रेबिजविरुद्धको इम्युनो ग्लोबुलिन खोप सात वटै प्रदेशबाट दिइने


काठमाण्डु – कुकुरले टोकेर ठूलो घाउ बनाएको गम्भीर बिरामीलाई दिइने रेबिज विरुद्धको इम्युनो ग्लोबुलिन खोप सात वटै प्रदेशबाट दिन सुरु गरिएको छ । सातवटा प्रदेशका ९ वटा अस्पतालमा सेवा दिन सुरु गरिएको स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बिहीबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा यसअघि काठमाण्डुको शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा मात्र सिमित सेवालाई पहिलो चरणमा सातवटा प्रदेश अस्पतालमा विस्तार गरिएको जानकारी दिए ।

‘मंसिरको पहिलो साताबाट सात प्रदेशका ९ अस्पतालमा यो सेवा विस्तार गरेका छौं, आवश्यकता अनुसार अरू अस्पतालमा पनि थप्छौं,’ उनले भने । सरकारले २०३० सम्ममा रेबिजबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

उक्त लक्ष्य पूरा गर्नको लागि पनि इम्युनोग्लोबुलिन दिनु परेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले बताए । हाल नेपालमा वार्षिक १ सय जना रेबिज भएका बिरामी अस्पताल पुग्ने गरेको सरकारी तथ्याङ्क छ । ति मध्य १० देखि २० जनाको मृत्यु हुने गरेको बताइएको छ ।

सातै प्रदेशका ९ अस्पतालबाट सेवा पाइने

मंसिर ५ गतेबाटै सात वटा प्रदेशका ९ अस्पतालबाट सेवा प्रवाह हुने मन्त्री खतिवडाले बताए । उनका अनुसार प्रदेश १ को विराटनगरमा रहेको कोशी अस्पताल, प्रदेश २ को धनुषामा रहेको जनकपुर अस्पताल र नारायणी अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र भरतपुर अस्पताल चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिको सेती प्रादेशिक अस्पताल धनगढीमा सेवा विस्तार गरिएको छ ।

जीवनरक्षक ‘रेबिज इम्युनोग्लोबुलिन’ सुइ के हो ?

कुकुरलगायत जङ्गली जनावरको टोकाइको अवस्था हेरेर जटिल खालको टोकाइमा ‘इम्युनोग्लोबुलिन’ प्रभावकारी मानिन्छ । एन्टीरेबिज खोपलाई काम गर्न कम्तिमा एक हप्ता लाग्ने गर्दछ। यो बिचको अवधिमा भाइरस नसा भित्र प्रवेश गर्न सक्ने भएकोले ’रेबिज इम्युनोग्लोबुलिन’ सुइको आवश्यकता पर्ने गर्दछ।

यो सुइ घाउको वरिपरि दिने गरिन्छ र त्यहाँ रेबिजको भाइरस भए तत्काल निष्क्रिय पारिदिन्छ । टोकाइ/घाउहरु अति गम्भीर प्रकृतिका छन् भने एन्टीरेबिज खोप मात्र लगाएर घाइतेलाई बचाउन सकिँदैन । यो खोप जिवनमा एक पटक लगाए पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement