माओवादीमा प्रचण्ड बाहेक नेतृत्व हाक्न सक्ने नेता छैनन्ः शिवकुमार मण्डल (अन्तर्वार्ता)


काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को आठौँ  राष्ट्रिय महाधिवेशन काठमाण्डुमा जारी छ । आइतबारदेखि काठमाण्डुमा जारी महाधिवेशन अन्तर्गत माओवादी केन्द्रले नेतृत्व चयन भन्दा पनि नीतिलाई महत्व दिएको छ ।

सुरुमा माओवादी केन्द्रले राष्ट्रिय सम्मलेन गर्ने जनाएको थियो तर, अन्तिममा आएर आठौँ राष्ट्रिय महाधिवेशनमा होमिएको हो । आठौँ  महाधिवेशन अन्तर्गत नीति नियमलाई प्राथमिकतामा राखेको माओवादी १० वर्ष विद्रोह गरेर शान्ति प्रक्रियामा आएको १५ वर्ष भयो ।

शान्ति सम्झौता गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राखेका बुँदाहरू भने १५ वर्ष सम्म पुरा हुन सकेका छैनन् । तर पनि माओवादी केन्द्रले आठौँ महाधिवेशनमा नेतृत्व भन्दा नीति नियमलाई प्राथमिकतामा राखेको दावी गरेको छ । अर्कोतर्फ अध्यक्ष प्रचण्डले आफूलाई फेरि पनि नेतृत्व सम्हाल्ने चाहना नभएको बताई रहेका बेला फेरि पनि उनी अध्यक्षमा चयन हुने पक्का भएको छ ।

यसर्थ माओवादीको नेतृत्व हाक्न सक्ने प्रचण्डबाहेक अर्को व्यक्ति पार्टीमा नभएकै हो ? माओवादी केन्द्रले नेतृत्व चयन भन्दा पनि नीति, विचारलाई प्राथमिकतामा राख्नुको कारण के हो ? पछिल्लो समय कमजोर धरातलमा पुगेको भनेर विश्लेषण गरिएको माओवादी क्रान्तिकारी तर्फ जान आठौँ महाधिवेशनबाट कस्तो विधान ल्याउला ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री शिवकुमार मण्डलसँग काठमाण्डुपाटीका लागि टक खातीले गरेको कुराकानीको सम्पादित अंशः

राष्ट्रिय सम्मेलन गर्ने भनेर बडो प्रचार गर्नु भयो । तर, अन्तिममा आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत गर्नु भयो किन ?

अब मुख्य त नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नै गर्ने पूर्व तयारी भएको थियो । हामीले स्थानीय तहदेखि प्रदेशसम्म जुन सम्मेलन गर्यौं । त्यो अधिवेशनकै तयारी स्वरुप भयो । अन्ततः सम्मेलन गरिरहँदा पाँच वर्ष भित्रै अधिवेशन गर्नु पर्ने कानुनी बाध्यता पनि रहेको अवस्था, त्यसकारण यो सम्मेलनलाई अधिवेशनको रूप दिनको लागि कुनै समस्या पनि भएन । सबै तहमा जुन हामीले अधिवेशन गर्दै आयौं । राजनीतिक प्रतिवेदन पेश गर्यौं । समूहगत छलफलका साथै विचारमा पनि छलफल हुँदै आएको कारणले यो सम्मलेनलाई अधिवेशनकै रूप दिँदा सजिलो पनि भयो । अर्को तर्फ चाहिँ पार्टीको विधान अनुसार पनि हामीले महाधिवेशन गर्नुपर्ने नै थियो । साथै यो महाधिवेशनले हामीलाई माथि पनि उठाउने लगायत सबै हिसाबले महाधिवेशन गर्न उपयुक्त भएका कारणले हामी अन्तिममा आएर यो निर्णयमा पुग्यौँ ।

माओवादीले आठौं महाधिवेशनलाई नेतृत्वको होड बाजी गर्नु भन्दा पनि नीतिलाई बढी प्राथमिकता दिने भनेको छ । अर्कोतर्फ माओवादी कमजोर धरातलमा पुगेको भनेर विश्लेषण गरिएको छ । यसकारण माओवादीलाई क्रान्तिकारी बन्ने चुनौती छ । यसका लागि यो महाधिवेशनले के गर्नुपर्छ ?

हामीले व्यक्तिलाई होइन बिचारलाई प्राथमिकता दिन्छौँ । नेकपा माओवादी केन्द्र पद पाउने लालचको लागि दौडधुप गर्दैन । हामी विचार र नीतिलाई प्राथमिकतामा राखेर अगाडि बढ्छौँ । अरु पार्टीमा पदको लागि नेताहरु के के गर्छन् भनेर हामीले देखेकै छौं । आफ्नो स्वार्थको लागि मात्र राजनीति गर्दछन् । त्यसकारण ती दलहरुको महाधिवेशनमा नीति भन्दा पनि नेतृत्वलाई महत्त्व दिएको हुन्छ । तर, नेकपा माओवादी भनेको जनताको हितका लागि सधैँ विचारलाई शीरमा राखेर अगाडि बढ्ने पार्टी हो । त्यसकारण जुन यो जारी आठौँ महाधिवेशन पनि नेतृत्वका लागि हैन फेरि नयाँ बिचार र नीति ल्याउनको लागि गरिएको हो ।

त्यसर्थ हामीले भन्दै गरेको अबको समाजवादी आन्दोलनलाई कसरी माथि उठाउने, समाजवादी आन्दोलनका आधारभुत कुराहरु जनताको जिवनस्तरसँग जोडिएका कुराहरु, अहिले हामीले उठाउनु पर्ने मुद्दाहरुबारे यो महाधिशेनले तय गर्नेछ । हुनपनि हो पछिल्लो समय नेकपा माओवादी केन्द्र कमजोर धरातमा पुगिएको भनि विष्लेशण गरिएको छ । तर वास्तममा माओवादी कमजोर धरातमा पुगेको छैन् र पुग्ने पनि छैन् । हामी देश र जनताको हितका लागि क्रान्ति गरेर आएका योद्धा हौँ । अब यो महाधिवेशनले नेकपा माओवादी केन्द्र कमजोर धरातलमा पुगेको भनेर गरिएको विश्लेषणलाई गलत सावित गर्नेछ । त्यसकारण हामी व्यक्ति होइन् बिचारलाई प्राथमिकता दिन्छौँ । राजनीतिक प्रणाली बदलियो, देशको शासन प्रणाली बदलियो तर जनताको जिवन स्थर उस्तै छ । समग्रमा भन्नु पर्दा यो आठौँ महाधिवेशनले चाँही निम्न वर्गका जनताको जिवन स्थर कसरी माथि उठाउने, स्वास्थ्य, शीक्षा, रोजगार, देशको अर्थतन्त्र, अन्यदेशहरुको सम्बन्ध कसरी बलियो बनाउने भन्ने आन्दोलन ल्याउने छ ।

तपाईँले जुन अहिले निम्न वर्गका जनताको जिवनस्थर माथि उठाउने कुरा गर्नु भयो । १० वर्ष विद्रोह गरेर शान्ति प्रक्रियामा आएको १५ वर्ष भयो । तर जनयुद्धमा जिवन त्यागेका परिवारले र घाइते भएका हरुलेसमेत राहत पाउन सकेका छैनन् । शान्ति सम्झौता गर्दा खेरि प्रचण्डले जे कुरा राख्नु भएको थियो । यत्रो वर्ष सम्म किन पुरा हुन सकेनन् ?

होइन मलाई लाग्दैन् त्यस्तो के कुरा पुरा भएन । अब हामीले भनेका कुराहरु कतै छुटेका होलान् । हामीले बोलेका सबै कुरा पुरा भएका नहोलान् । यी कुरा पुरा नहुनुको पनि कारण छ । हामीले राखेका सबै कुरा संविधानमा व्यवस्था गर्न सकेनौँ । र अर्को तर्फ चाहिँ संविधान सभाको निर्वाचन पछि बनेको संविधानले हाम्रा मागहरु पुरा गरेन । अब यसमा हाम्रो के दोष । त्यसकारण अहिले पनि कतिपय कुराहरु पुरा भएका छैनन् । त्यसैले अब पुरा नभएका कुराहरुलाई पुरा गर्नको लागि कसरी अगाडि बढ्ने भन्ने कुरा यो आठौँ महाधिवेशनले तय गर्नेछ । जसरी हामीले जनयुद्धबाट उठाएका मुद्दाहरु मध्ये जस्तै राजनीतिक परिर्वतन भएको छ । समावेशी व्यवस्था, लोकतन्त्र, नयाँ संविधान ल्याउन सफल भएका छौँ । दलित जनजातिका मुद्दाहरुलाई हामीले सम्वोधन गरेका छौँ । अब हामीले सबै कुरा त पुरा गर्न नसकेका हौँला तर केहीँ कुरा त पुरा गरेका छौ नी । हामीले बोलेका कुराहरु पुर्णरुपले पुरा गर्नको लागि हाम्रो छलफल चलिरहेको छ । हामी चुप लागेर त बसेका छैनौँ । अब छुटेका आधारभुत कुराहरु पुरा गर्नको लागि यो जुन बिचारलाई प्राथमिकतामा राखेको आठ औँ महाधिवेशनले कार्य योजना बनाउने छ ।

नेकपा माओवादी केन्द्रको नेतृत्व ३० वर्षदेखि प्रचण्डले गर्दै आउनु भएको छ । अब नेतृत्व हस्तान्तरणको विषय सबै दलहरुमा उठिरहेको छ । माओवादीलाई नेतृत्व हस्तान्तरण आवश्यक छ कि छैन् ?

अब मलाई के लाग्छ भने प्रचण्ड ज्युको सहयोगीको रुपमा उहाँको पुरक त थुर्पै कमरेड छन । तर असल, सक्षम र कुशल नेतृत्व आवश्यक पर्दछ । त्यसकारण अध्यक्षको लागि प्रचण्ड ज्युबाहेक अन्य कमरेडहरु उपयुक्त छैनन् । अध्यक्ष प्रचण्डकै नेतृत्वमा समिति गठन गर्ने । अब अध्यक्ष बाहेक जुन पदमा कमरेडहरु हुनुहुन्छ । उहाँहरुलाई चाँही कहीन कहिँ तलमाथि गरेर एउटा सक्षम टिम बनाएर जाँदाखेरि राम्रो हुन्छ । त्यस कारण विचारको हिसाबले र एउटा सक्षम नेतृत्वको आवश्यक रहेकाले अध्यक्षमा प्रचण्ड नै आउनुहुन्छ । नेकपा माओवादीलाई हाल अध्यक्ष पदको हस्तान्तरण गर्न आवश्यक छैन् ।

प्रचण्ड स्वयमले म नेतृत्वमा बसिरहन त चाहना छैन् भन्नु भएको छ । तर पनि फेरि अध्यक्षमा प्रचण्ड नै आउने निश्चित नै छ । यसको कारण माओवादीमा नेतृत्व हाक्न सक्ने नेता छैन् भन्न मिल्छ की नाई ?

होइन नेतृत्व हाक्न सक्ने नेता छैन् भन्ने अवस्था त छैन् । नेताहरुको त विकास भइरहेको छ । अध्यक्ष कमरेडलाई साथ सहयोग गर्ने नेताहरु त छँदै छन् । तर अहिले चाँही तत्काल नेतृत्व हस्तान्तरण गर्न कुनै आवश्यक पनि छैन् । अब प्रचण्ड ज्युले खुला दिलले पार्टीको नेतृत्व गर्न सक्ने व्यक्ति आउनुहुन्छ भने त्यसमा मेरो कुनै समस्या छैन् भन्नु भएको छ । तर हामीले चाँही प्रचण्ड कमरेडलाई नेतृत्व भन्दा बाहिर सोच्न सक्ने अवस्था छैन् । प्रचण्ड माओवादीको नेतृत्व मात्र नभई देशकै नेतृत्व सम्हाल्ने व्यक्ति हुन् । अहिले देश र जनतालाई प्रचण्डको नेतृत्वको खाँचो छ । प्रचण्ड नामका व्यक्ति धेरै जन्मन्छन् तर प्रचण्डको जस्तो सक्षम, कुशलता, बिचार भएको व्यक्ति अब यो संसारमा कोही जन्मदैनन् । प्रचण्ड मात्र एक हुन्छ । त्यस कारण माओवादीमा तत्काल प्रचण्डबाहेक नेतृत्व हाक्न सक्ने कमरेडहरूको विकास भएको छैन् ।

अध्यक्षबाहेक अन्य पदाधिकारीको चयन सहमतिबाट हुन्छ की चुनावमा जानुहुन्छ ?

नेकपा माओवादी बिचारलाई प्राथमिकता दिने पार्टी भएकाले नेतृत्व छनोट गर्नको लागि सहमतीबाटै हुन्छ । जनयुद्धदेखि कमरेडहरुले के कस्तो योगदान दिएका छन् । त्यो अनुसार सहमतिबाटै पद पाउनुपर्छ । अव पदको लागि चुनावै गनुपर्ने अवस्था पनि आउदैन् । मलाई जहासम्म लाग्छ कमरेडहरूको योगदानका अनुसार नेतृत्व छनोट हुन्छ । नेकपा माओवादी केन्द्रमा यसको लागि कुनै विवाद हुँदैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement