आज महानवमी देशभर हर्षोल्लासका साथ मनाइदै


काठमाडौ – आज (बिहिबार) देशभर नेपालीहरुले महान चाड बडादशैंको महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आरधना गरी मनाईदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता भवानीको आवाहान गरी घटस्थपना गरिएको जलपूर्ण कलशमा नवरात्रिको दिन श्रद्धाभक्तिपूर्वक पूजाआजा गरिन्छ ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिँदै छ ।

तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाउने चलन रहेको छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हांस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाईका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement