तनहुँ १: सत्ता गठबन्धनका भट्टराईलाई एमाले र रास्वपाका उम्मेदवारको चुनौती, कसले मार्ला बाजी ?


काठमाण्डु- प्रतिनिधिसभाका तीन क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ  । जसअनुसार बैशाख १० गते चितन २, बारा २ र तनहुँ १ मा उप निर्वाचन हुन लागेको हो । यी   तिन क्षेत्र मध्ये तनहुँ १ बढी चर्चामा छ ।

सत्ता गठबन्धनको ध्यान यति बेला तनहुँ १ मा छ । गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा सत्ता गठबन्धनले कांग्रेसबाट नै उम्मेदवार बनाएको छ ।

कांग्रेसका उम्मेदवार जिताउन कांग्रेसमात्र होइन, सत्ता गठबन्धनका शीर्ष नेताहरू नै लागिपरेका छन् । त्यसकारण अन्य दुई क्षेत्र मध्ये यो तनहुँ १ बढी चर्चामा छ । यस क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराई सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुन् ।

यता नेकपा एमालेले सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार भट्टराईलाई एमालेका खनाल र रास्वपाका वाग्लेको चुनौति छ । यी तीन उम्मेदबार मध्ये कसले चुनाव जित्छ भन्ने कुनै आँकलन गर्न सकिने अवस्था पनि छैन । बैशाख १० गते यी तिनै उम्मेदबारबीच कडा प्रतिस्पर्धा हुने देएको छ ।

त्यसकारण मंसिर ४ गतेको नतिजालाई उल्टिन नदिन नेपाली कांग्रेसका नेताहरु भट्टराईलाई भोग माग्न यस क्षेत्रमा रात दिन खटिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको नजर अन्य निर्वाचन क्षत्र मध्ये तनहुँमा छ । जसअनुसार कांग्रेस उम्मेदवार भट्टराईका पक्षमा मत माग्न कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार तनुहुँ पुगेर भट्टराईका लागि भोट मागे ।

यसभन्दा अघि कांग्रेस नेताहरु शेखर कोइराला, धनराज गुरुङ, मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायतले पनि तनहुँ पुगेर भट्टराईका लागि भोट मागेका थिए । तनहुँ १ मा कांग्रेसका केन्द्रीय नेताहरुको नजर मात्र होइन सत्ता गठबन्धनकै शीर्ष नेताको नजर छ । आज भट्टराईका लागि भोट माग्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज तनहुँ जाँदैछन् ।

सत्ता गठबन्धनका शीर्ष नेता नै भोग माग्न तनहुँ पुग्ने भएपछि यहाँको चुनावी माहोल रोचक बनेको छ । गत मंसिर ४ गते भएको निर्वाचनको नतिजालाई हेर्दा नेपाली कांग्रेसको पक्षमा माहोल देखिन्छ । तर, उपनिर्वाचनमा भने एमाले र रास्वपाको उम्मेदवार बलिया देखएका छन् । त्यसकारण सत्ता गठबन्धनका साझाँ उम्मेदबार भट्टराईलाई चुनाव जित्न सहज छैन् ।

गत आमनिर्वाचनमा कांग्रेसबाट टिकट लिने प्रयास गरेका अर्थशास्त्री वाग्ले सभापति देउवासँग दूरी बढ्दै गएपछि रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यता एमालेका सर्वेन्द्र भने गत मंसिरको निर्वाचनमा काठमाण्डु ६ बाट पराजित भएका पूर्व आईजीपी हुन् ।

गत मंसिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेल २५ हजार ३ सय ६१ मतका साथ निर्वाचित भएका थिए। दोस्रोमा एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत ल्याएका थिए। कांग्रेसका पूर्वसहमहामन्त्री जोशीले स्वतन्त्र लडेर ६ हजार ८ सय ८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।

समानुपातिकतर्फ कांग्रेसले २० हजार १ सय ५८, एमालेले १६ हजार ६ सय ८३, रास्वपाले १२ हजार ७ सय ७३, माओवादीले ७ हजार ३ सय २६, राप्रपाले ३ हजार ५ सय ७७, एकीकृत समाजवादीले ९ सय ५० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement