भारतीय प्रधानमन्त्री मोदीमाथि कति खतरा ? वाराणसीले आर्शिवाद देला ?


काठमाडौं – भारतीय सत्ताको बागडोर सम्हाल्ने नेतृत्व चयनका लागि लोकसभा निर्वाचन चलिरहेको छ । विभिन्न चरणमा भइरहेका निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा होमिँदैछन् ।

यसअघिको निर्वाचनमा वाराणसी क्षेत्रबाटै जितेर मोदी देशको प्रधानमन्त्री बनिसकेका छन् । आसन्न निर्वाचनका लागि मोदीले आज शुक्रबार उम्मेदवारी दर्ता गराउँदैछन् । प्रधानमन्त्रीको उम्मेदवारी दर्तालाई भव्य बनाउन भाजपाले पर्याप्त तयारी गरेको छ ।

सन् २०१४ को निर्वाचनमा धार्मिक क्षेत्र र गंगाको किनारमा रहेको क्षेत्र वाराणसीबाट उम्मेदवार बनेपछि मोदीले भनेका थिए, ‘पहिला म सोच्थें कि भारतीय जनता पार्टीले मलाई यहाँ पठायो । फेरि लाग्यो म काशी जाँदैछु । तर आज मलाई यहाँ आएपछि लाग्यो कि कसैले मलाई यहाँ पठाएको होइन, न म आफैं आएको हुँ, मलाई त गंगा माताले बोलाउनुभएको हो ।’ उतिबेला मोदी बडोदरा सँगसँगै वाराणसीबाट चुनावी मैदानमा होमिएका थिए ।

राजधानी दिल्लीको राज्यसत्ताको सिंहासनसम्म पुग्न उत्तर प्रदेशका धेरै जनताको साथ पाउनुपर्ने मान्यता अनुसार मोदी वाराणसीबाट चुनावी मैदानमा होमिएको आकलन गरिएको थियो । जुन आकलन र योजनामा त्यतिबेला भाजपा सफल भएको थियो र सत्ताको सिंहासनमा पुगेको थियो । तर यसपालि नरेन्द्र मोदीका लागि चुनाव जित्नु र सत्ताको सिंहासनसम्म पुग्न कति सहज छ ?

एकपल्ट फेरि मोदी वाराणसीबाटै चुनावी मैदानमा होकिएका छन् । यस चुनावमा मोदीलाई अघिल्लो चुनावभन्दा सहज अवस्था रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसी हिन्दीले लेखेको छ, ‘यसपालिको चुनावी मैदानमा मोदीका लागि प्रतिस्पर्धा अघिल्लो चुनावभन्दा सहज हुने सम्भावना छ ।’

शुक्रबार उम्मेदवार दर्ता गर्नुभन्दा एकदिनअघि बिहीबार नरेन्द्र मोदीले काशीका मतदातालाई सम्बोधन गर्दै भने, ‘गंगा माता र काशीका भाईबहिनीको मायाले यो फकिर रमेको छ ।’

प्रधानमन्त्री मोदीविरुद्ध मुख्य प्रतिस्पर्धी भारतीय कांग्रेसबाट चर्चित उम्मेदवार प्रियंका गान्धी चुनावी मैदानमा होमिने चर्चा थियो । तर गान्धी मोदीविरुद्ध चुनाव नलड्ने निश्चित भइसकेको छ । कांग्रेसले अजय रायलाई उम्मेदवार बनाउने घोषणा गरेको छ, जसबाट समेत मोदीलाई झनै सहज भएको छ । अघिल्लो चुनावमा नरेन्द्र मोदी प्रथम र आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवाल दोस्रो हुँदा अजय तेस्रो भएका थिए । 

वरिष्ठ पत्रकार रशीद कदिवई २०१४ को चुनावभन्दा यसपालि केही अन्तर भएपनि वाराणसीबाट मोदी जित्ने बताउँछन् । ‘मोदीले जित्नेमा कुनै शंका छैन तर सँगसँगै मोदीले चुनाव जितेपछि गरेका कामको चर्चा पनि भइरहेको छ । २०१४ मा उत्साही देखिएका मतदाता अहिले व्यक्तिभन्दा पनि वास्तविक मुद्दाका कुरा गरिरहेका छन्,’ उनले भने ।

गान्धी परिवारको पुख्र्याैली क्षेत्र अमेठी र रायबरेलीमै सीमित रहने गरेकी प्रियंका गान्धी यसपालि पूर्वाञ्चलसम्म पुगेकी छन् । त्यसले मोदीको क्षेत्रमा कस्तो प्रभाव पार्ला ? हेर्न बाँकी नै छ । 

‘२०१४ को लोकसभा चुनावमा अरविन्द केजरीवाल मोदी विरोधी अनुहार थिए । अहिले उनी पनि मोदीसामु आउन सकेनन्, यहाँ आजको स्थिति के हो भने मोदीलाई आउने भोटमा कुनै कमी आउने छैन,’ वरिष्ठ पत्रकार प्रदीप सिंह भन्छन्, ‘कांग्रेसले प्रियंका गान्धीलाई मोदीसँग लडाउन चाहेन, किनकि कांग्रेस चुनावी नतिजाबारे जानकार छ । २०१४ मा वाराणसी प्रधानमन्त्रीको सिट थिएन, अहिले प्रधानमन्त्रीको सिट पनि भएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement