चीनले ४८ घण्टामा बनायो कोरोना प्रभावितका लागि अत्याधुनिक अस्पताल (भिडियाेसहित)


चीन — चीनले दुई दिनमै कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ सहरमा एक हजार शय्याको अस्पताल निर्माण थालेको ४८ घण्टामा पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात अस्पताल बनाइएको हो । यो अस्पताल बुधबार बिहान साढे १० बजे पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ । यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ । कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको यो अस्पताल विश्वकै पहिलो हो ।

यो अस्पताल ह्वाङगाङ केन्द्रीय अस्पतालको नयाँ शाखा अस्पताल हो । अस्पताल परिसरमा रहेको खाली भवनमा मेडिकल सेन्टर,शैय्या थपेर २ दिनमै तयार गरिएको हो । मे महिनामा खुल्ने भनिएको यो अस्पताल कोरोना भाइरसको संक्रमण फैलिरहँदा रफ्तारमा खोलिएको हो ।

शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो । त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो ।

सोमबारसम्म स्वयंसेवकले सबै शय्याहरुको व्यवस्था गरिसकेका थिए । त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो । ५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बुधबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १ सय ३२ जनाले ज्यान गुमाएका छन् भने झन्डै ६ हजारमा यसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement