भारतमा जी–२० को परिदृश्य : अमेरिकी आउने, चिनियाँ र रुसी राष्ट्रपति नआउने


काठमाण्डु – भारतले जी–२० सम्मेलनको तयारी धुमधामका साथ गरिरहेको छ । सम्मेलनलाई भारतले अन्तर्राष्ट्रिय समुदायमा प्रभाव विस्तार गर्ने मौकाका रूपमा लिएको छ ।

सम्मेलन ९ र १० सेप्टेम्बरमा राजधानी नयाँदिल्लीमा आयोजना हुँदैछ । जी–२० को मुख्य उद्देश्य विश्व अर्थतन्त्र, वित्तीय संरचना र सामाजिक प्रगतिका क्षेत्रमा सहकार्य गरी समस्याको समाधान खोज्नु रहेको छ ।

संगठनमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साऊदी अरब, साउथ कोरिया, टर्की, बेलायत, अमेरिका, युरोपियन युनियन र साउथ अफ्रिका सदस्य रहेका छन् । संगठनभित्र अमेरिका, चीन र रुसलाई प्रभावशाली सदस्य राष्ट्रका रूपमा लिइन्छ ।

भारतमा सम्मेलन आयोजना भइराख्दा चिनियाँ राष्ट्रपति सी चिनफिङ सम्मेलनमा सहभागी नहुने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सम्मेलनमा चीनबाट प्रधानमन्त्री ली खछ्याङ सहभागी हुनेछन् ।

भारत नआउने भए पनि राष्ट्रपति सी यसअघि इन्डोनेसियामा भएको सम्मेलनमा सहभागी थिए । भारत र चीनबीच यतिबेला सीमा विवाद चर्किएको छ । भारतले हालै नयाँ नक्सा जारी गर्दै भारतीय भूभाग आफ्नो क्षेत्रमा पारेपछि विवाद झन् बढेको छ । यस्तै बेला राष्ट्रपति सीले भारत नआउने निधो गरेका हुन् ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिन पनि सम्मेलनमा हुने छैनन् । पुटिनले युक्रेनसँगको युद्धमा ‘विशेष सैन्य अभियान’ चलाइरहेकाले सम्मेलनमा सहभागी नहुने निर्णय भएको प्रेस सचिव दिमित्री पेस्कोवले जनाएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा चीन र रुसलाई एकै कित्तामा राखेर हेर्ने गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन भने सम्मेलनमा सहभागी हुन आउने भएका छन् । अमेरिका र भारतलाई एकै कित्तामा राख्ने गरिएको छ । विश्व मञ्चमा अमेरिका र चीनका छुट्टाछुट्टै ध्रुव देखिने गरेका छन् ।

विभिन्न देशका शीर्ष नेताहरू सम्मेलनमा आउने भएपछि भारतले सुरक्षा बन्दोबस्त चुस्तदुरुस्त पारेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement