एमालेका १९ पदाधिकारी, कसको अवस्था कस्तो ?


काठमाण्डु – आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि मुलुकका ठूला तथा साना राजनीतिक दलहरु चुनावी अभियानमा जुटेका छन् ।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गर्दा एक्लैले प्रत्यक्षमा ८० सिट जितेको एमाले अहिले भने शून्यमा झर्ने देखिन्छ । त्यसको कारण हो पाँच दलीय सत्ता गठबन्धनबीच तालमेल ।

सरकारमा सहभागी पाँच दलले आसन्न निर्वाचनमा तालमेल गरेर जाने सहमति गरिसकेका छन् । उनीहरु हाल सिट बाँडफाटको किचलोमा अड्किएका छन् । त्यो पनि आज साँझसम्म टुंगो लगाउने शीर्ष नेताबीच सहमति भएको छ ।

पाँच दलसँग अन्य साना दलहरु पनि तालमेल गरेर जाने तयारीमा छन् । यस्तो अवस्थामा अघिल्लो निर्वाचनमा विजयी भएका एमालेका सबै पदाधिकारी यो पटकको चुनावमा भने हार्ने संकेत देखिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेलको प्रयासलाई अगाडी बढाएका छन् ।उनले त्यसै क्रममा साउन २७ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेको स्रोत बताउँछ ।

राप्रपा पनि एमालेले १० सिट तालमेल गर्न तयार रहेको राप्रपाका एक नेताले बताए । राप्रपासँग मिल्दा झापा–५ मा ओली र काठमाण्डु–५ मा ईश्वर पोखरेलले जित्ने आंकलन एमालेको छ । अन्य ठाउँमा भने योपटक एमालेलाई जित्न मुस्किल हुने  देखिन्छ ।

केपी शर्मा ओली

झापा ५ मा ओली आफैँमा बलिया छन् । स्थानीय तह निर्वाचन-२०७९ को मत परिणामअनुसार झापा–५ मा अन्य सम्पूर्ण दलहरुको मत र एमाले एक्लैको मत हाराहारी छ । त्यहाँ एमालेको मत ४१ हजार ६ सय १९ र गठबन्धनको ३४ हजार ७ सय ९८ छ । तर दमकका मेयर राम थापाले गठबन्धनलाई सहयाेग गर्ने बचन दिइसकेका छन् ।

केन्द्रमा तालमेल भएपनि झापामा राप्रपासँग एमालेको तालमेलको सम्भावना नदेखिएको एक नेताले बताए । स्थानीय तहको निर्वाचनमा ओलीकै पालिकामा गठबन्धनले जितेको थियो । त्यसैले यो पटक भने गृहजिल्लामा ओली धरमराएका छन् ।

इश्वर पोखरेल

काठमाण्डु–५ मा स्थानीय तहमा एमालेको १९ हजार ७ सय ३ र गठबन्धनको मत १७ हजार ९ सय ६ छ । पोखरेलले वाम गठबन्धन भएका कारण मात्र २०७४ को निर्वाचन जितेका हुन् । यसअघिका निर्वाचनमा उनी हार्दै आएका थिए ।

सुरेन्द्र पाण्डे

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ मा एमाले धेरै पछाडि छ । गत स्थानीय तह निर्वाचनमा एमालेभन्दा पाँचदलीय गठबन्धन ६ हजार ६ सय ९० मतले अगाडि छ । चितवन–१ मा एमालेले ३९ हजार ६ सय ६ र गठबन्धनका उम्मेदवारले ४६ हजार २ सय ९६ मत ल्याएका थिए ।

विष्णु पौडेल

अर्का उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र रुपन्देही–२ मा पनि एमाले कमजोर देखिएको छ । त्यहाँ अघिल्लो निर्वाचन ०७४ मा माओवादीसँग तालमेल गरेर एमालेले जितेको थियो । गत बैशाखमा सम्पन्न स्थानीय तहको निवाचनमा रुपन्देही–२ मा एमालेको ३३ हजार १ सय ८७ र गठबन्धनको ३९ हजार ७ सय १२ मत छ ।

सुवास नेम्वाङ

सुवास नेम्वाङको निर्वाचन क्षेत्र इलाम–२ मा पनि एमाले कमजोर देखिएको छ । त्यहाँ पनि ०७४ मा एमालेले जितेको थियो । हालसम्म सबै निर्वाचन जितेका नेम्वाङ यसपटक भने पराजित हुने मानसिकतामा छन् ।

स्थानीय तह निर्वाचनको परिणामअनुसार नेम्वाङको क्षेत्रमा एमालेभन्दा गठबन्धन ३ हजार ९ सय ९९ मतले अगाडि छ । उक्त क्षेत्रमा एमालेको ३२ हजार ५ सय २७ मत छ भने गठबन्धन मत ३६ हजार ५ सय २६ छ ।

शंकर पोखरेल

एमालेका महासचिव शंकर पोखरेलले यसपटक प्रतिनिधि सभामा निर्वाचनमा लड्न चाहेका छन् । तर, उनको निर्वाचन क्षेत्र दाङ–२ मा स्थानीय तह निर्वाचनको परिणामले पोखरेललाई अप्ठ्यारो पर्ने देखाएको छ ।

उक्त क्षेत्रमा एमालेको ३३ हजार ५ सय ९४ मत छ भने गठबन्धनको ३६ हजार ७ सय २१ मत छ । त्यसकारण पोखरेल निर्वाचनको प्रचार गर्ने बाहना बनाएर समानुपातिकमा बस्न सक्ने एक नेताले दाबी गरे ।

पृथ्वीसुब्बा गुरुङ

एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पनि यो पटक आफ्नो निर्वाचन क्षेत्रमा कमजोर देखिएका छन् । गुरुङको निर्वाचन क्षेत्र लमजुङमा एमालेभन्दा गठबन्धन १ हजार ३ सय ९६ मतले अगाडि छ । उक्त क्षेत्रमा एमालेको ४० हजार १ सय ९७ र गठबन्धनको ४१ हजार ५ सय ९३ मत छ ।

प्रदीप ज्ञवाली

एमालेका अर्का उपमहासचिव प्रदीप ज्ञवाली पनि आफ्नो निर्वाचन क्षेत्रमा कमजोर देखिएका छन् । २०७४ मा ज्ञवालीले प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए ।

ज्ञवालीको क्षेत्र गुल्मी–१ मा कांग्रेस नेता चन्द्र चण्डारीले चुनाव जित्ने आकलन गरिएको छ । त्यहाँ एमालेको ३५ हजार ७ सय १ मत छ भने गठबन्धनको ३८ हजार ३ सय ६१ मत छ । यहाँ एमालेभन्दा गठबन्धन २ हजार ६ सय ६० मतले अगाडि छ ।

गोकर्ण विष्ट

यो पटक गुल्मी–२ मा गोकर्ण विष्टको विरासत भत्कने भएको छ । गत निर्वाचनमा विष्ट यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, स्थानीय तह निर्वाचनको परिणामअनुसार एमालेको ३१ हजार २ सय ५३ र गठबन्धनको मत ३२ हजार ३ सय २० छ ।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले विष्टसँग प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेकी छन् । उक्त स्थानमा पनि सत्ता गठबन्धन नै जित्नै आँकलन गरिएको छ ।

टोपबहादुर रायमाझी

गत निर्वाचनमा माओवादीबाट जितेका एमाले सचिव टोपबहादुर रायमाझीले यसपालि अर्घाखाँची गुमाउने सम्भावना देखिन्छ । अर्घाखाँचीमा एमालेभन्दा गठबन्धनको मत ५ हजार ५ सय १२ बढी छ । रायमाझीको क्षेत्रमा एमालेको ४८ हजार २ सय ६० र गठबन्धनको ५३ हजार ७ सय ७२ मत आएको छ ।

लेखराज भट्ट

०७४ मा माओवादीबाट निर्वाचन जितेका एमालेका अर्का सचिव लेखराज भट्टले पनि कैलाली–४ गुमाउने देखिन्छ । कैलाली ४ मा गठबन्धनको मत ३७ हजार २ सय १३ र एमालेको मत २० हजार ८१ छ । एमालेभन्दा गठबन्धन १७ हजार १ सय ३२ मतले अगाडि देखिएको छ ।

रघुवीर महासेठ

एमालेका अर्का सचिव रघुवीर महासठेले पनि यसपालि निर्वाचन हार्ने देखिन्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेसमा एमालेले दुई ठाउँमा जित्दा धनुषा–४ मा महासेठ विजयी भएका थिए ।

तर, गत स्थानीय तहको निर्वाचन परिणामअनुसार धनुषा–४ मा एमालेभन्दा गठबन्धन २२ हजार ५ सय ४१ मतले अगाडि छ । यो क्षेत्रमा एमालेले २३ हजार ६ सय ३० मत आउँदा गठबन्धनले ४६ हजार १ सय ७१ मत ल्याएको छ ।

योगेश भट्टराई

अघिल्लो निर्वाचन ०७४ मा ताप्लेजुङबाट विजयी भएका सांसद हुन एमालेका अर्का सचिव योगेश भट्टराई काठमाण्डुबाट पटक–पटक हारेपछि उनी निर्वाचन लड्न ताप्लेजुङ गएका थिए । अब भने ताप्लेजुङबाट पनि भट्टराईले हार्ने देखिएको छ । ताप्लेजुङमा एमालेकोे २४ हजार २ सय ८६ मत आएको छ भने गठबन्धनको २५ हजार १२ मत छ ।

पदमा अर्याल

एमालेकी महिला सचिव पदमा अर्यालले पनि यसपालि स्याङ्जा–२ गुमाउने देखिएको छ । अघिल्लो निर्वाचनमा माओवादीको सहयोगमा अर्यालले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।

गत स्थानीय तह निर्वाचनमा अर्यालको क्षेत्रमा एमालेको मत ३४ हजार ८ सय ९ छ भने गठबन्धनले ३८ हजार २ सय ८२ मत पाएको छ ।

छविलाल विश्वकर्मा

अर्का सचिव छविलाल विश्वकर्माले अघिल्लो निर्वाचन रुपन्देही–१ बाट जितेका थिए । विश्वकर्माको क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा एमालेको मत गठबन्धनभन्दा १४ हजार ७ सय ४५ ले कम छ । उक्त क्षेत्रमा एमालेको ३० हजार ३ सय ९४ र गठबन्धनको मत ४५ हजार १ सय ३९ मत छ ।

विष्णु रिमाल

नेकपा एमालेका अर्का उपमहासचिव विष्णु रिमाल हालसम्म चुनावी मैदानमा उत्रिएका छैनन् । तर एमालेका पदाधिकारी भएका हिसावले हेदा रिमालको निर्वाचन क्षेत्र नुवाकोट–२ मा एमाले गठबन्धनभन्दा २०,५१२ मतले पछाडि छ । यो निर्वाचन क्षेत्रमा गठबन्धनको ४६,८८९ मत आउँदा एमालेको मत २६,३७७ छ ।

उपाध्यक्ष रामबहादुर थापा बादल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले गठबन्धनसँग हार्ने सम्भावना देखेपछि निर्वाचन नलड्ने भन्दै समानुपातिकमा बस्ने रुची देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement