यी हुन् प्रहरीमा उच्च छवि बनाएका तर राजनीतिमा गुमनाम बनेका पूर्वप्रहरी अधिकारी


काठमाण्डु – नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी अधिकारीहरु धेरैले राजनीति रोजे । प्रजातन्त्र स्थापनापछिका तीन दशकमा प्रहरीबाट अवकाशप्राप्त उच्च अधिकारीहरूको राजनीतिमा आवागमन सघन देखिन्छ । तर, सफलता भने थोरैले मात्र पाएका छन् ।

राजनीतिमा लागेका केहि अधिकारीले सामान्य राजनीति छवि बनाए त धेरै गुमनाम भए । प्रहरी संगठनमा अब्बल मानिने नवराज सिलवालदेखि रमेश खरेलसम्म राजनीतिमा सक्रिय छन् । तर, उनीहरुले राजनीतिमा बलियो संगठन भने बनाउँन सकेका छैनन् ।

१० फागुन ०७८ मा एसएसपी गोविन्दबहादुर साहले राजनीतिमा सक्रिय हुने योजनासहित संगठनबाट राजीनामा दिए । उनले गत वैशाखको स्थानीय तहको निर्वाचनमा धनुषाको विदेह नगरपालिकामा नेपाली कांग्रेसबाट चुनाव लड्ने योजनासहित राजीनामा दिएका थिए । तर, कांग्रेसले मेयरको टिकट नदिएपछि उनी हिस्स बने । त्यसयता उनी अहिले राजनीतिमा त्यति उत्साहित देखिँदैनन् ।

हाल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा धेरै पूर्वप्रहरीहरूको राजनीतिक सक्रियता बढेको छ । पाँच वर्षअघि आइजीपी बन्न नसकेपछि डीआइजी पदबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका नवराज सिलवाल तीन महिनामै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

ललितपुर क्षेत्र नं. १ बाट विजयी भएका उनी यो वर्ष पनि त्यहीबाट चुनाव लड्ने तयारीमा छन् । नेपाल प्रहरीमा ‘हिरो’को उपनाम पाएका रमेश खरेल पनि राजनीतिमा होमिएका छन् । नेपाल सुशासन पार्टी खोलेर त्यसको अध्यक्ष भएका उनी काठमाण्डुको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रीदैछन् ।

प्रहरीमा रहँदा सुशासनमा कटिबद्ध भएकै कारण चर्चित बनेका उनी अवकाशपछि पनि सुशासनकै नारा लिएर राजनीतिमा होमिएका छन् । तर, बलियो संगठन भने बनाउन सकेका छैनन् । पूर्व आइजीपीहरु धुव्रबहादुर प्रधान, प्रदीपशमशेर जबरा, रविन्द्रप्रताप शाह, मोतिलाल बोहरा अवकाशपछि राजनीतिमा लागेका थिए ।

अदालतको आदेशमा आइजीपीबाट हटेपछि धुव्रबहादुर प्रधान राजनीतिमा होमिएका थिए । २०५६ सालको आम निर्वाचनमा प्रधानले नवलपरासी क्षेत्र नं. ४ बाट चुनाव लडेका थिए । तर, उनी कांग्रेसका देवेन्द्र कँडेलसँग पराजित भएका थिए । २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पनि त्यहीबाट चुनाव लडेका उनले जित हात पार्न सकेनन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी राप्रपा प्रजातान्त्रिकको समानुपातिकतर्फ १ नम्बरमा थिए । तर, त्यो समय पनि उनको माननीय बन्ने सपना अधुरै रह्यो । हाल राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा उनी उपाध्यक्ष छन् । यसपटक राप्रपाको पक्षमा जनमत भएकाले सांसद बन्न सकिने उनको सपना छ ।

त्यस्तै ०५३ माघमा आइजीपीबाट अवकाश पाएको केही समयपछि मोतीलाल बोहरा नेपाली कांग्रेसमा प्रवेश गरे । बोहरा प्रहरी नेतृत्वमै भएको बेला संगठनलाई भ्रष्टाचारको अखडा बनाएको भन्दै अख्तियारमा उजुरी परेको थिए । आफूमाथि लागेका आरोपबाट उन्मुक्ति पाउनकै लागि उनले कांग्रेसको छहारी खोजेका थिए । पार्टी प्रवेश गरे पनि उनले त्यहाँ भूमिका पाउन सकेनन् र विस्तारै राजनीतिबाट पाखा लागे ।

नेपाल प्रहरीका पूर्वआइजीपी रविन्द्रप्रताप शाह पनि २०७० को संविधानसभा निर्वाचनबाट सभासद बने । कांग्रेस निकट पृष्ठभूमि भएका उनी माओवादीबाट समानुपातिक सांसद बनेपछि धेरै चकित भएका थिए । तर, सभासद् पदबाट अवकाशपछि उनी राजनीतिमा सक्रिय छैनन् । राजनीतिमा लागेका अर्का पूर्व आइजीपी हुन्, प्रदिपशमशेर जबरा ।

उनी २०७० को निर्वाचनमा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा आबद्ध भएका थिए । तर, उनले चुनावमा बाराबाट अपेक्षित भोट ल्याउन सकेनन् । पञ्चायतकालमा नेपाल प्रहरीका दुई आइजीपी खड्गजित बराल र डीबी लामा अवकाशपछि राजनीतिमा लागेका थिए । बराल राष्ट्रिय पञ्चायतको सदस्य बनेका थिए । लामाले भने चुनाव नै लडेका थिए ।

२०७३ सालमा अवकाशप्राप्त प्रहरी कर्मचारीहरू मिलेर नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नै गठन गरेका थिए । तर, सो पार्टी एक वर्ष पनि टिकेन । पार्टी सञ्चालन निकै गाह्रो काम लागेपछि उनीहरूले २०७४ को मंसिरमा पार्टीलाई एमालेमा समाहित गरे ।

उक्त पार्टीमा रहेका पूर्वएआइजी विनोद सिंह, पूर्वएआइजी रुपसागर मोक्तान, पूर्वएसएसपी केदार कोइराला, पूर्वएसएसपी वसन्त कुँवर, सशस्त्र प्रहरीका पूर्वएआइजी जीवन थापा, राष्ट्रिय अनुसन्धान विभागबाट डीआइजी पदबाट अवकाश पाएका नवराज थापालगायत एमालेमा आवद्ध भएका थिए । तर, उचित जिम्मेवारी नदिएको भन्दै उनीहरू हाल सक्रिय छैनन् ।

प्रहरी संगठनमा रहँदा गरेका अनियमितता छोप्न धेरैले राजनीति पार्टीको छहारी खोज्ने गरेका छन् । अवकाश पाएपछि एकैपटक आफ्नो पहुँच गुम्ने भएकाले शक्तिमै रहन केही अधिकारीहरु राजनीतिक दलमा लाग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement