सुतेको बहाना गर्नेहरूलाई उठाउन गाह्रो हुँदो रहेछ : रक्षा बस्याल (अन्तर्वार्ता)


काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन जारी राखेको छ ।प्रधानन्यायाधीश जबराले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्दै बारले गत कात्तिक २४ गतेदेखि आन्दोलन सुरु गरेको हो ।

प्रधानमन्त्री देउवाले जबराका सम्धी गैरसांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रीमा नियुक्त गरेका थिए । देशभर चर्को आलोचना भएपछि हमालले मन्त्रीमा नियुक्त भएको तिन दिनमै राजीनामा दिएका थिए । यहीँ विषयलाई मुख्य एजेण्डा बनाएर नेपाल बार प्रधानन्याधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको हो ।

प्रधानन्यायाधीश जबराले आफन्तका लागि सरकारसँग भागबन्डा मागेकाले अब इजलासमा बस्न पाउने अधिकार नभएको बारको अडान छ । यता जबरा पनि आफू कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन् । आन्दोलन गरेको लामो समयसम्म किन बारले ठोस प्रमाण पेस गर्न सकेन ? प्रमाणको आधारमा प्रक्रिया अगाडि बढाउने कानुन व्यवसायीहरूले प्रमाण बिना आन्दोलन गर्नुको कारण के हो ? जबराको राजीनामालाई बटमलाइन बनाएको बारको आन्दोलनले हालसम्म के उपलब्धि गरेको छ ? यिनै विषयमा केन्द्रित रहेर नेपाल बार उपाध्यक्ष रक्षा बस्यालसँग काठमाण्डुपाटीका लागि टक खातीले गरेको कुराकानीको सम्पादित अंशः

प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराको राजीनामा माग गर्दै विरोधमा उत्रिएको नेपाल बार एसोसिएसनको आन्दोलन कहिलेसम्म जारी रहन्छ ?

अब हाम्रो आन्दोलन भनेको माग र पूर्तिको नियम जस्तै हो । आन्दोलनका तमाम एजेण्डाहरू छन् । हाम्रो जुन १७ बुँदे एजेण्डा छ त्यसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बर्हिगमन किन भन्ने सबै उठाएका छौँ । समग्र न्यायापालिका सुधारका लागि हुनुपर्ने सुधारहरू के–के हुन भन्ने कुरा हामीले सबै १७ बुँदेमा स्पष्ट रुपमा उल्लेख गरेका छौँ । त्यसकारण कुनै मागहरू तत्काल पुरा हुने छन् भने कुनै मागहरू पुरा हुन लामो समय लाग्ने छ । किनभने हामी त समग्र न्यायालय सुधारको लागि आन्दोलनमा उत्रिएका छौँ । त्यसकारण हाम्रो आन्दोलन कहिले सम्म जारी रहन्छ त्यो ठ्याक्कै त भन्न सकिँदैन ।

प्रधानन्यायाधीशले राजीनामा नदिने स्पष्ट पारिसक्नु भएको छ । साथै प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिपक्षी दल एमालेले पनि प्रधानन्यायाधीशको राजीनामा नआउने स्पष्ट पारिसकेको छ । यो अवस्थामा कसरी अगाडि बढ्नुहुन्छ ?

प्रधानमन्त्रीज्यूले प्रधानन्यायाधीशको राजीनामा नआउने भन्नु भएको छैन् । जती बेला हामीहरू हाम्रा आरोप पत्र लिएर उहाँलाई भेट्न गयौँ । उहाँले म गठबन्धनसँग छलफल गरेर निकास खोज्छु भन्नु भएको हो । त्यसपछि उहाँ पनि आफ्नो पार्टीको सम्मेलन तीर लाग्नु भयो । हामी आन्दोलनतर्फ लाग्यौँ र हामीले दोस्रो पटक प्रधानमन्त्रीज्यूलाई भेटेका छैनौँ । अब यता प्रमुख प्रतिपक्षी दलले चाँही के भन्नु भयो भने तपाईँहरूको मागसँग हामी सहमत छौँ ।

किनभने तपाईँहरूले जुन अदालत भित्रको भ्रष्टाचार, विकृति विसंगति विरुद्धमा कुरा उठाउनु भएको छ । तर, तपाईँहरुले उठाउनु भएको कुराहरुमा केही कमी छन् । उहाँहरुले यो भन्नु भएको हो । अब हामीहरू कसरी अगाडि बढ्ने भन्ने बारेमा नेपाल बार कार्य समितिको पुष ८ गते बैठक छ । हामी उक्त बैठकमा छलफल गर्छौं । हाम्रो आन्दोलन अनुसार हामी बिहान ११ बजे नेपाल बारको प्राङगणमा जम्मा हुन्छौँ । त्यसपछि हामी सर्वोच्चको प्राङगणमा जान्छौँ र त्यहाँ हामीले आफ्नो मागसहितका नारा लगाउछौँ, कालो पट्टि बाध्छौँ, कालो ब्यानरसहित प्रस्तुत हुन्छौँ । त्यो हाम्रो ८ गते सम्म निरन्तर हुन्छ । अब ८ गतेको  बैठकले अगामि दिनमा कसरी अगाडि बढ्ने भन्ने बारे तय गर्छ ।

तपाईँहरु त न्यायमूर्तीहरु हो । अर्थात प्रमाणको आधारमा मात्र सहि गलत छुट्याएर प्रक्रिया अगाडि बढाउने व्यक्ति हो । खोइ त प्रधानन्यायाधीशले भागभण्डा मागेको प्रमाण जुटाउन सकेको ? तपाईहरुको आन्दोलन त फगत देखियो नि ?

हामीले उठाइरहेका जुन यी मागहरू छन् । त्यो गणित होइन । हामीले हिसाबमा जस्तो रिजल्ट खोज्यौँ भने निश्चित रुपले हामी कही चुकेका हुन्छौँ । हामीले भनेका छौँ प्रधान्यायधीशज्यूले गल्ति गर्नु भएको छ । उहाँ (जबरा)ले नैतिकताको हिसाबले पनि इसलासमा बस्न पाउनु हुन्न । त्यसकारण उहाँलाई मुद्दा हेर्नबाट रोक्नु पर्छ । सर्वोच्चकै माननीय न्यायाधीशहरु पनि बेन्चमा बस्न तयार हुनुहुन्न । अर्को कुरा हाम्रो आन्दोलन कै कारणले कम्तिमा सर्वोच्चमा गोलाप्रथा लागू भएको छ । अब उहाँहरुले माघ २ गतेबाट देशभर लागू गछौँ भन्नु भएको छ । के यो हाम्रो आन्दोलनको उपलब्धि हैन र ? यो उपलब्धिले के देखाउँछ भने हाम्रो आन्दोलन उपलब्धि मुलक रुपमा अगाडि बढिरहेको छ । हामीले उठाएका मागहरू जायज छन् भन्ने त देखिरहेको छ ।

त्यसाे भए तपाईंहरुले प्रधानन्यायाधीशमाथि लगाएका आरोपहरु किन प्रमाणसहित पेश गर्न सक्नु भएन् ?

यो जुन अहिलेको कुरा उठिरहेको छ यो समग्र राज्य प्रणालीको कुरा हो । अदालत भित्र के विकृती छैन त ? के भ्रष्टाचार र अनियमितता छैन ? त्यो त तपाई हामीले खुलेआम देखिरहेका छौँ । सामान्य एउटा मुद्दाको तारिक लिने ठाउँमा तारिक लिने मान्छेहरु धुरुधरु रोइरहेका छन् । त्यसको जिम्मेवारी कसले लिने ? के त्यो प्रमाण होइन ? त्यो बदमासी कसले गर्छ त्यो आफ्नो ठाउँमा छ । तर त्यसको जिम्मेवारी न्यायपालिकाको प्रमुख भएका कारणले प्रधानन्यायाधीशज्यूले लिनु पर्यो । अनी प्रमाण भनेको त्यहीँ हो नी । अदालत भित्र भ्रष्टाचार भइरहेको छ त्यो हामीले भनिरहेका छौँ । भ्रष्टाचार भएको तपाईँहरुले पनि देखिरहनु भएको छ । अब भ्रष्टाचार कति भयो भनेर कसैलाई बढी थाहा होला कसैलाई कम । अनी उहाँकोे आफ्नो कार्यकालमा भएका मुद्दाहरुका गलत फैसलाको जिम्मेवारी जबराज्यूले नै लिनु पर्छ । अब यी सबै कुराहरु केलाउँदा के यीनै प्रमाण होइनन् र ?

तपाईलाई मैले थोरै स्मरण गराए । पछिल्लो समय जसरी तपाईँहरुले प्रधानन्यायाधीशको राजीनामा बटमलाइन बनाउनु भएको छ । जतिबेला भ्रष्टाचार संस्थागत हुँदैछ भनेर अदालतमा प्रतिवेदन आएको थियो त्यतिबेला आन्दोलन गर्नु भएन । तपाईँहरुले भष्ट्राचारको विरुद्धमा आवाज उठाउनु भएन । जब गठबन्धनसँग मिलेर आफ्नो नातेदारलाई मन्त्री बनाइयोे भन्ने विषय आयो त्यसपछि मात्र तपाईंहरु प्रधानन्यायाधीशको राजीनामाको पछि लाग्नुको कारण के हो ?

हामीले माननीय न्यायाधीश हरि कृष्ण कार्कीज्युको निवेदन आएपछि मात्रै आन्दोलनको कुरो गरेको होइन । यो भन्दा करिब अढाई वर्ष अगाडि फर्केर हेर्यो भने जुन दिन हामीले नेपाल बार एसोसिएसनको पदभार ग्रहण गरेर सपथ खाँदै थियौं । पहिलो मिटिङबाटै हामीले न्यायपालिकामा यो यो कमि छ । न्यायपालिकालाई सुधार्नु पर्छ । हामीले हाम्रो कार्यकालमा यो अभियान सुरू गर्नु पर्छ भनेर चाहीँ हामीले पहिलो बैठकमा छलफल गर्यौं र त्यो लगेर प्रधानन्यायाधीशज्युलाई भेट्न गयौँ । त्यो भेटवार्ता निरन्तर रह्यो । हामीले पटक-पटक विज्ञप्ति निकालेर न्यायपालिकामा सुधार जरुरी छ भनेर कुरा राख्यौँ ।

माननीय हरि कार्कीज्यु त प्रधानन्यायाधीश जबराले गठन गरेको समिति हो । पछिल्लो समयमा आएर के भयो भने त्यहि समितिले समेत हाम्रा कुरा लगायतका कुराहरु राखेर आदातल भित्र विकृती , विचौलिया, भ्रष्टाचार भइरहेको छ भनेर कार्कीको प्रतिवेदन बोल्यो । बोलिसकेपछि हामी फेरि जबराकोमा गयौँ र भन्यौँ तपाईँले गठन गरेको समितिले यति कुरा बोलिसके पछि त्यसको सुधारको लागि पहल गरिदिनु पर्यो ।

हामी पटक-पटक गयौँ तर जबराज्यूले हाम्रा कुराको सुनुवाई गर्नु भएन । तर उहाँले एउटा कार्यक्रममा तपाईहरुको प्रतिवेदन अहिले लागू हुदैन भन्नु भयो । त्यसपछि मात्र नेपाल बारले महशुस गर्यो की जबराज्यूले यो कुरा गर्न सक्दैनन् । न्यायायलयमा सँधैभरि यस्तै हुन्छ भन्ने लाग्यो अनी मात्र हामी आन्दोलनमा उत्रियौँ ।

यदि प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गर्ने, घुस नदिए पछि न्यायाधीशलाई काजमा पठाइदिने लगायतका काम गरेको आरोप लगाउनु भएको छ यसले त काले काले मिली खाउ भाले जस्तै देखियो नि । जतिबेला विज्ञप्तिबाट खबरदारी गर्नु हुन्थ्यो त्यति बेला यी बिषय आएनन् । जब एउटा विवाद उठ्यो । त्यहि विवादलाई अगाडि बढाउनुभयो नि । यसलाई स्वकार्न तयार हुनुहुन्छ नि ?

त्यस्तो होइन् । म बिलकुलै के कुरा स्वीकार गर्दिन भने यो काले काले मिलेर खाउँ भाले । हामी के भाले खान सक्छौँ ? हामी त एउटा लयर हो । न्यायपालिका एउटा महत्वपूर्ण अंग हो । फरि अर्को यो भ्रष्टाचार पहिले देखिनै थियो तर थोरै थोरै थियो । पानी उम्लनको लागि एउटा निश्चित तापक्रम चाहिन्छ । हो हाम्रो आन्दोलन पनि त्यही हो ।

जबराज्युको भागबन्डा आउनु भन्दा अगाडि पनि हामीले भित्रभित्रै आवाज उठाएका थियौँ तर आज जसरी मिडिया कभरेज भएको छ नी त्यति बेला हामीले मिडिया कभरेज गरेका थिएनौँ । हामी नारा जुलुस, आन्दोलन तर्फ लागेनौँ । किन भने हामी न्यायालय भित्रको कुरा न्यायालय भित्रै समाधान गर्न खोजिरहेका थियौँ । तर त्यो हाम्रो प्रयास सम्भव भएन । यस्तो हुँदो रहेछ सुतेकालाई उठाउन वास्तवमै सजिलो हुँदो रहेछ । तर सुतेको बाहाना गर्नेहरुलाई उठाउन सारै गाह्रो हुँदो रहेछ । अहिले हामीलाई भएकै यही हो ।

तपाईँहरुले आन्दोलन गरेको यत्रो समय भयो तर आन्दोलनले त प्रधानन्यायाधीश गले जस्तो देखिनु भएन । अब सँधैभरि यसरी नै न्यायालयमा चर्तिकला देखाइरहनु हुन्छ की प्रमाण जुटाउन लाग्नुहुन्छ ?

एउटा कुरा के हो भने यो हाम्रो आन्दोलन कुनै चर्तिकला होइन । यो सत्य हो । यो विल्कुलै नाटक पनि होइन । चत्रिकला पनि होइन । र यो वकिलको मात्रै आन्दोलन होइन । यो समग्र राज्य व्यवस्थालाई सुधार्नको लागि गरिएको आन्दोलन हो । न्यायालय भनेको राज्यको महत्व पूर्ण अंग भएकाले भोलीको दिनमा कुनै जनता अन्यायमा नपरुन भन्ने उदेश्यले गरिएको आन्दोलन हो । न्याय दिलाउनको लागि गरिएको आन्दोलन हो । अब हाम्रो पेसाको हिसाबले हेर्ने हो भने हामी लयर भनेका त क्लियर पेसा गर्नेहरु हौँ ।

हामी भनेका त फि लिएर काम गर्ने मान्छे हो । त्यसकारण आफ्नो मुद्दाको पक्षलाई भोलिको दिनमा सहज न्याय दिलाउनको लागि गरिएको आन्दोलन हो । न्याय प्रणाली सुधार्नका लागि हामीले आन्दोलन गर्न जरुरी थियो । यो हाम्रो मात्र आन्दोलन होइन । यो सम्पूर्ण नेपालीको आन्दोलन हो । हामी त देशमा सुधार चाहिरहेका छौँ । हामीले यो आन्दोलन कुनै व्यक्तिको लागि गरिरहेका छैनौँ । त्यसकारण प्रमाण खुलेआम छन् । प्रधानन्यायाधीश ज्युले राजीनामा नदिएसम्म आन्दोलन जारी रहन्छ । हाम्रो आन्दोलन उपलब्धि मुलक अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement