खुम्चिँदै माओवादी, कजिँदै प्रचण्ड !


काठमाण्डु – नेकपा माओवादी केन्द्र शान्तिप्रक्रियामा आएपछिकै खराब स्थितिमा पुगेको छ । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले माओवादी मत खुम्चिँदै गएको देखिएको हो ।

पुनःस्थापित व्यवस्थापिका संसदभित्र प्रतिनिधित्व गर्दै संसदीय राजनीतिमा प्रवेश गरेको माओवादीले २०६४ सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत अर्थात् २४० मध्ये १२० सिट जितेको थियो । तर समानुपातिकतर्फ बहुमत नआउँदा माओवादी संसदीय बहुमतबाट वञ्चित भएको थियो ।

२०७० सालको संविधानसभा निर्वाचनमा माओवादी २६ सिटमै सीमित हुन पुग्यो । पार्टीको ओरालो यात्रा देखेर प्रचण्डले २०७४ सालको निर्वाचनमा नेकपा एमालेसँग वाम तालमेल गरे । एमालेसँग तालमेल गर्दा माओवादीको संसदीय प्रभाव बढेर ३६ सिट पुग्यो । संसदमा माओवादी निर्णायक शक्ति बन्यो ।

वाम गठबन्धनभित्र खटपट भएपछि प्रचण्डले माओवादीलाई नेपाली कांग्रेस निकट बनाएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा कांग्रेस र माओवादी लगायत ५ दलले तालमेल गरेका थिए । कांग्रेससँगको तालमेललाई माओवादीलाई घाटा लागेको छ, माओवादी १७ सिटमा सीमित भएको छ । यति मात्रै होइन, संसदमा माओवादीसँग रहेको निर्णायक शक्ति पनि गुमेको छ ।

नयाँ पार्टी उदाउँदा माओवादीलाई धक्का !

संसदमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी जस्ता नयाँशक्ति समेत उदाएका छन् । जसले गर्दा प्रचण्डसँग निर्णायक शक्ति कायम रहन सकेन । बरु माओवादीले जित्दै आएका निर्वाचन क्षेत्र समेत गुमेका छन् । प्रतिनिधि सभातर्फ सुदूरपश्चिम प्रदेशमा माओवादी शुन्य भएको छ भने मधेश प्रदेशमा १ सिट मात्रै जितेको छ । कुनै बेला मधेश र सुदूरपश्चिम क्षेत्रमा माओवादीको प्रभाव थियो ।

यसपालि समानुपातिकतर्फ माओवादी खस्किएको छ । माओवादीलाई ६ महिनाअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले टक्कर दिइरहेको छ । हालसम्मको गणनामा दुवै पार्टीले ११ लाख मत पाएका छन् ।

एमाले र माओवादी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको असर पनि यतिबेला चुनावमा देखिएको छ । नेकपा विभाजन हुँदा माओवादीका प्रभावशाली नेताहरू रामबहादुर थापा ‘बादल’, प्रभू साह, टोपबहादुर रायमाझी एमालेमै बसेका थिए । प्रभू साह भने चुनावको मुखैमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका छन् ।

वर्षाैंदेखि एकै नेतृत्वः उत्साहदेखि निराशासम्म

माओवादी पार्टी स्थापना भएदेखि नै प्रचण्डले नेतृत्व लिइरहेका छन् । माओवादीमा नेतृत्व विकास हुन सकेको छैन । माओवादीमा प्रचण्डकै कारण नेतृत्वका आकांक्षीहरू पलायन हुने अवस्था आयो तर नयाँ नेतृत्व स्थापित भएन । पुराना नेताहरू मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतहरू यतिबेला माओवादी बाहिर छन् ।

प्रचण्ड, बाबुराम र किरण लगायत नेताहरूले माओवादी आन्दोलनको परिकल्पना र उठान गर्दा उत्साह थियो । सशस्त्र द्वन्द्वका बेला प्रचण्डको इशारामा लडाकूहरू ज्यानको आहुती दिन तयार हुन्थे तर यतिबेला मतदाताहरू भोटसम्म दिइरहेका छैनन् । उतिबेला उत्साह थियो, यतिबेला निराशा छ । पार्टीकै सक्रिय कार्यकर्ताहरूमा पनि आर्थिक, सांस्कृतिक र सांगठनिक विचलनको अवस्था देखिएको छ ।

पार्टीका सम्मेलन, भेला, बैठकमा प्रचण्डले नेता, कार्यकर्तालाई जनतामुखी बनाउने, उत्पादनसँग जोड्ने र आत्मनिर्भर बनाउने प्रतिवेदन ल्याउँछन् । तर यी आकर्षक योजना र कुराहरू कार्यान्वयनमा जाँदैनन् । बरु पार्टीका नेताहरू कमिसन, चन्दा, दलाली जस्ता विकृतिमा जोडिएर गुजारा गरिरहेको अवस्थालाई नेतृत्वले सुधार्न सकेको छैन । जसको परिणाम चुनावी नतिजामा देखिँदै गएको छ ।

प्रचण्ड न स्वस्फूर्त रूपमा नेतृत्व हस्तान्तरण गर्छन्, न लोकतान्त्रिक प्रक्रिया अपनाउँछन् । नेपालका अन्य प्रमुख राजनीतिक दलमा नेतृत्व हस्तान्तरण हुँदै आएको छ । कांग्रेस र एमालेमा हरेक महाधिवेशनपिच्छे नेतृत्व हस्तान्तरणको बहस चल्छ र नेतृत्व फेरिन्छ तर माओवादीले पुरानै नेतृत्व दोहोरिँदै गएको छ ।

प्रचण्डको नेतृत्वले न त राज्यसत्ता कब्जा गर्न सक्यो, न त प्रतिस्पर्धामा नै श्रेष्ठ रहिरहन सक्ने अवस्था छ । प्रचण्ड केही वर्षयता राजनीतिक तिकडमको खेलमा लागिरहेका छन् । यता मिल्ने, उता मिल्ने र सत्तामा टिकिराख्ने प्रचण्डको खेललाई जनताले अनुमोदन नगर्ने अवस्था बनेको चुनावी नतिजाले देखाएको छ ।

नयाँ सम्भावना खोज्दै प्रचण्ड

पछिल्लो चुनावी नतिजापछि यतिबेला प्रचण्ड फेरि नयाँ पार्टी स्थापनाको छलफलमा लागेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई एकीकृत गरेर नयाँ पार्टी बनाउने प्रचण्डको योजना छ । यी शक्तिलाई जोडेर संसदमा संख्या थप्ने र बार्गेनिङ बढाउने रणनीतिमा प्रचण्ड रहेका स्रोतले जनाएको छ । यथास्थितिमा सत्ता गठबन्धनमा ‘बार्गेनिङ पावर’ नपुग्ने भएकाले प्रचण्ड कजिँदै गएका छन् ।

प्रचण्डकै नेतृत्वमा माओवादी पतनको बाटोमा हिँडिराख्दा माओवादीभित्रका युवा नेताहरूले समेत दबाब दिन सकिरहेका छैनन् । बरु युवा नेताहरूबीचको उनको नजिक बनेर कसले बढी लाभ लिने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । प्रचण्डसँग फरक मत राख्ने युवा नेताहरूलाई माओवादीभित्र पाखा लगाउने सकेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement