नयाँ नक्सामा कालापानी भारतभित्र, नेपालको एक्सन के हुन्छ ?


काठमाडौँ—नेपाली भूमि कालापानीलाई भारतले नयाँ नक्सामा आफ्नो मुलुकभित्र समावेश गरेपछि तरंग फैलिएको छ ।

यसअघि यही कालापानीलाई चीन–भारतले लेनदेनको विषय बनाएपछि काठमाडौँ रुष्ट रहेको अवस्थामा भारतले नक्सामा नै आफ्नो मुलुकमा राखेको हो।

भारतीय गृह मन्त्रालयले गत आइतबार सार्वजनिक गरेको भारतको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो देशभित्र राखेको हो।

यद्यपि नापी विभाग यो विषय परराष्ट्र मन्त्रालयको रहेको भन्दै पन्छिएको छ, भने परराष्ट्र मन्त्रालयका अधिकारीहरु थप बुझेर प्रतिक्रिया दिइने बताइरहेका छन्।

परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले भने, ‘प्रतिक्रिया जनाउने अवस्थामा पुगिसकेका छैनौं यसबारे हामीहरू र नापी विभागसँग थप बुझेर पहिले स्पष्ट हुन्छौं।’ सीमाका बिषयमा दुई देशबीच विवादित बनेका कालापानी सुस्ताको विषय हेर्न परराष्ट्रसचिव स्तरीय संयन्त्र छ।

केही महिनाअघि भने नापी विभागले देशकै निशान छाप र कतिपय सरकारी निकायले कालापानी क्षेत्रको आफ्नो भू–भाग नदेखिएको नक्सा प्रयोग गरेको भन्दै सच्याउन पत्राचार गरेको थियो।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिका पूर्वसभापति पद्मलाल विश्वकर्मा नेपालका भूभाग समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि सरकारले त्यसलाई सच्याउन तुरुन्तै कदम चाल्नुपर्ने बताउँछन्।

जानकारहरुका भनाइमा पहिले लिपुलेकबाट आउने काली नदीलाई अन्तराष्ट्रिय सीमा मानिएको थियो । तर हाल भारतले नक्कली काली नदी बनाएको छ।

कालापानी क्षेत्रमा रहेको नेपालको सीमा विवाद नौलो होइन। नेपाल र भारत सो सीमाका बारेमा एकमत छैनन्।

नेपाल–तिब्बतबीचको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको लिपुलेकको चर्चा २०७२ जेठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ समकक्षी सी जिनपिङ्सँग बेइजिङ्मा एक समझदारी हुँदा पुनः सुरू भएको थियो।

नेपालसँगको सहमति बिनै गरिएको उक्त सम्झौताको एउटा बुँदामा भनिएको थियो, ’…दुवै पक्ष व्यापार वस्तुको सूची बढाउन वार्ता गर्न र नाथुला, च्याङ्लारलिपुलेक नाका र सिप्किलामा सीमा व्यापार बढाउन पनि राजी भए।’

५ हजार ५ सय ३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दुका रुपमा रहेको बताइन्छ, जुन लिपुलेकभन्दा अझै पश्चिम–उत्तरमा पर्छ।

सुगौली सन्धिपछि भएका ब्रिटिश इन्डिया सरकारका नक्साङ्कनहरूमा उक्त कुरा उल्लेख रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement