागीमा समेत भारतमा कोरोना संक्रमण भेटिएको छ ।

नेपाल र भारतमा भएका छुट्टाछुट्टै धार्मिक सम्मेलनमा भीडभाड धेरै भएको, धार्मिक गतिविधि सामूहिक रुपमा हुने र धार्मिकस्थलबाट घर हुँदै समाजमा संक्रमण फैलिने खतरा देखिएको छ । नेपालका मस्जिदबाट संक्रमण कहाँसम्म फैलिएको छ भन्ने स्पष्ट चित्र भने देखिएको छैन । तर सरकारले व्यापक ट्रेसिङ गर्नुपर्ने भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार संक्रमण भेटिएका व्यक्ति गत पुस २ गतेदेखि नेपाली क्षेत्रमा छन् । अन्तर्राष्ट्रिय मुस्लिम सम्मेलनमा सहभागी हुन ती व्यक्ति सप्तरी आएका थिए । त्यसपछि सुनसरीको दुहवी र इनरुवा, सप्तरीको राजविराज पुगेका थिए । कोरोनाको त्रास फैलिएर लकडाउन घोषणा भएपछि ती व्यक्ति पर्साको सुगौली हुँदै वीरगञ्ज महानगरपालिका–२ स्थित मस्जिदमा आएका थिए । ती व्यक्तिको बसाइ र आवतजावत मस्जिद केन्द्रित हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । आवतजावतका लागि ती व्यक्तिले सार्वजनिक सवारीसाधन नै प्रयोग गरेका थिए ।

संक्रमित व्यक्ति भेटिएको वीरगञ्जको मस्जिदमा रहेका २६ जनालाई क्वारेन्टाइन र संक्रमित ३ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । सामूहिक रुपमा नमाज पढिने स्थलमा ओहोरदोहोर गर्ने व्यक्तिमा कोरोना पुष्टि भएपछि अब पूरै धार्मिक समुदायको जाँच गर्नुपर्ने अवस्था आउने देखिएको छ । मुस्लिम समुदायमा नमाज पढ्ने गतिविधिमा अनिवार्य उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था समेत हुन्छ । तसर्थ संक्रमित व्यक्तिको सम्पर्कमा धेरै व्यक्ति आएको हुनसक्ने सरकारी विश्लेषण छ ।

सीमामा सतर्कताको अनिवार्यता
छिमेकी देश भारतमा संक्रमितको संख्या हरेक दिन बढ्दै गइरहेको छ । भारतमा पर्याप्त कोरोना जाँच समेत नभएको आशंका गरिएका बेला त्यहाँबाट नेपाली क्षेत्रमा लुकीछिपी प्रवेश गर्ने काम भइरहेको छ । सरकारले सीमानाका आवतजावत निषेध र देशभित्र लकडाउन गरेको भएपनि लुकीछिपी नेपाल प्रवेश गर्ने गतिविधि रोकिएका छैनन्, जसले गर्दा कोरोना भाइरस संक्रमण फैलिने खतरा उत्तिकै छ ।

नेपाल–भारत खुला सीमाना भएका कारण सबै ठाउँमा नेपाली सुरक्षाकर्मी तैनाथ हुनसकेका छैनन् । जसले गर्दा लुकीछिपी नेपाल आउने चाहनेलाई सहज भएको छ । नेपाल प्रवेश गरेका व्यक्तिले कोरोना पनि सँगै लिएर आउने र अरुलाई समेत फैलाउने खतरा हुन्छ । सरकारले यी कुरालाई समयमै ख्याल गरेर सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement