मञ्जित सुरुङबाट बाहिर आएपछि आमाले भनिन्- ‘यी १७ दिन १७ वर्षजस्तै बिते’


एजेन्सी- उत्तराखण्डको सिल्कारा सुरुङमा फसेका लखिमपुर खेरी जिल्लाको भैरमपुर गाउँका मञ्जितकी आमाले छोरा सकुशल बाहिर निस्केकोमा खुसी व्यक्त गरेकी छन् । मञ्जितकी आमा चौधराइन भन्छिन्, ‘यी १७ दिन निकै कठिन थिए । हामी हरेक दिन भन्थ्यौँ आज बाहिर निस्कन्छ, भोलि निस्कन्छ । यसरी १७ दिन बित्यो । हामी आज बल्ल दीपावली मनाएका छौँ । छोरो सकुशल बाहिर आयो । अब हामी उसलाई त्यस्तो खतरनाक ठाउँमा पठाउने छैनौँ ।’

नेपाल–भारत सीमावर्ती लखिमपुर खेरी जिल्लाको दुधवा टाइगर रिजर्भसँग जोडिएको भैरमपुर गाउँमा रहेको मञ्जितको घरमा मंगलबार रातिदेखि नै चहलपहल चलिरहेको छ । उनका छिमेकीहरू घरमा मञ्जितको अवस्थाबारे जानकारी लिन आउँदैछन्।

योसँगै पत्रकारका गाडी पनि गाउँमा आउने क्रम जारी छ । मञ्जितको घरमा बुबा चौधरी, आमा चौधरी बाहेक दुई साना बहिनी पनि छन् ।

गहना धितो राखेर बुवा सिल्कारा पुगे

सुरुङमा छोरा फसेको खबर पाएलगत्तै मञ्जित का बुवाले आफ्ना गहना बेचेर सिल्कारा गए । उनी पछिल्ला केही दिनदेखि त्यहीँ थिए ।

मञ्जित सुरुङबाट सकुशल बाहिर आएपछि सार्वजनिक भएको तस्बिरमा उनका बुबा छोराको टाउकोमा चुम्बन गरिरहेको देखिन्छ । उत्तराखण्डका सीएम पीएस धामी र केन्द्रीय मन्त्री वीके सिंह पनि त्यो निकै रमाइलो पल हेरिरहेका देखिन्छन्।

६ दिनपछि सुरुङमा फसेको समाचार

यता मञ्जितकी आमाले विगत १७ दिनको यो कठिन समयलाई स्मरण गर्दै भनिन्, ‘हरेक दिन कसरी बित्यो, हामीलाई मात्र थाहा छ। निद्रा लागेन, राम्ररी खाना पनि खान सकेनौँ ।’

उनी भन्छिन्, ‘छ दिनपछि सुरुङमा पसलमा काम गर्ने सोही गाउँका केटाले मञ्जित त्यहाँ फसेको बताएका थिए । त्यसपछि उनले आफ्नो जेठो छोराको विवाहको बाँकी गहना धितो राखेर मञ्जितका बुबालाई उत्तराखण्डमा पठाए। मञ्जितकी आमाले लामो सास फेरेर भनिन्, ‘यदि मेरो छोरो सकुशल फर्कियो भने गहना त फेरि बनाउँला।’

परिवारले एउटा छोरा गुमाइसकेको छ

उत्तर प्रदेश सरकारसँग रोजगारीको माग गर्दै मञ्जितकी आमाले भनिन्, ‘यूपी सरकारले केही रोजगारीको व्यवस्था गर्नुपर्छ, हामी बाध्यतामा त्यहाँ गएका हौँ । अहिलेसम्म केही राम्रो भएको जस्तो लाग्दैन। यसरी नै काम गर्न जाँदा हामीले एउटा छोरा गुमाएका छौँ ।’

मञ्जितका जेठा दाइ दीपुको एक वर्षअघि मुम्बईमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । दिपुको मृत्यु सम्झँदै उनकी आमा भन्छिन्, ‘हामीले जेठो छोरो गुमाइसकेका छौँ, त्यसैले मञ्जितको चिन्ता बढी थियो । यी १७ दिन १७ वर्षजस्तै बिते।’

उनले उत्तराखण्ड सरकार र उद्धार कार्यमा संलग्न सबै सरकारी निकायलाई धन्यवाद दिँदै सरकार भगवान् भएको बताइन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस
Advertisement