उपप्रधानमन्त्री श्रेष्ठले बिर्सिएको ‘कूटनीतिक मर्यादा’ : क्वात्राको भ्रमणमा प्रचण्डको के स्वार्थ ?


काठमाण्डु – भारतका विदेश सचिव विनयमोहन क्वात्रा २ दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किए तर उनको भ्रमणले केही प्रश्न जन्माएको छ । सचिव क्वात्रा परराष्ट्र सचिवस्तरीय बैठकका लागि काठमाडौं आएका भनिए पनि उनको अस्वाभाविक सक्रियताले शंका पैदा गरेको छ ।

सचिवस्तरीय बैठकमा आउँदा राजनीतिक दलका नेताहरूलाई भेट्नुपर्ने प्रयोजन के हो ? खुलेको छैन । तर, उनलाई नेपाल भ्रमणमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निम्ता दिएको राजनीतिक वृतमा चर्चा छ ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ पनि छन् । श्रेष्ठले ‘कूटनीतिक मर्यादा’ सम्बन्धमा पटक–पटक प्रश्न उठाउने गरेका थिए तर उनी समेत सम्मिलित सरकार भएका बेला यस्ता क्रियाकलाप भएका छन् । क्वात्राले काठमाडौंमा रहँदा नेपालको संसद्मा सहभागी सबै दलका शीर्ष नेतालाई भेटेका छन् ।

सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री विमला राई पौड्याल, विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग भेट गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई समेत उनले भेटेका छन् । क्वात्राले यतिधेरै भेटघाट गर्नुपर्ने आवश्यकता र औचित्य के हो ? राष्ट्रवादका विषयमा चर्काे बोल्ने गरेका उपप्रधानमन्त्री श्रेष्ठले यसपालि कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।

स्वयं मन्त्री श्रेष्ठले नै क्वात्रालाई भेट दिएर रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धिसम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाबारे छलफल गरेका मन्त्रालयले जनाएको छ । तर मन्त्री श्रेष्ठका समकक्षी सचिव क्वात्रा होइनन् । परराष्ट्र सचिवस्तरीय बैठकमा दुवै देश सम्बन्धित सबै सम्बन्ध र परियोजनाबारे छलफल भइसकेको थियो । विदेश सम्बन्ध परराष्ट्र मन्त्रालयमार्फत स्थापित गर्नुपर्ने मान्यता हुन्छ । यस्तो अवस्थामा मन्त्री र नेतालाई छुट्टाछुट्टै भेट्नुपर्ने के थियो ? समाचार र बाहिर आएका भेटघाट औपचारिक भेटघाट हुन्, क्वात्राले अनौपचारिक रूपमा होटलमा कति र को–कोसँग भेटघाट गरे भन्ने कुनै लेखाजोखा छैन ।

उपप्रधानमन्त्री श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा परिस्कृत गरिएको कूटनीतिक आचारसंहिता २०६८ अहिले पनि लागू छ । कूटनीतिक आचारसंहिता २०६८ को दफा ४.१ मा उल्लेख छ, ‘नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्नेछ । परराष्ट्र मन्त्रालयका प्रतिनिधिले भेटघाटका अवसरमा भएका वार्ताको विवरण तयार गर्नुपर्नेछ ।’

आचारसंहितालाई थप कार्यान्वयन गराउन प्रचण्ड नेतृत्वको माघ ४ गतेको मन्त्रिपरिषद् बैठकले कूटनीतिक भेटघाटमा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई अनिवार्य राख्ने निर्णय गरेको थियो । त्यसको १ महिनापछि काठमाडौंमा क्वात्राको अनावश्यक सक्रियताले कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको छ ।

के चाहन्छन् प्रचण्ड ?

हालै नयाँ सरकार गठन भएर आफू प्रधानमन्त्री बनेको अवस्थामा प्रचण्ड भारतसँग सम्बन्ध सुधार्न चाहन्छन् । भारत निकट मानिने नेपाली कांग्रेस सहितको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्न पाएनन् । उनले प्रधानमन्त्री बन्न कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गरे । यस्तो परिस्थितिमा भारत आफू अनुकूल हुन नसक्ने शंसयबीच प्रचण्डले भारतसँग सम्बन्ध सुधार्न चाहेका छन् ।

भारतसँग सम्बन्ध सुधार्नका लागि प्रचण्डले विदेश सचिवलाई निमन्त्रणा पठाएको बताइन्छ । क्वात्राको भ्रमणकै क्रममा प्रचण्डले आफ्नो भारत भ्रमणको तयारी गरिदिन पनि भारतलाई सन्देश पठाएका स्रोतले जनाएको छ ।

प्रचण्ड यतिबेला स्पष्ट रूपमा एमालेकै कित्तामा उभिएका पनि छैनन् । उनले कांग्रेससँग पनि समानान्तर सम्बन्ध अगाडि बढाएका छन् । सत्तारुढ गठबन्धनमा सुविधाजनक बहुमत हुँदा हुँदै पनि विश्वासको मत माग्न प्रचण्ड देउवानिवास पुगेका थिए । प्रचण्ड कांग्रेस सँगसँगै भारतलाई पनि विश्वासमा लिने रणनीतिमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement