प्रधानमन्त्री प्रचण्डको बेलगाम बोली !


काठमाण्डु – वर्तमान सत्तारुढ गठबन्धनमा शक्ति बाँडफाँट हुँदा आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २ वर्ष प्रधानमन्त्री हुने सहमति गठबन्धनमा भएको हो ।

त्यसपछि २ वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र १ वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने सहमति बाहिर आएको थियो ।

तर अहिले प्रधानमन्त्री प्रचण्ड ५ वर्ष नै प्रधानमन्त्री बनिराख्ने तरखरमा जुटेका छन् । यतिसम्मकी उनले आफूलाई हटाउनेविरुद्ध लाखौं–करोडौं जनता बीचमा आन्दोलनको नेतृत्व गर्ने चेतावनी नै दिएका छन् ।

शनिबार काठमाडौंको चन्द्रागिरी नगरपालिकामा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले भने, ‘मलाई जसले हटाउनेछन्, तिनका विरुद्ध लाखौं–करोडौं जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नेछु भन्ने संकल्पसहित काम गर्दैछु । अहिले ८ महिना हुँदैछ, म त हट्न परेको छैन, मलाई लाग्छ सायद पाँचै वर्ष हट्न पर्दैन जस्तो देख्दैछु अहिले ।’

गठबन्धनको पूर्व सहमतिअनुसार २ वर्ष पूरा भएपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्न खोज्नेछन्, अर्थात् देउवाले प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नेछन् । त्यतिबेला प्रचण्डले देउवाविरुद्ध लाखौं–करोडौं जनताको बीचमा गएर आन्दोलनको नेतृत्व गर्नुपर्ने देखिन्छ । प्रधानमन्त्रीको अभिव्यक्तिले कतै कांग्रेसलाई धम्काएर पाँचै वर्ष प्रधानमन्त्री बन्ने दाउ त होइन भन्ने प्रश्न उब्जिन्छ ।

पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले शुक्रबार विवादास्पद अभिव्यक्ति दिए । अदालतमा विचाराधीन रहेको ललिता निवास जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दाेष साबित भएको घोषणा उनले सभाबाटै गरे । माधवजीको बारेमा आफूलाई पहिल्यैदेखि टेन्सन रहेको भनेर आएको प्रचण्डको स्वीकारोक्तिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिनमा सरकारको हस्तक्षेप झल्किन्छ ।

प्रचण्डले सभामा भने, ‘माधवजी यहाँ हुनुहुन्छ । माधवजीको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भनेर बनी नै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरू विचार गर्नुहोला, औपचारिक ढंगले साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन । किनभने सीआईबीले अन्ततः उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष साबित गरेर मुद्दा चलाउनु नपर्ने भनेर लिखित रूपमै दिएपछि सधैंको टेन्सन, माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । किनकि हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन । दोषी गइरहेका छन्, निर्दोष निर्दोष साबित भएका छन् । म तपाईंहरूले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन ।’

गत साउन २४ गते आदिवासी जनजाति महासंघले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले टन्नै भोट दिएमा पहिचान पक्षधर प्रदेशको नामकरण गर्न सकिने बताए ।

उनले भने, ‘मलाई विश्वास छ, अहिलेको घटनाक्रमले एउटा नयाँ चेतना हामी सबैमा पैदा भएको छ र त्यसको बलमा पहिचान सहितका प्रदेशहरूका नामकरण गर्न सकिनेछ । त्यसमा गम्भीर रूपले विचार गर्नुहोला तपाईंहरूले पनि । शेर्पा तथा किरात जस्ता पहिचान पक्षधर नाम राख्न जत्ति सदनमा शक्ति प्राप्त हुनुपर्ने थियो, त्यो शक्ति प्राप्त भएन । त्यसैले त्यसलाई लागू गर्न सकिएन, कार्यान्वयन गर्न सकिएन । २०८४ सालमा पहिचान पक्षधरलाई टन्नै भोट दिनुस्, पहिचान पक्षधर प्रदेशको नाम सदनैबाट त्यहीँ पारित भइहाल्छ । पहिचान पक्षधर नाम भइहाल्छ ।’

प्रधानमन्त्री प्रचण्डको यस्तो अभिव्यक्तिको सत्तारुढ दल नेपाली कांग्रेसभित्रबाटै विरोध भयो । संसद् बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीज्यूले हामीले निर्वाचन जितेको खण्डमा जातीय राज्य उपलब्ध गराउनेछौ भनी दिएको सार्वजनिक अभिव्यक्ति यो संविधानको भावनाविपरीत छ । जातीय, भाषिक र धार्मिक द्वन्द्व न्यूनीकरण गर्नेभन्दा झन् बल्झाउने अभिव्यक्ति सुन्दा कतै प्रधानमन्त्रीज्यूलाई नै यो संविधान र शासन व्यवस्थाप्रति अनास्था वा अविश्वास बढेर त होइन ?’

पार्टी संसदीय दलको बैठकमा कांग्रेस नेता डा. शेखर कोइरालाले प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि पोखे । उनले भने, प्रचण्डजीले माओवादीलाई भोट दिनुस्, जिताउनुस्, जातीय राज्य हामी दिन्छौं भन्नुभयो। त्यो उहाँको पार्टीको कुरा हुन सक्ला तर उहाँले अहिले आफू गठबन्धन सरकारको प्रधानमन्त्री भएको कुरा पनि भुल्नु हुँदैन । देशको प्रधानमन्त्रीको हैसियतले त्यसरी बोल्न मिल्दैन । यो विषय आपत्तिजनक छ, कांग्रेसले खेद प्रकट गर्नुपर्छ ।’

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसद् बैठकमै भने, ‘प्रधानमन्त्रीले हाम्रो पार्टीलाई बहुमत दिनुस्, म यो देशमा जातीय राज्य स्थापित गराइछाड्छु जस्ता अभिव्यक्ति निरन्तर दिँदै आउनुभएको छ । यो अभिव्यक्ति असंवैधानिक त छँदैछ, सँगसँगै यो मुलुकमा मिलेर बसेको दाजुभाइहरूलाई आपसमा विद्वैष फैलाउने र मुलुकमा हिंसा भड्काउने देशमा अराजकता सिर्जना गराउने काममा स्वयं प्रधानमन्त्रीले मलजल गरिरहेको भएको छ । हामी गम्भीर आपत्ति व्यक्त गर्न चाहन्छौं, यो भनाइको निन्दा गर्छौं ।’

यसरी प्रधानमन्त्री प्रचण्डका अभिव्यक्ति बेलाबेला विवादमा आउने गरेका छन् । प्रचण्डले परिस्थिति अनुकूल नहुँदा देश दुर्घटनामा जाने, आन्दोलनको आँधीबेहरी ल्याउने जस्ता अभिव्यक्ति दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement