नरेन्द्र मोदीले ईपिजीको प्रतिवेदन छिट्टै बुझ्ने भट्टराईको खुलासा


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने,‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।’

डा। भट्टराईले ईपिजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौता र सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । उनले थपे, ‘ईपिजीको ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं । र, दुवै तर्फ बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं ।

पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपिजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । बुझ्नुहुन्छ ।’ सल्लाहकार भट्टराईले ईपिजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने,‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भैरहेको छ ।’

यो सरकार बन्नको लागि जे पृष्ठभुमिबाट आफूहरु आएको हो त्यतिवेला संक्रमणकालिन अवस्था रहेको सुनाउँदै भट्टराईले भने,‘राजनीतिक अस्थिरता पनि हामीले सँगै भोग्नुपर्यो । संविधान बन्ने हो कि होईन भन्ने अनिश्चितताका बीचमा यो सबै कुराले नेपालको अन्तर्राष्ट्रिय छबि, अन्तर्राष्ट्रिय रुपमा नेपालको बारेमा मान्छेहरुको धारणा क्रमिक रुपमा यो मुलुक कतै सँधैभरि अप्ठ्यारो झेलिरहने मुलुक, र अन्तत्वगत्व यो असफल राष्ट्रतर्फ पो उन्मुख हुने हो कि भन्ने आशंकाहरु हुने गरेका थिए ।

तर, हामीले संविधान जारी गरिसकेपछि र त्यो संविधानअन्तर्गत रहेर तीनै तहका सरकार बनाएपछि र बहुमतको सरकार बनाईसकेपछि उहाँहरुको चासो अहिले द्वन्द्वबाट शान्ति प्रक्रियामा, त्यसपछि सहमतिमा संविधान जारी गरेको र एकात्मक शासन प्रणालीबाट संघात्मकमा जान कसरी सम्भव भयो भनेर गरेको छ। नेपालमा भएका कुटनीतिक नियोगका प्रमुखहरु र हामीसँग भएको कुराकानीमा यो विषयमा उहाँहरुको चासो रहेको पाईन्छ ।’

हामीबाट अन्य द्धन्द्धग्रस्त देशहरुले पनि सकारात्मक कुरा सिक्न सक्नेछन भनेर उनीहरुले भनेको पनि भट्टराईले सुनाए । उनले भने, ‘एक किसिमले भन्ने हो भने यो हाम्रो राष्ट्रिय पुँजी हो । हाम्रो सफलताको सन्देशसहित उनीहरुसँग हाम्रो अनुभव आदान–प्रदान गर्नुपर्छ । अहिले पछिल्लो कालमा हाम्रो दुई वटा मुलुकबाट नेपालमा हाई–लेभल भिजिट भएको छ । अफगानिस्तान र म्यानमारबाट नेपालमा उच्चस्तरीय भ्रमण भएका छन् ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अन्य मुलुकभन्दा घनिष्ठ रहेको उनले बताए । उनले भने,‘नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक छ । योसँग जोडिएका धेरै विषयहरु छन् । विगतका खासगरी ऐतिहाँसिक कालदेखि विषयहरु जोडिएका छन् । हामीसित केही विवादित सन्धि तथा सम्झौताहरु पनि भएका छन् । जलस्रोतको विषय होला । व्यापारको विषय होला । हामीले पाउनुपर्ने टा«न्जिट फ्यासिलिटीको विषय होला । यी सबै तमाम विषयहरुलाई पूनरावलोकन गर्नेगरि हामीले ईपीजी गठन गरेर काम गर्यौं ।’

नेपालको सम्बन्धलाई सबै मुलुकसँग उतिकै महत्वका साथ अगाडि बढाउने उनको भनाई छ । उनले भने,‘फलानोसँग हाम्रो विशेष सम्बन्ध हो, अर्कोसँग होईन भन्दैनौं । सबैसँग उतिकै राम्रो सम्बन्ध बनाउँछौं । तर, व्यवहारिक रुपमा हामी भारतसँग बढि नजिक छौं । हाम्रो दुई तिहाई व्यापार भारतसँग हुन्छ । लगानीपनि ठूलो संख्या छ । हामीसँग खुल्ला सिमाना रहिरहेको छ । परम्परागत रुपमा रहेको सम्बन्धका केही आधारहरु छन् । राजनीतिक किसिमका सम्बन्धहरु छन् । शिक्षा, स्वास्थ्यजस्ता जोडिएका कतिपय कुराहरु छन् । कतिपय सांस्कृतिक पक्षसँग जोडिएका सम्बन्ध छ । त्यसो हुँदा हाम्रो सम्बन्ध बढि भारतसँग छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement