बाध्यात्मक अवस्था बाहेक लकडाउन हुँदैनः डा. समिर अधिकारी (अन्तर्वार्ता)


काठमाण्डु – भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित बढेसंगै नेपालमा पनि संक्रमणकाे जाेखिम बढेको छ । हालै मात्र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेका छन् ।

नेपालको छिमेकी मुलुक भारतसंग खुला सीमा भएकाले पनि भारतमा बढ्ने संक्रमणले नेपालमा पनि जोखिम निम्तिने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । प्रस्तुत छ सोही विषयमा केन्द्रीत रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवत्ता डा. समिर कुमार अधिकारीसंग काठमाण्डुपाटीका लागि प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंशः

छिमेकी मुलुक भारतमा ओमिक्रोन भाइरसको संक्रमण बढ्दाे क्रममा छ । नेपालमा ओमिक्रोन नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको तयारी कस्तो छ ?

छिमेकी मुलुक भारतमा त्यो पनि हाम्रो देशको सिमाना जोडिएको राज्यहरुमा फैलिएको भनेपछि त्यसले हामीलाई चाँडै प्रभावित पार्ने हुन्छ । यसकालागि स्वास्थ्य मन्त्रालयले निगरानी गर्ने कुराहरु क्वारेन्टाइनमा राख्ने कुराहरु अगाडी बढाएको छ । यसका अलवा हामीले सम्भावित जोखिमहरुलाई मध्यनजर गर्दै स्वास्थ्य जोखिम सिर्जना नहोस् भनेर खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाएका छौँ ।

सरकारले खोप कार्यक्रम प्रभावकारी भएको बताउँदै आएको छ । तर, खोप अभियान प्रभावकारी भएन भन्ने जनगुनासो पनि छ नि ?

अहिले हामीले खोप अभियानलाई तिब्र बनाएका छौँ । विद्यालय–विद्यालयमा पुगेर पनि अभियान चलाइरहेका छौँ । खोपबाट कोही पनि बञ्चित नहोउन भनेर ब्यापक रुपमा अभियानको प्रचार प्रसार गरिरहेका छौँ । खोप लगाउनुपर्ने कारणबारे हामीले जनचेतना जगाइरहेका छौँ । काठमाण्डु उपत्यकाकै कुरा गर्नुहुन्छ भने १८ वर्षमाथिका सबै नागरिकका लागि लक्षित गर्दै विभिन्न २४ वटा खोप केन्द्रमा खोप लगाउने काम सुरु भएको छ। अन्य जिल्लाहरुमा पनि खोप अभियान चलिरहेको छ ।

सरकारले चैतसम्ममा सबै नेपाली नागरिकलाई खोप दिने घोषण गरिसकेको छ । त्यो घोषणा सफल होला त ?

हामी प्रयत्नरत छौं । खोपको भण्डारण पनि बढाएका छौँ भने खोप आउने क्रमपनि जारी छ । खोप अभियान पनि हामीले चलाइरहेका छौँ । मलाई लाग्छ हामी हाम्रो लक्ष्य अनुसार अघि बढ्न सक्छौँ । सरकारले घोषणा गरेअनुसार चैतसम्म खोप लगाउनुपर्ने सबै नेपालीलाई खोप लगाइसक्छौं भन्ने छ ।

केही दिन अघि मात्र भारत सरकारले ओमिक्रोन नियन्त्रणका लागि खोप मात्र पर्याप्त होइन भनेको छ ? साच्चिकै ओमिक्रोन नियन्त्रणका लागि खोप पर्याप्त होइन त ?

खोप मात्रै त पक्कै पनि पर्याप्त छैन । खोप संगसंगै हामीले जनस्वास्थ्यका मापदण्ड त पालना गर्नुनै पर्छ । अझ विशेषत: धेरै कुराहरु थाहा नभएको ओमिक्रोन नियन्त्रणका लागि सबै लाग्नुपर्छ । यसको संक्रमण रोकथाप र नियन्त्रणको उपाए भनेको जनस्वास्थ्यको मापदण्ड नै हो । यसमै हामी केन्द्रीत भएर काम गर्नुपर्छ । यसमा चाँही कुनै निकाय भन्ने हुँदैन मास्क लगाउने तपाई हाम्रै काम हो । भौतिक दुरी कायम गर्नु हाम्रो काम हो । क्वारेन्टाइनमा बस्नु हाम्रै काम हो । यसमा किन लगाउने किन बस्ने भनेर बुझाउने काम स्वास्थ्य मन्त्रालयले गरिरहेको छ । यसमा सञ्चारमाध्यहरुले पनि सहयोग गर्नुभएको छ । विद्यमान नीतिगत व्यवस्थाअनुसार हामीले काम गरिरहेका छौँ तपाइले भने जस्तै यसलाई अलि तिब्रता बढाउनुपर्ने छ ।

नेपालमा पनि ओमिक्रोन संक्रमित पुष्टि भयो भन्ने समाचार आइसकेपछि अहिले धेरैको चासो फेरी लकडाउन होला त भन्ने छ ?

अहिले हामी त्यो लकडाउनको सन्दर्भमा कुनै छलफल गरेका छैनौँ । हाम्रो अपेक्षा त्यहाँसम्म जान नपरोस् भन्ने पनि हो । लकडाउनको धेरै किसिममा नकारात्मक प्रभावहरु पनि छन् । त्यो एकदम अन्तिम अवस्थामा हामीसंग स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्था सिर्जना भयो । हाम्रा पूर्वाधारले केही गर्न नसक्ने अवस्था आयो भने ति पूर्वाधारहरुको व्यवस्थापन गर्न संक्रमण रोक्न लिइने बाध्यात्मक अवस्था हो त्यो ।

संक्रमण भयावह भयो भने हामीसंग भएको स्वास्थ्य संरचना पर्याप्त र व्यवस्थित छ त ?

अस्पतालहरुको व्यवस्थापनका सन्दर्भमा हामीले दोस्रो लहरको चुनौतिपूर्ण अवस्था भोग्यौं त्यसपछि को अवस्थालाई हेर्यौं भने पूर्वाधारमा धेरै व्यवस्थापन भएको छ । संगसंगै हामीले अस्पतालहरुलाई डेडिकेटेड रुपमा व्यवस्था पनि गरेका छौँ त्यहाँ भएका पूर्वाधारहरुको मर्मत सम्भार गर्ने होकी त्यहाँ भएका कर्मचारीहरुलाई तालिम दिने हो हामीले गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस
Advertisement