प्रधानमन्त्रीको भारत भ्रमण : ठाउँठाउँमा नराम्ररी चुकेका प्रचण्ड


काठमाण्डु- भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर ह्यान्डल ‘पीएमओ नेपाल’मा लेखियो, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत भइरहेको छ । न्यानो आतिथ्य र महत्त्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई ‘राजकीय’ भनिरहेका बेला उनको भ्रमण ‘औपचारिक’ मात्रै थियो । उनी औपचारिक भ्रमणका क्रममा भारत गएको विषय भारतको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले खुलस्तै वक्तव्यहरूमा लेखेका छन् ।

भारत भ्रमणका क्रममा प्रचण्ड सामान्य लेखाइमा मात्रै चुकेका छैनन् । गत हप्ता बुधवारदेखि शनिवारसम्म गरी ४ दिनसम्म भएको प्रचण्डको भारत भ्रमणमा पटक–पटक नरमाइला दृश्य देखिए । जसको नेपालभित्र खुलेरै आलोचना भयो ।

भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसँगको भेटमा प्रचण्डले छोरी गंगा दाहाललाई छेउमा राखे । डोभालले भने विदेश सचिव विनयमोहन क्वात्रालाई राखेका थिए । नेपालको कूटनीतिक मर्यादामा विदेशी प्रतिनिधिसँग भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई राख्नुपर्ने व्यवस्था छ । छोरीलाई छेउमा राखेर विदेशी प्रतिनिधिलाई भेटेकोप्रति सामाजिक सञ्जालमा आलोचना भयो ।

भारत भ्रमणका क्रममा प्रचण्डले गेरुवस्त्र लगाएर महांकाल मन्दिरमा पूजाआजा गरेको दृश्य पनि चर्चित बन्यो । कुनै बेला ‘धर्मलाई अफिम’ संज्ञा दिँदै मन्दिर भत्काउने र ब्राह्मण–पुजारीको हत्या गर्ने अभियानको नेतृत्व गरेका प्रचण्ड यतिबेला मन्दिरको शरणमा पुगेका छन् । स्वदेश फर्किएपछि प्रधानमन्त्री प्रचण्डले पत्रकारको प्रश्नको जवाफमा भनेका छन्, ‘महाकालेश्वर मन्दिरमा मुख्य अतिथिले गेरुवस्त्र लगाउनुपर्ने प्रोटोकल रहेछ । मैले लगाउन नमान्ने हो भने भारतका जनताको मनमा चिसो पस्नेभो प्रधानमन्त्रीप्रति । यो एउटा सांस्कृतिक कूटनीतिको रूपमा किन नबुझ्ने ?’

प्रचण्डले ‘भारतका जनताको मनमा चिसो पस्ने’ चिन्ता व्यक्त गरिरहँदा उनले बहुसंख्यक नेपाली हिन्दू जनताको मनको कुरा कहिल्यै सोचेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्ड कहिल्यै पनि देशभित्रकै पशुपतिनाथको मन्दिरमा दर्शन गर्न नगएको दाबी गरेका छन् । नेपाली जनताको मनको चिसो नबुझ्ने तर भारतीय जनताको मनको चिसोको ख्याल गर्ने कस्तो तर्क हो ?

प्रधानमन्त्री प्रचण्डले अगाडि भनेका छन्, ‘म मनैदेखि धर्मनिरपेक्षतावादी हो तर धर्मनिरपेक्ष भनेको धर्म विरोधी हैन नि ! सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनैलाई काखापाखा गर्ने हुँदैन । म कम्युनिस्ट मात्र होइन, प्रधानमन्त्री पनि हो । सबैलाई समेट्नुपर्छ, सबै धर्म र समुदायको सम्मान गर्नु हामी सबैको दायित्व हो ।’

भारत भ्रमणबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले बोलेको अर्काे कुरा पनि विवादित बनेको छ । प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूमिसँग बंगलादेश जोड्ने बाटो साट्ने विषयमा छलफल भएको बताए । प्रचण्डलाई नेपाल र बंगलादेशको बाटो जोड्नका लागि लिम्पियाधुरा, कालापानी, लिपुलेक साट्ने भन्ने विषयबारे प्रश्न सोधे । प्रचण्डले भने, ‘यो कुरा चाहिँ पक्कै पनि भयो । विभिन्न विकल्पहरूको बारेमा किन नसोच्ने भन्ने कुरा भएको छ ।’

उनले अगाडि थपे, ‘बंगलादेशको लामो समयदेखि रहेको समस्या समाधान गर्न भारत–बंगलादेशले जो सफलता प्राप्त गरे, त्यो अनुभव हाम्रो लागि पनि हुनसक्छ भन्ने एउटा चर्चा, त्यो पनि एउटा विकल्प हुनसक्छ । अहिले कुनै निष्कर्ष होइन, त्यो पनि विकल्प हो भन्ने भयो । अर्को तपाईंले भनेजस्तै हामीलाई बंगलादेश जाने बाटो दिने कुरा पनि एउटा विकल्प नेपालका विज्ञहरूले भनि पनि राख्नुभएको छ । हामीलाई बंगलादेश जाने बाटो त्यहीँ जमिन बराबर दिने हो भने त सजिलै हल हुन्छ भन्ने नेपाली विज्ञहरूको लगातार यही भनाइ छ ।’

सम्झौतामा झल्किएन सान !

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा माओवादीले लामो समयसम्म भारतसँगका असमान सन्धिसम्झौता खारेजीको आवाज चर्काेसँग उठायो तर सत्तामा पुगेपछि त्यो आवाजलाई स्वयं प्रचण्डले बिर्सिंदै गएका छन् । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन लामो समयदेखि थन्किएर बसेको छ । त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा बुझ्ने र कार्यान्वयनमा लैजाने प्रावधान छ । तर भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझ्दा अलपत्र परेको छ ।

ईजीपी प्रतिवेदनमा यसअघि नेपाल–भारतबीच भएका सन्धिसम्झौता कार्यान्वयनको अवस्था र त्यसको पुनरावलोकनका विषय समेटिएका छन् । पुराना समझदारीको समीक्षा नै नगरी प्रचण्डले नयाँ सम्झौता गरेर फर्किएका छन् । यसपालिको प्रमाणमा प्रचण्डले ईपीजीको विषयमा छलफल गर्न सकेनन् ।

अर्काेतिर नेपालको नक्शामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाल फर्काउने र भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने मुख्य एजेन्डा हुनुपर्ने थियो । यसमा पनि प्रचण्डले कुनै पहलकदमी लिन सकेनन् । बरु नेपाली भूमि भारतकै जिम्मा लगाउने र अर्काे ठाउँमा सट्टा लिन सकिने खालका अभिव्यक्ति प्रचण्डले दिएका छन् ।

मुख्य विषयलाई अलपत्र पारेर भ्रमण पूरा भएपछि प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भनेका छन्, ‘यो भ्रमण मैले जे भनेर गएको थिएँ, मूलभूत रूपमा सोचेको कुरा पूरा भएको छ । केही महत्त्वपूर्ण दूरगामी समझदारी भएका छन्, यो आफैंमा महत्त्वपूर्ण सुरुआत हो ।’

भारतले ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्बन्धी गरेको सहमतिलाई प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक मानेका छन् । तर भारतसँग यस्ता थुप्रै सम्झौता भएका छन्, जसको कार्यान्वयन हुन सकेको छैन । कोशी सम्झौता, शारदा ब्यारेज सम्झौता, पञ्चेश्वर सम्झौता हुँदा पनि ऐतिहासिक भन्ने गरिन्थ्यो तर यस्ता सम्झौताको कुनै उपलब्धि देखिएको छैन । यतिसम्म कि नेपालको नेतृत्वले ती सम्झौताको समीक्षा र पुनरावलोकन समेत गराउन सकेको छैन । प्रचण्ड उधारो सम्झौतामा रमाउँदै स्वदेश फर्किएका छन् ।

भ्रमणअघि नयाँ एयर रूट लिनुपर्ने, पञ्चेश्वरमा ठोस प्रगति हुनुपर्ने, २५ वर्षे ऊर्जा सहकार्य अघि बढाउनुपर्ने कुरा चलेको थियो । तर भ्रमणका क्रममा यी विषय उठेनन् । बरु भारतले तल्लो अरूण र फुक्कट कर्णाली आयोजना लिन सफल भएको छ । नेपालको जलविद्युत् आयोजनालाई भारतले आफ्नो नियन्त्रणमा लिने नगदै उपलब्धि हात पारेको छ ।

परराष्ट्रमन्त्री र विदेश सचिव स्तरमा हुनसक्ने खालका अन्य खुद्रे विषय पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा सम्झौतामा परेका छन् । नेपाल–भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइन (अमलेखगञ्जदेखि चितवनसम्म र सिलिगुडीदेखि झापासम्म) एवं टर्मिनल निर्माण, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य, दोधाराचाँदनीमा एकीकृत जाँचचौकी स्थापना गर्ने सम्झौता भएका छन् ।

प्रचण्डले स्वदेश फर्किनै लाग्दा १५ वटा मुर्रा भैंसी पाएको विषयले पनि चर्चा पाएको छ । कृषिप्रधान देश नेपालमा पशुको नश्ल सुधार लगायत व्यावसायिकीकरणलाई सरकारले स्वदेशमै प्रवर्द्धन गर्नुपर्नेमा १५ भैंसी भारतबाट ल्याउनुपर्ने अवस्था विद्यमान रहेको छताछुल्ल भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा अन्य थुप्रै उधारो सम्झौता भए पनि १५ भैंसी नगदै प्राप्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement