१० जनाको हत्याको मुद्दामा ४२ वर्षपछि फैसला, ९० वर्षे वृद्ध दोषी ठहर


उत्तर प्रदेश – गत साता ४२ वर्षअघि भएको जातीय विभेदसँग सम्बन्धित एउटा आपराधिक घटनामा मा १० जनाको हत्या गरेको अभियोगमा एक ९० वर्षीय भारतीय वृद्धलाई आजीवन कारावासको सजाय सुनाइयो ।

पीडित परिवारले अदालतको उक्त फैसला आउन निकै ढिला भएको र त्यसले उनीहरूका लागि कुनै अर्थ नराख्ने बताएका छन्। कानुनविद्हरूले यो फैसलाले ‘न्याय ढिला दिइनु न्याय नदिनु सरह हो’ भन्ने उक्ति पुष्टि गरेको बताएका छन्।

सन् १९८१ डिसेम्बर ३० को साँझ उत्तर प्रदेश राज्यको साधुपुर गाउँमा भएको एक घटना त्यहाँका पाका बासिन्दाहरूको स्मरणमा ताजै छ। ‘साँझ साढे ६ बजेआसपास केही केटाहरू मेरो घरको परिसरमा पसे र गोली चलाउन थाले,’ प्रेमवती सम्झिन्छिन्। उनलाई आफ्नो उमेर कति हो भन्ने पक्का थाहा छैन तर उनी आफूलाई झन्डै ७५ वर्षकी ठान्छिन्।

‘उनीहरूले मलाई केही पनि सोधेनन्, सोझै हामीमाथि गोली प्रहार गर्न थाले,’ उनी भन्छिन्। उनका अनुसार गोली लागेको केही मिनेटभित्रै उनका १० वर्षीय छोरा साथै ८ र १४ वर्षका दुई छोरीहरूले आँखैअगाडि प्राण त्यागेका थिए।

अदालतको आदेशपछि गाउँमा पुगेका केही फोटोग्राफर र क्यामराम्यानहरूलाई प्रेमवतीले आफ्नो गोली लागेको दाहिने खुट्टा देखाइन्। यसको घाउ त निको भयो तर दाग बाँकी नै छ। त्यो साँझ मारिएका (पहिले अछुत मानिने) दलित समुदायका १० सदस्य मध्ये उनका छोराछोरीहरू पनि थिए। प्रेमवतीसँगै अर्की एक महिला पनि घाइते भएकी थिइन्।

गत बुधवार फिरोजाबाद सहरस्थित जिल्ला अदालतका न्यायाधीश हरवीर सिंहले यादव समुदायका एक मात्र जीवित अभियुक्त गङ्गा दयाललाई जन्मकैदको सजाय घोषणा गरे । दयाललाई ५५,००० भारतीय रुपैयाँ जरिबाना तिर्ने आदेश पनि दिइएको छ। उक्त रकम तिर्न असफल भएको खण्डमा उनले थप १३ महिना जेलमा बिताउनुपर्ने बताइएको छ।

फैसलामा १० जना अभियुक्तमध्ये नौ जनाको सुनुवाइ प्रक्रियाकै क्रममा मृत्यु भएको उल्लेख गरिएको छ। अदालतमा सरकारको पक्षबाट बहस गरेका राजीव उपाध्यायले बताएअनुसार अभियोजनको पक्ष र विपक्षका धेरै साक्षीहरूको पनि मृत्यु भइसकेको छ।

अपराध र फैसलाबीच चार दशकभन्दा बढी समय बितेपछि मुद्दाको स्वरूप अस्पष्ट बन्दै गएको थियो। प्रेमवती र अन्य दलित गाउँलेहरू आफ्नो परिवारको कसैसँग शत्रुता नभएको दाबी गर्छन्। तर उपाध्यायले दलितहरूले यादव समुदायका एक व्यक्तिको राशन पसलबारे केही गुनासो गरेपछि दुई समुदायबीचको सम्बन्ध चिसिएको बताए।

त्यसका कारण त्यहाँ हिंसाको घटना भएको ठानिन्छ। गाउँलेहरूका अनुसार उक्त अपराधको घटना समाचारमा आएलगत्तै तात्कालिक प्रधानमन्त्री इन्दिरा गान्धी र राज्यका मुख्यमन्त्री विश्वनाथ प्रताप सिंह त्यहाँ पुगेका थिए। उनीहरूलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यति बेलाका प्रतिपक्षी नेता रही पछि भारतको प्रधानमन्त्री समेत भएका भारतीय जनता पार्टीका वरिष्ठ नेता अटल बिहारी वाजपेयी पनि उक्त हत्याको विरोधमा आयोजित र्‍यालीमा सहभागी भएका थिए।

‘उनले ज्यान गुमाएका हाम्रा आफन्तलाई जीवित पार्न नसके पनि न्याय दिलाउन सहयोग गर्ने वाचा गरेका थिए,’ प्रेमवतीले भनिन्। उनले अदालतको फैसलाबारे केही पत्रकारहरू प्रतिक्रिया माग्न आएपछि मात्र गाउँलेहरू दोषी ठहर भएको थाहा पाएको बताइन्। ‘यो न्याय हो कि होइन भनेर ईश्वरलाई मात्र थाहा छ,’ उनले पत्रकारहरूसँग भनिन्।

प्रतिक्रिया दिनुहोस
Advertisement