बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन


एजेन्सी – लामो विवादपछि बेलायतमा आउँदो १२ डिसेम्बरमा आम निर्वाचन हुने निश्चित भएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावमा संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’ले निर्वाचन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

तल्लो सदनले यो प्रस्ताव बहुमतले पारित गरेपछि अब आउँदो डिसेम्बर महिनाको १२ तारिखमा आम निर्वाचन हुने पक्का भएको हो । डिसेम्बर १२ मा आम निर्वाचन गराउने प्रधानमन्त्रीको प्रस्तावमा संसदमा मतदान भएको थियो ।

निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ र विपक्षमा जम्मा २० सांसदले मत दिएका थिए । संसदको बहुमतबाट प्रधानमन्त्री बनेका जोनसनको चुनाव गराउने प्रस्ताव यसपटक भने सफल भएको हो ।

यसअघि प्रधानमन्त्री कोर्बिनले तीन पटकसम्म ल्याएको निर्वाचन प्रस्ताव संसदले अस्वीकृत गरिदिएको थियो । तल्लो सदनबाट पास भएको निर्वाचनसम्बन्धी विधेयक अब माथिल्लो सदन हाउस अफ लर्ड्सले पारित गरेपछि कानुन बन्नेछ ।

यसरी पारित भएको कानुनअनुसार निर्वाचन हुनेछ । डिसेम्बर १२ मा हुने मतदानको नतिजा भोलिपल्टै अर्थात् डिसेम्बर १३ मा आउनेछ ।

बेलायतमा पाँच वर्षमा दोस्रो पटक निर्वाचन हुन लागेको हो । सन् १९२३ पछि बेलायतमा डिसेम्बर महिनामा गर्न लागिएको यो पहिलो निर्वाचन हो ।

बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले डिसेम्बर ९ मा चुनाव गराउन चाहेको थियो । उक्त समयमा विश्वविद्यालयका विद्यार्थीहरुलाई पनि मतदान गर्न सहभागी हुन सक्ने उनीहरुको तर्क थियो । त्यतिन्जेलसम्म शैक्षिक सत्र चलिरहेको हुने भएकाले उनीहरुको यस्तो माग थियो ।

यद्यपि लेबर पार्टीका नेता जेरमी कोर्बिनले यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमनका लागि थप तीन महिनाको मिति बढाउन इयू सहमत भएको अवस्थामा आफ्नो दल निर्वाचनमा जान तयार भएको बताएका थिए ।

डिसेम्बर महिनामा बेलायतमा अत्यधिक जाडो हुन्छ । जाडोयाममा बेलायतमा दिन एकदम छोटो हुने भएकाले यसलाई चुनौतीको रुपमा लिइएको छ ।

मध्याह्नपछि नै अँध्यारो सुरु हुने भएकाले सरकारलाई निर्वाचन सम्पन्न गराउने र मतदाता गर्न आउने मानिसहरुलाई चुनौती छ ।

९६ वर्षपछि डिसेम्बर महिनामा गर्न लागिएको हो । चुनाव जाडोको कारण चुनौतिपूर्ण हुने कतिपयले अनुमान गरेका छन् ।

३१ जनवरीसम्मको समयसीमा

युरोपेली संघले बेलायत इयूबाट अलग हुनका लागि अर्को वर्ष ३१ ज्नबरीसम्मको समय दिएको छ । ब्रेग्जिटको यो समयावधिअघि नै नयाँ सरकार निर्माण हुने गरी आम निर्वाचन गर्न हुन लागेको हो ।

‘बेलायती संसदले ३१ जनवरीभन्दा पहिले सम्झौताको अनुमति दिएमा ईयूसँग अलग हुनेछ,’ इयुले भनेको छ । बेलायतमा ब्रेग्जिटको सर्मथन र विरोध दुवै पक्ष उतिकै सक्रिय छ ।

२०१६ मा बेलायतमा भएको एक जनमत संग्रहमा ५२ प्रतिशत मानिसले ब्रेग्जिटको सर्मथन गरेका थिए भने ४८ प्रतिशतले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement