पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको अवसान!


काठमाण्डु- नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा ६९ वर्षीको उमेरमा निधन भएपछि दिउँसो उनको अन्तिम बिदाई गरिएको हो । त्यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखेएको थियो। सीतालाई पति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरू रेणु र गङ्गाले दागबत्ती दिएका थिए।

पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो। त्यस्तै, आर्यघाटमा मन्त्रीहरू, सरकारी अधिकारी, नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।

‘प्रचण्डकी राजनीतिक सारथी’
२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीता २०२६ सालमा प्रचण्डसँग विवाह बन्धनमा बाँधिइन्। उनी पछिल्लो समय पार्टीको सल्लाहकारको भूमिकामा थिइन्। एक गृहिणीबाट भूमिगत राजनीतिमा सक्रिय सहभागी भएर पार्टी सदस्य हुँदै केन्द्रीय सदस्य र सल्लाहकारको भूमिकामा पुगेकी सीतालाई पहिलो पुस्तामा अधिकांशले भाउजू र दोस्रो-तेस्रो पुस्ताका नेताले आमा भनेर सम्बोधन गर्ने गरेका थिए। उनै सिताको निधनसँगै प्रचण्ड र सिंगो पार्टीले एक अभिभावक गुमाएको छ ।

दाहालले पार्टी कामका सिलसिलामा पञ्चायतकाल र माओवादी द्वन्द्वका बेला “भूमिगत जीवन“ बिताउँदै “सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। माओवादी युद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै सीताले सिंगो पार्टीको अभिभावकका रूपमा समन्वयकारी भूमिका निर्वाह गरेकी छिन्। अझ पुष्पकमल दाहाललाई प्रचण्डदेखि प्रधानमन्त्रीसम्म बनाउनुमा पनि सिताको ठूलो साथ छ।

देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई समय-समयमा सचेत गराउने तथा पार्टीभित्र संकट चुलिएको बेला पार्टीका शीर्ष नेताहरूलाई पार्टी विभाजन नगर्न चेतावनी उनले दिने गर्थिन्।

पारिवारिक वियोगको शृंखला
प्रचण्ड दम्पतीका तीन छोरी र एक छोरा गरी चार सन्तान रहेकामा एक छोरा र एक छोरीको निधन भइसकेको छ। ६ वर्षअघि २०७४ मंसिर ३ गते पनि प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको निधन नर्भिक अस्पतालमै भयो। प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत जीवनमा पारिवारिक वियोगको यो तेस्रो बज्रपात हो। १० वर्षअघि २०७० चैत १३ गते जेठी छोरी ज्ञानुको क्यान्सरबाट निधन भएको थियो। एक्कासि छोरीको निधनले विक्षिप्त भएकी सितालाई पार्किन्सन जस्तो रोगको लक्षण देखिन थालेको थियो।

२०७४ मंसिर १० र २१ गते तय भएको प्रतिनिधिसभाको निर्वाचन आउन एक हप्ता बाँकी हुँदा २०७४ मंसिर ३ प्रचण्ड-सीतालाई अर्को बज्रपात पर्‍यो। उनीहरूले आफ्नो एकमात्र छोरा गुमाउनुपर्‍यो। लाजिम्पाटमै घरमा सुतिरहेका बेला छोरा प्रकाश दाहालको निधन भयो । छोरोको मृत्युपछि सीता झन् विक्षिप्त भइन् । एकपछि अर्को सन्तान गुमाउँदाको पीडा नै सीताको रोग बल्झाउने कारण बन्यो । उनी दैनिक शिथिल बन्दै गइन् ।

पुत्र वियोगपछि नाजुक अवस्थामा पुगेकी सिताको उपचारका लागि प्रचण्डले भएजतिका सबै उपाय अपनाए तर कुनै उपाय पनि सार्थक सिद्ध हुन सकेन। पछिल्ला केही बर्षयता नै सिता जीवन र मरणको दोसाँधमा थिइन्। अन्ततः उनी यो संसारबाट बिदा भएकी छिन्।

प्रतिक्रिया दिनुहोस
Advertisement