ललितपुर महानगरपालिका : विगतको नतिजा र भावी परिणामको लेखाजोखा


काठमाण्डु – ललितपुर महानगरपालिका गत स्थानीय चुनावमा कांग्रेसले जितेको स्थानीय तह हो । राजधानी उपत्यकामा रहेको यो महानगरपालिकामा आगामी चुनावको सरगर्मी पनि बढेको छ । ललितपुरमा विगतको नतिजासँगै भावी परिणाम कस्तो हुन सक्ला ? अहिले चर्चा भइरहेको छ ।

अघिल्लो चुनावको नतिजा

गत स्थानीय चुनावमा ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन तीन सय २६ मतको झिनो मतान्तरले विजयी भए । महर्जनले २४ हजार ६ सय ४२ मत ल्याए भने राप्रपासँगको तालमेलमा उम्मेदवार बनेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार तीन सय १६ मत पाए । कांग्रेस भने एक्लै लडेको थियो ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिएका साझा पार्टीका रमेश महर्जनले सम्मानजनक मत ल्याए । उनले माओवादी केन्द्रका उम्मेदवारलाई समेत पछि पार्दै तेस्रो स्थान हासिल गरे । व्यवसायी रमेशले १३ हजार चार सय ५८ मत ल्याउँदा माओवादीका उम्मेदवार दिनेश महर्जनले १० हजार ६ सय ६१ मत पाए ।

महानगरको उपप्रमुखमा पनि कांग्रेसकै गीता सत्याल १९ हजार आठ सय १९ मत प्राप्त गरी विजयी भइन् । उपमेयरमा साझा पार्टीकी शोभा शाक्य १४ हजार दुई सय ४० मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बनिन् । कडा प्रतिस्पर्धाबीच कांग्रेसले मेयर र उपमेयरमा बाजी मारे पनि साझा पार्टीले पाएको मत चर्चाको विषय बन्यो । ललितपुरमा एमालेसँग तालमेल गरेर उपमेयर पाएको राप्रपाका बाबुकाजी प्रधानले १० हजार पाँच सय ४० मत ल्याए । माओवादीका उम्मेदवार हसिना शाक्यले १२ हजार नौ सय ७९ मत ल्याइन् ।

मेयर र उपमेयर गुमाए पनि वडामा भने एमालेले बढी स्थान जित्यो । २९ वडामध्ये एमालेले १४ वटामा अध्यक्ष जित्यो । कांग्रेसले १० र माओवादी केन्द्रले चार वडाध्यक्ष जित्दा एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए ।

सम्भावित परिणाम र त्यसका आधार

गत निर्वाचनमा धेरै स्थानीय तहमा कांग्रेस र माओवादीबीच समीकरण बनेको थियो । तर, ललितपुरमा भने एक्लै लडेर पनि कांग्रेस विजयी भयो । अहिले संसद्को सबैभन्दा ठूलो दल एमाले विभाजित भएको छ । ललितपुरमा राम्रै मत ल्याएको साझा पार्टीको अवस्था पनि अहिले नाजुक देखिन्छ । राप्रपा पनि फुटेर कमल थापाको नेतृत्वमा राप्रपा नेपाल बनेको छ । त्यसैले आगामी चुनावमा परिणामका लागि पार्टीहरूमा भएको विभाजन मुख्य कारक हुन सक्छ । संघमा अहिले गठबन्धनको सरकार छ । स्थानीय तह निर्वाचनमा पनि सत्तासाझेदार दलबीच तालमेल भए एमालेलाई समस्या हुनेछ ।

विगतको मतपरिणामका आधारमा कांग्रेस र माओवादी मिल्दा अत्यधिक मत हुन्छ । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी बनेको छ । यो पार्टीले पनि एमालेका मत काट्ने निश्चित छ । त्यसैले ललितपुर महानगरमा एमालेलाई सहज छैन । त्यसैले उसले राप्रपासँग तालमेलको प्रयास गरिरहेको छ । यसबाहेक पछिल्लोपटक बढेका मतदाता पनि आगामी चुनावमा निर्णायक हुन सक्छन् । तर, कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीबीच तालमेल भयो भने ललितपुरमा अन्य दलको गठबन्धन प्रतिस्पर्धाबाटै बाहिरिन सक्छन् ।

गत चुनावमा एमालेसँग तालमेल गरेको राप्रपा पनि विभाजित हुनु कांग्रेसका लागि सुखद समाचार हो । विवेकशील साझाले आगामी चुनावमा कस्तो प्रदर्शन गर्छ भन्नेले पनि परिणाममा प्रभाव पार्न सक्छ । ललितपुरमा जातिगत अवस्थाले पनि परिणाम तलमाथि हुन सक्छ । नेवार समुदाय र त्यसमा पनि महर्जनको संख्या महानगरमा बढी छ । त्यसैले ललितपुरमा महर्जनबाहेकलाई चुनाव जित्न कठिन हुन्छ भन्ने गरिएको छ ।

सम्भावित उम्मेदवार

कांग्रेसबाट महानगरको मेयरमा करिब आधा दर्जन आकांक्षी देखिएका छन् । हालका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, शुभानन ध्वाख्वा, भरतलाल न्याछ्यों, प्रेमकृष्ण महर्जनलगायतले मेयरमा आकांक्षा राखेका छन् ।

एमालेबाट हरिकृष्ण व्यञ्जनकार, आस्था शाक्य मञ्जली, ज्ञानेन्द्र शाक्य र बाबुकाजी प्रधान मेयरको उम्मेदवारका आकांक्षी छन् । माओवादी केन्द्रबाट दिनेश महर्जन र सरोज डंगोलले मेयरको दाबेदार रहेको बताएका छन् । विवेकशील साझा पार्टीमा उम्मेदवारीको खासै चर्चा छैन ।

मतदाताको संख्या

ललितपुर महानगरमा ०७४ को चुनावमा एक लाख १२ हजार नौ सय २२ मतदाता थिए । अहिले करिब १० हजार मतदाता बढेका छन् । बढेकासहित कुल मतदाताको संख्या एक लाख २२ हजार आठ सय ९० पुगेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement