माओवादी बैठकमा बहस: प्रचण्डको उत्तराधिकारी को?


काठमाण्डु- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रचण्डको उत्तराधिकारीबारेको बहस छेडिएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेकाे ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उपमहासचिवद्धय बर्षमान पुन र जर्नादन शर्माले पार्टी पुनः निर्माणको ऐतिहासिक सम्भावना  रहेकाले पार्टीलाई रूपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।

उपमहासचिव पुनले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राख्दै अहिले विचारभन्दा पनि विधिको समस्या रहेको उल्लेख गरे। विधान सम्मेलनबाट यसलाई हल गर्न र उत्तराधिकारी तयार पार्ने विधिमा जान उनको प्रस्ताव छ ।

उनले भने,‘अहिलेको समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ’, उनले भने, ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु ।’

अहिले कसैले अध्यक्षको विकल्प नखोजेको बताउदै पुनले अध्यक्षलाई सम्पूर्ण  रूपले सहयोग गरेर जान आफू तयार रहेको समेत बताए। यस्तै पुनले अहिले सरकारबाट राम्रो कामको थालनी भएको बताएका पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा रोक्न नहुनेमा जोड दिए। भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताउदै आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुने उनको भनाई छ ।

उपमहासचिव पुनले सुन प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै दोषी प्रमाणित भए आफू समेत कानुनी कठघरामा उभिन तयार रहेको स्पष्ट पारे।करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए ।

जनार्दन शर्माले के भने?

अर्का उपमहासचिव जनार्दन शर्माले पनि उत्तराधिकारीको खोजीमा लाग्नुपर्ने बताएका छन् । पार्टीलाई पूणर्तः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा जोड दिनुभएका शर्माले उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताए।

उनले भने,’पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ।’

उपमहासचिव शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूणर् समर्थन रहेको स्पष्ट पारे। शर्माले पार्टी नेताहरूको व्यक्तिगत स्वभावमा अध्यक्ष पुष्पकमल दाहालले खेल्ने गरेको आरोप लगाउदै महासचिव चयनका बेलाको प्रसंग उल्लेख गरे।

शर्माले वर्षमान पुन र आफूमध्ये जसलाई महासचिव बनाएपनि मान्य हुने भन्दा भन्दै नयाँ प्रस्ताव ल्याएको आरोप लगाए। आफूहरुलाई बाईकाट गरी देव गुरुङलाई महासचिव बनाइएकोमा उनको असन्तुष्टि छ ।

उनले भने,’समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौँ । मान्छे हुनुको नाताले सबैको आ-आफ्नै स्वत्व हुनु स्वाभाविकै छ । अध्यक्ष कमरेडले बेला बेला त्यसमै धार लाइदिनुहुन्छ । तलबाट पनि म फलानाको हुँ र होइन भन्ने चलन छ । अनि त्यसैलाई गुट भनेर ठुलो प्रचार गरिन्छ । हामी तपाइकै हौँ, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ । सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ । अनि गरौँ के ?’

पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उनले गुनासो गरे। शर्माले आफूलाई चित्त नबुझ्दा नबुझ्दै पनि प्रचण्डको आग्रहमा राष्ट्रपति र सभामुख एकै पार्टीको हुन हुँदैन भनेर बाहिर बोलेको भन्दै जस्तोसुकै बेला पनि अध्यक्षलाई साथ दिएको समेत बताएका छन्।

अध्यक्ष दाहाललाई जुनसुकै परिस्थितिमा आफूले साथ दिएको तर पनि विश्वास नगरिएको शर्माको भनाइ थियो । उनले कुन अप्ठ्यारो मोडमा मेरो साथ पाउनुभएन भन्दै अध्यक्ष प्रचण्डलाई प्रश्न समेत गरेका छन्।

भ्रष्टाचारी नछाड्न खबरदारी

शनिबारको बैठकमा केन्द्रीय सदस्यहरूले नेताहरूको आचरण, जीवनशैली र क्रियाकलामाथि गम्भीर प्रश्न उठाएका छन् । उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुन लगायत नेताहरूले अनुसन्धान प्रक्रियामा सघाउन उनीहरूले सुझाव दिएका हुन् ।

यसै गरी केन्द्रीय हिमाल शर्मा, माधव सापकोटा, सरल सहयात्री पौडेल लगायत केन्द्रीय सदस्यहरूले नेताहरूको आचरण ठिक नहुँदा पार्टी निरन्तर बदनाम र कमजोर हुँदै गएको आरोप लगाएका छन्। शनिबारको बैठकमा बोल्दै पौडेलले विचारलाई केन्द्रीकरण गर्ने र विधिलाई व्यवस्थित नगरेसम्म पार्टी रूपान्तरण नहुने जिकिर गरे।

सुन प्रकरणमा संलग्न भएको प्रमाणित भएमा जोसुकै भए पनि कारबाही गर्न प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् अर्का केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले बाहिर चर्चामा आएजस्तै माओवादी नेताहरू संलग्न भएको पुष्टि भए कसैलाई नछाड्ने भनाइ राखे।

यसैगरी केन्द्रीय सदस्य नारायणी शर्माले सरकारले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छे परे पनि छोड्नु नहुने बताए। केन्द्रीय सदस्य रामकुमार शर्माले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न ‘फायर’ खोलिसकेपछि पछि हट्न नहुने बताए।

त्यस्तै अर्का केन्द्रीय सदस्य मुक्ति प्रधानले माओवादीको शीर्ष नेताहरू नै सुन प्रकरणमा जोडिए कारबाही हुने धारण राखे। राष्ट्रघाती काम गर्नेविरूद्ध सरकार कडा रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाई छ ।

केन्द्रीय सदस्य रामनारायण बिडारीले नेताहरू पार्टी हितभन्दा पनि व्यक्तिगत धन दौलत जोड्नतिर ध्यान गएकाले माओवादी आन्दोलन बदनाम र कमजोर भएको तर्क गरे।

पार्टीको केन्द्रीय समिति बैठक लम्बिने भएको छ । पाँच दिन बस्ने गरी सुरु भएको बैठकको शनिबार चौथो दिन हो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूको सूची लामो भएपछि बैठक लम्बिने भएको हो । शनिबारको बैठकमा ७४ जनाले आफ्नो धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement