देउवा–सिटौलाको प्रारम्भिक पदाधिकारी तय, सिटौलालाई कार्यवाहक सभापति बनाउने देउवाको प्रस्ताव


काठमाण्डु – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । नेताहरु आ–आफ्नो टिम निर्माण र पदाधिकारी छनोटमा ब्यस्त छन् । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा आफैं सभापति पदको लागि चुनावी मैदानमा छन् । नेताहरु मिलाउन र टिम फाईनल गर्न यतिबेला सभापति देउवालाई भ्याई नभ्याई छ ।

आफैं सभापतिको उम्मेदवार भएपछि पदाधिकारीमा आफुलाई निरन्तर सहयोग र साथ दिईरहेका निकट नेताहरूलाई पदाधिकारीमा समायोजन गर्नु देउवाका लागि चुनौतीपुर्ण देखिन्छ । उता जिल्लादेखि सहयोग गर्दै आएको कृष्ण प्रसाद सिटौला पक्षलाई समेत समायोजन गर्नै पर्ने चुनौती छ देउवाका लागि छ ।

सहमहामन्त्रीसमेत रहेका प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू एनपी साउद र रमेश लेखकले महामन्त्री ताकिरहेको संस्थापनका नेताहरू बताउँछन् । देउवाका मुख्य सारथि पनि उनीहरू हुन् । तर देउवाले मुख नखोल्दा उनीहरू कसैले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन् । देउवा आफ्नो समूहका आकांक्षीलाई व्यवस्थापन गर्नेभन्दा पनि आफ्नो जोखिमलाई न्यून गर्ने रणनीतिमा अघि बढेका छन् ।

उमेर समुहको हिसाबले युवा पुस्ताको प्रतिनिधित्व धेरै भएपछि प्रभावशाली र मत धेरै ल्याउने नेतालाई पदाधिकारी तय गर्ने र तेस्रो खेमा निर्माण गरेको कृष्णप्रसाद सिटौला पक्ष मिलाउने तिर देउवाको नजर छ ।

उता सरकारमा उपप्रधानमन्त्री बनाउनेदेखि कार्यवाहक सभापतिसम्मको प्रस्ताव देउवाले राखेको सिटौला निकट स्रोतले बतायो । पूर्वमहामन्त्री सिटौलालाई आफ्नो टिमबाट उपसभापति बनाउने कसरतमा छन् ।

‘सभापतिजीले उपसभापति बनाउँछु भन्दै आउनुभएको छ, तर सिटौलाजीले हुन्छ र हुन्न केही भन्नुभएको छैन । प्रदेश अधिवेशनपछि मात्रै निर्णय लिन्छु भन्नुभएको थियो । तर, आधिकारिक धारणा भने आईसकेको छैन,’ स्रोतले भन्यो ।

१३ औं महाधिवेशनमा सिटौलाकै साथले देउवा सभापति निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा राप्रपासँग गठबन्धन गर्न देउवाले सिटौलालाई प्रत्यक्षतर्फ ‘टिकट’ नदिई समानुपातिकमा राखेका थिए । सिटौलाको क्षेत्रमा राप्रपा नेता राजेन्द्र लिङ्देनलाई सघाउने निर्णय देउवाले गरेका थिए । आफूलाई नसोधीकनै समानुपातिक सूचीमा राखिएको भन्दै विद्रोह गरेपछि सिटौला प्रत्यक्षमा चुनाव लड्न गए ।

झापामा रातारात राप्रपा नेता लिङ्देनले एमालेसँग गठबन्धन गरे । अन्ततः सिटौला हारे र लिङ्देनले जिते । त्यस बेलादेखि नै सिटौला देउवासँग असन्तुष्ट थिए । देउवाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएर विरोधी कित्तामा पुगेका सिटौला पछिल्लो समय देउवाप्रति नरम छन् । झापासहित केही जिल्लाका अधिवेशनमा देउवा र सिटौलाबीच गठबन्धन पनि बनेको छ ।

सिटौलाले उपसभापतिमा प्रतिस्पर्धा गर्ने निर्णय गरे देउवालाई अहिले आकांक्षी रहेका उपसभापति गच्छदार र महामन्त्री खड्कामध्ये कसलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती थपिछ। ललिता निवास प्रकरणसम्बन्धी भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै अवस्थामा देउवाले गच्छदारलाई बाहिर राखेर खड्का र सिटौलालाई उपसभापतिमा अघि बढाउन सक्ने देउवानिकट नेताहरू बताउँछन् ।

भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा छ । मुद्दाबाट सफाइ नपाए उनले आगामी निर्वाचनमा उम्मेदवार बन्न पनि पाउँदैनन् । पार्टीमा भने छुट छ । देउवाले महामन्त्रीमा महत, खाँण र कार्कीमध्येबाट दुई जनालाई अघि सार्ने योजना बनाएका छन् ।

सिटौला लाई समेटेर लैजादा यस्तो बन्न सक्छ देउवा नेतृत्वको पदाधिकारी:

सभापतिः शेर बहादुर देउवा
उपसभापतिः पुर्ण बहादुर खड्का
उपसभापतिः प्रकाशशरण महत
महामन्त्रीः बाल कृष्ण खाँड
महामन्त्रीः विश्व प्रकाश शर्मा
सहमहामन्त्रीः प्रदिप पौडेल
सहमहामन्त्रीः बहादुर सिंह लामा
सहमहामन्त्रीः मीन बिश्वकर्मा
सहमहामन्त्रीः माहालक्ष्मी उपाध्यक्ष
सहमहामन्त्रीः फरमुल्लाह मन्सुर
सहमहामन्त्रीः रामजनम चौधरी
सहमहामन्त्रीः जितेन्द्र देब
सहमहामन्त्रीः जीवन बहादुर शाही ।

नयाँ सरकार गठन भएपछि उक्त सरकारको जिम्मेवार मन्त्रालय सहित उपप्रधानमन्त्री दिने कुरामा सहमति भए,पदाधिकारीमा प्रदीप पौडेल सहमहामन्त्रीमा ब्याक हुन सक्छन् । उता सह महामन्त्री (आदिवासी जनजाति तर्फ)भने भिस्मराज आन्देवेलाई ब्याक गराएर केन्द्रिय सदस्य समेत रहेका बहादुर सिंह लामा टिममा परेका छन् ।

उनी देउवाको बिश्वास पात्र नेता हुन् । नुवाकोट जिल्लामा लामो समय देखि, पार्टी चलाईरहेका अर्जुन नरसिंह के. सि निकट टिमलाई हराएर सिङ्गो जिल्ला आफ्नो पक्षमा ल्याउने देखि वाग्मती प्रदेश अधिबेशनमा ईन्द्र बहादुर बानियाँलाई जिताउन उनको ठुलो हात छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement