यी हुन् ‘ट्याक्स हेभन’ मुलुकमा सम्पत्ति लुकाउने १६ नेपाली


कृष्ण आचार्य र रामु सापकोटा

काठमाण्डु – गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिद–बिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको छ ।

आईसीआईजेसहित विश्वभरका १४० भन्दा बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासा अनुसार, नेपालका दुई ठूला व्यापारिक घराना– चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिहरू समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।

अमेरिकाको वासिङटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजातअनुसार प्रतिनिधि सभा सदस्य तथा नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको छ । ती कम्पनीहरू विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा छन् ।

यस्तै अफशोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि छ। गोल्छा अर्गनाइजेसन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमै कम्पनी छ ।

त्यसैगरी खोपके नेपालकै यसअघिको खुलासा नेपालिक्समा उल्लेख भएका नेपाली नागरिकहरू अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनीहरू पनि सञ्चालनमा रहेको तथ्य फेला परेको छ।

यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायीहरू– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न पाइन्न। आयकर ऐन–२०५८ ले ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी व्यवस्था गरेको छ । ’यो व्यवस्था अनुसार कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले विदेशमै आम्दानी गर्छ भने त्यहाँ लगानी गर्न पाउँछ,’ पूर्वअर्थ सचिव रामेश्वर खनाल भन्छन्, ’यसबाहेक नेपाली नागरिकको विदेशमा लगानी गैरकानुनी हो।’

अर्थात् ‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन्। ऐनविपरीत काम गरेमा ‘बिगोबमोजिम जरिवाना, ६ महिना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।

गैरआवासीय नेपालीले पनि कर छली गर्न सजिलो मानिने, सम्पत्तिको स्रोत खुलाउन नपर्ने र अवैध आर्जनबाट प्राप्त सम्पत्ति समेत लुकाउन सजिलो ठानिने ट्याक्स हेभन मुलुकमा लगानी गरेको देखिनु अपारदर्शी कारोबार र वैधताका दृष्टिले गम्भीर प्रश्न हो।

ट्याक्स हेभन मुलुकमा ‘अफशोर कम्पनी’ खोलेर लगानी गर्नु किन गम्भीर विषय हो भन्ने बारेमा आईसीआईजेका निर्देशक जेरार्ड रायलले प्रस्ट्याएका छन्। प्यान्डोरा पेपर्स सार्वजनिक हुनुअघि अस्ट्रेलियाको एबीसी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै रायलले ‘अफशोर कारोबारले सम्बन्धित देशमा असमानता र गरिबी बढाउनेदेखि करबापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको’ बताएका छन्। उनको भनाइमा यस्तो कारोबारबाट व्यापारी, नेता, सरकारी अधिकारी र अपराधीहरू अफशोर गोपनीयताको फाइदा उठाएर लाभान्वित भएका छन्।

‘आममानिसले अफशोर दुनियाँविरुद्ध आवाज उठाउन किन जरूरी छ भने, यसले गरिबी बढाउँछ, असमानता निम्त्याउँछ। जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्या जस्ता थुप्रै समस्या निम्तन्छन्। मूलभूत रूपमा संसारका सबै खराबीलाई व्यवस्थामा भित्र्याइन्छ र, त्यो व्यवस्थाको उद्देश्य केही व्यक्तिलाई समृद्ध बनाउनुभन्दा अर्को हुँदैन,’ अन्तर्वार्तामा रायलले भनेका छन्।

नेपालको सन्दर्भमा पूर्णकालीन राजनीतिज्ञहरूको हालसम्म अफशोर कारोबारमा नाम उल्लेख नभए पनि त्यस्तो कारोबार गर्नेहरूलाई उनीहरूको साथ देखिन्छ। किनकि, हालसम्म ५५ नेपाली तथा गैरआवासीय नेपालीले अफशोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्समार्फत् २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ।

यस्तो विवरण सार्वजनिक हुँदासमेत राज्यका शक्तिशाली निकायहरूको मौनता जारी छ। यी निकायको मौनताले ट्याक्स हेभन मुलुकमा नेपालीको लगानीलाई प्रोत्साहन गरिरहेको देखिन्छ। प्यान्डोरा पेपर्स त्यसको एउटा उदाहरण हो।

ट्याक्स हेभन मुलुकमा चौधरी परिवारैको लगानी

नेपाली ‘कानुनमा रहेका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने विनोद चौधरीसहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन मुलुकमा लगानी गरेको फेला परेको छ।

आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ।

‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिस भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ।

चौधरीले आफ्नो (आत्मकथा) पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानुनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका कम्पनीमा नेपालको कानुनविरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सका विवरणले देखाउँछन्।

अफशोर कारोबारका कारण एकातिर असमानता र गरिबी बढाउने विज्ञहरू बताउँछन् भने अर्कोतर्फ राज्य सञ्चालन तथा विकास निर्माणको स्रोत करबापतको रकम मुलुकले गुमाइरहेको हुन्छ। नेपाली व्यापारी, नेता, यस्तो काममा सघाउने विदेशी बिचौलिया ‘ल फर्म’ ले यस्तो छायाँ अर्थतन्त्र (स्याडो इकोनोमी) बाट मनग्य फाइदा उठाइरहेका छन्।

‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले गरेको नेपाली कानुनका छिद्रको उपयोग, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदारमाथि मनी लाउण्डरिङ आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ।

‘मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो कानुनले छोडेका छिद्रहरू पहिल्याउने र यस्तरी पाइला सार्ने ताकि, मेरो विदेशी लगानीमाथि कसैले कानुनी प्रश्न उठाउन नसकोस्,’ सन् २०१३ मा प्रकाशित ‘विनोद चौधरी ः आत्मकथा’ शीर्षकको पुस्तकमा चौधरीले भनेका छन्। त्यसका लागि आयकर ऐनको ‘बासिन्दा व्यक्ति’ सम्बन्धी प्रावधानलाई उनले ‘छिद्र’को रूपमा व्याख्या गरेका छन्।

’वर्षको १८३ दिनभन्दा बढी विदेश बस्ने नेपाली नागरिक गैरआवासीय नेपालीको रूपमा दरिन्थ्यो। उसले विदेशमा लगानी गर्न छुट पाउँथ्यो,’ चौधरीले भनेका छन्, ’मैले यसैको फाइदा उठाउँदै वर्षको १८३ दिनभन्दा बढी विदेश बसेर आफ्नै देशको अस्थायी नागरिक बन्ने निर्णय गरें। आज मेरा दुई जना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार गरिरहेका छन्।’

तर, प्यान्डोरा लिक्सअनुसार, उनकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाण (दुवै नेपाली नागरिक हुन्) को नाममासमेत ब्रिटिस भर्जिन आइल्याण्डमा लगानी भेटिएको छ। अर्थात् ब्रिटिस भर्जिन आइल्याण्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनीसहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ। सिंगापुरको सिजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ। अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ। ‘अविच्छिन्न ३६५ दिनको अवधिमा १८३ दिन वा सोभन्दा बढी नेपालमा रहेको व्यक्ति’लाई ‘बासिन्दा व्यक्ति’ सम्झनुपर्छ भनी आयकर ऐनले व्यवस्था गरेको छ।

’यो व्यवस्थालाई उहाँले गलत रूपमा प्रयोग गर्नुभएको छ,’ पूर्वअर्थ सचिव खनालले भने, ’यो व्यवस्थाले नेपालबाट विदेशमा पैसा लैजाने र त्यहाँ लगानी गर्नका लागि छुट दिएको हैन। कुनै नेपाली नागरिक १८३ दिन विदेशमा बस्छ, त्यसपछि उसले आम्दानी गर्छ भने विदेशमै लगानी गर्न पाउँछ।’ तर चौधरीले नेपालबाटै रकम लगेर विदेशमा लगानी गरेको हुँदा उनको दाबी ‘तर्कसंगत’ नभएको खनालको प्रतिक्रिया छ।

‘नबिल बैंकको विदेशी लगानीकर्ताले पाउने लाभांश रकम विदेश लगिएको छ,’ खनालले भने, ‘तर त्यो कम्पनीको मालिक त उहाँ नै हुनुहुँदोरहेछ। त्यही रकमबाट उहाँले विदेशमा लगानी गर्नुभएको हुनसक्छ। नेपालबाट लगिएको रकमलाई उहाँले विदेशमा बस्ने छोराहरूले कमाएको हो भनेर पुष्टि गर्न खोज्नुभएको छ जुन गलत हो।’ यस आधारमा पनि चौधरीले विदेशमा गरेको लगानीको वैधतामाथि प्रश्न खडा भएको छ।

अर्कोतर्फ दुई छोरा (जो गैरआवासीय हैसियतमा छन्) बाहेक विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमतीको नाममासमेत विदेशमा लगानी गैरकानुनी हो। किनभने नेपाली कानुन (विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१) ले राष्ट्र बैंकको अनुमति बेगर विदेशमा लगानी गर्न पाइँदैन। यस कानुनबमोजिम विदेशमा लगानी गर्ने भए नेपाल राष्ट्र बैंकबाट अनुमति लिएको हुनुपर्छ। तर, ‘प्यान्डोरा पेपर्स’ले खुलासा गरेका केही कम्पनीमा लगानी गर्न राष्ट्र बैंकबाट विनोद, उनका जेठा छोरा निर्वाण र श्रीमती सारिकाले अनुमति नलिएको राष्ट्र बैंक स्रोत बताउँछ।

’विदेशीले ब्रिटिस भर्जिन आइल्याण्डस्थित सिनोभेसन कम्पनीमा ५० हजार थान कित्ता सेयर गिफ्ट पाएको हुनाले त्यसमा आफ्नो नाम रहने गरी विनोदले अनुमति लिएका छन्,’ राष्ट्र बैंक स्रोत भन्छ, ’यसबाहेक अन्य कुनै पनि कम्पनीमा लगानी गर्न विनोद, निर्वाण र सारिकाले अनुमति लिएको विवरण हामीले फेला पारेनौं।’

हाम्रो खोजमा पनि सिनोभेसनका लागि अनुमति लिएकोबाहेक अरू कुनै पनि विदेशी कम्पनीमा लगानी गर्न चौधरीले राष्ट्र बैंकबाट अनुमति लिएको तथ्य सार्वजनिक अभिलेखमा फेला परेन।

उल्लिखित आरोपहरूमाथि चौधरी ग्रुपले छोटो प्रतिक्रिया दिँदै नेपाल र विदेशी कानुनको उल्लंघन नगरेको जनाएको छ। ’मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानीसम्बन्धी नेपाली कानुनसहित लागू भएका सबै कानुन पालन गरेका छन्। त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्,’ खोज पत्रकारिता केन्द्रका लागि वासिङ्टन पोस्टका पत्रकार पीटर होरिस्कीले सोधेको प्रश्नमा जवाफ दिँदै राहुल चौधरीले भनेका छन्।

गोल्छा परिवारको अफशोर कारोबार

गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी छ। ‘फ्ल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो। उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिन्छ।

जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार उक्त कम्पनीमार्फत् गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्याण्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन्। उक्त खाता सञ्चालनका लागि १२ फेब्रुअरी २००८ मा दिवाकर, हितेश र लोकमान्य गोल्छालाई कम्पनीले अधिकार दिएको कागजातबाट स्पष्ट हुन्छ। फ्ल्याटउड लिमिटेड नामक कम्पनीमार्फत् दिवाकर गोल्छा लगायतको समूहले सन् २००८ मा नेपालको इस्टर्न सुगर मिल्सको सेयर खरिद गर्ने निर्णय गरेको भेटिएको छ।

यो कम्पनीले मिल्सको १३१७.५०० कित्ता सेयर खरिद गरेको पाइएको हो। तर केही समयपछि फ्ल्याटउड लिमिटेडले मिल्सको केही प्रतिशत सेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको देखिन्छ। १५ फेब्रुअरी २००८ मा फ्ल्याटउडले मिलको १३१७.५०० कित्ता सेयरमध्ये ३८४.१६६ कित्ता सेयर हुलास मेटल क्राफ्ट लिमिटेडका नाममा स्थानान्तरण गरेको पाइएको छ।

फ्ल्याटउडले सन् २००८ मा मिल्सका नाममा लेखेको पत्रअनुसार, त्यतिबेलासम्म फ्ल्याटउडको मिल्समा ९३३.३४४ कित्ता सेयर थियो। सोही पत्रअनुसार फ्ल्याटउडले हुलासलाई मिल्सबाट २८८.१२५ कित्ता अतिरिक्त हकप्रद सेयर खरिद गर्ने गरी जिम्मा दिएको देखिन्छ। हुलास मेटल क्राफ्ट पनि गोल्छा अर्गनाइजेसनकै कम्पनी हो।

सन् २०१९ मा खोपकेले सार्वजनिक गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ मुलुक ब्रिटिस भर्जिन आइल्याण्डबाट सबैभन्दा पहिला लगानी भित्र्याउनेमा गोल्छा अर्गनाइजेसन पर्छ। ‘यो अर्गनाइजेसनले नवलपरासीको नेपाल बोर्ड्स् लिमिटेड उद्योगमा फ्ल्याटउड लिमिटेड कम्पनीमार्फत् लगानी भित्र्याएको हो,’ नेपालिक्समा भनिएको छ, ‘गोल्छा अर्गनाइजेसनले साजसज्जाका लागि प्रयोग गरिने काठका सामग्री बनाउने उद्योगका लागि २०५० सालमा २ करोड ८८ लाख ६८ हजार ७८० रुपैयाँ विदेशी लगानी भित्र्याउने अनुमति लिएको थियो।’

यसरी हेर्दा फ्ल्याटउड लिमिटेडबाट उनीहरूले नै नेपालमा सञ्चालन गरेका तीन वटा कम्पनीहरूमा विदेशी लगानी ल्याएको देखिन्छ। जुन कम्पनीबाट विदेशी लगानी यहाँ ल्याइयो त्यही कम्पनी ब्रिटिस भर्जिन आइल्याण्डमा गोल्छा परिवारका पाँच जनाको नाममा रहेको ‘प्यान्डोरा पेपर्स’ले खुलासा गरेको छ।

लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन्। नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरणअनुसार हाल हंसराज हुलासचन्द एण्ड को, हुलास वायर इण्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका कम्पनीहरू सञ्चालनमा छन्।

इस्टर्न सुगर मिल र हुलासमा फ्ल्याट उडले लगानी गरेको लोकमान्य गोल्छाले स्वीकार गरे। ’त्यो धेरै पुरानो कुरा भएकाले डिटेल थाहा छैन। मैले इन्डस्ट्री हेरेको छैन। त्यो मेरो भाइ दिवाकरले हेर्थ्यो,’ उनले भने। तर, ब्रिटिस भर्जिन आइल्याण्डस्थित फ्ल्याटउडमा गोल्छा परिवारका सदस्यहरुको नाममा दर्ता भएकोबारे थाहा नभएको उनको प्रतिक्रिया छ।

सुमार्गीका पाँच कम्पनी

अनौपचारिक माध्यमबाट रकम विदेश पु¥याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफशोर कारोबारका थप विवरण फेला परेका छन्। यसअघि उनको बारेमा खोज पत्रकारिता केन्द्रले आईसीआईजेसँगको सहकार्यमा २ माघ २०७५ मा शंकास्पद धनको ओसारपसारसम्बन्धी खुलासा गरेको थियो।

नेपालिक्स खुलासा अनुसार ब्रिटिस भर्जिन आइल्याण्डमा दर्ता भएको जोधार इन्भेस्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (त्यसबेलाको ४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ) भित्रिएको छ।

यस पटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्याण्डमा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन्। उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन्। त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्ने गरी खाता खोलेको पाइएको छ। काठमाडौं, बानेश्वर निवासी सुमार्गीले आफ्नो ठेगाना बेलायत उल्लेख गरेका छन्। सुमार्गीसँगै यो कम्पनीका ‘लाभार्थी मालिक’ साइप्रसका वकिल तथा उनका बिजनेस पार्टनर सोटिरिओस् पिट्टास पनि रहेको भेटिएको छ।

जोधारको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड र अन्य तीन जना साइप्रसका नागरिक छन्। जोधारमा एक अमेरिकी डलरका दरले ५० हजार कित्ता साधारण सेयर लगानी गरेर फोनफाइडर सर्भिस लिमिटेड सन् २०१० मा साधारण सेयर सदस्यका रूपमा भित्रिएको कागजातहरूले देखाउँछन्।

प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिस भर्जिन आइल्याण्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ। सन् २०१८ को एक रेकर्डअनुसार अजेयराज सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन्। यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस् लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन्।

वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडले एक डलरका दरले ५० हजार कित्ता सेयर लगानी गर्ने अनुमति पाएको देखिन्छ। यसै अनुसार फोनफाइडर सर्भिस लिमिटेडले वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा ५० हजार कित्ता साधारण सेयर लगानी गरेको छ।

सुमार्गीको ब्रिटिस भर्जिन आइल्याण्डस्थित द अवेज इन्टरनेसनल लिमिटेडमा पनि लगानी भेटिएको छ। उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन्। यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्याण्डको अस्मिताज् वर्ल्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ। सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन्।

अस्मिता वर्ल्ड लिमिटेडको सञ्चालक पनि सुमार्गी नै हुन्। आईसीआईजेबाट प्राप्त कागजातअनुसार सन् २००८ मा उक्त कम्पनीमा लगानी गरेका सुमार्गी कम्पनीका लाभार्थी मालिक, सेयर लगानीकर्ता र निर्देशक हुन्। उनले यो कम्पनीको १०० कित्ता सेयर खरिद गरेका थिए। कम्पनीको सम्पत्तिको स्रोतहरू हेटौंडा लाइम इण्डस्ट्री प्रालि, एभरेस्ट मिनरल प्रडक्ट्स प्रालि, मुक्तिश्री प्रालि भएको कागजातहरूले देखाएको छ। जुन सुमार्गीको लगानीका नेपाली कम्पनीहरू हुन्।

अस्मिताज् कम्पनीले एक डलरका दरले द अवेज कम्पनीमा १०० कित्ता सेयर लगानी गरेको भेटिएको छ।

द अवेज इन्टरनेसनल लिमिटेडको दर्तावाला एजेन्ट कम्पनी ब्रिटिस भर्जिन आइल्याण्डको फाइडेलिटी कर्पोरेट सर्भिस लिमिटेड हो। यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेडले प्रतिकित्ता एक अमेरिकी डलरका दरले १०० कित्ता सेयर लगानी गरेको भेटिएको छ।

अजेयराज सुमार्गीको ब्रिटिस भर्जिन आइल्याण्डकै ‘द न्यू डिजिटेक इन्टरनेसनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ। उनी यो कम्पनीका निर्देशक हुन्। कम्पनीको सेयर होल्डर अस्मिताज् वर्ल्ड लिमिटेड पनि हो। अस्मिताज्ले एक डलरका दरले १०० कित्ता सेयर उक्त कम्पनीमा लगानी गरेको भेटिएको छ।

यो अन्तर्राष्ट्रिय चर्चित कम्पनीको सेयर खरिद र बिक्री गर्ने र विभिन्न देशबाट अनुमति लिएर टेलिकमसम्बन्धी व्यापार गर्ने प्रकृतिको कम्पनी हो। यसले एसिया क्षेत्र– नेपालमा काम गर्ने अनुमति लिएको छ। खोज पत्रकारिता केन्द्रलाई प्राप्त एक गोप्य कागजातअनुसार यो कम्पनीको उद्देश्य नेपालमा मोबाइल फोनका लागि ‘एयर टाइम प्रदान’ गर्ने एउटा नेपाली कम्पनीको ५० प्रतिशत सेयर होल्ड गर्ने हो।

र, यो कम्पनीको मुख्य ट्रेडिङ पार्टनरमा नेपाल टेलिकम प्राइभेट लिमिटेड कम्पनी रहेको पाइएको छ। द न्यू डिजिटेक इन्टरनेसनल लिमिटेड कम्पनीको लगानीको प्रारम्भिक स्रोत यसका निर्देशक अजेयराज सुमार्गी आफैं र होल्डिङ कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेड रहेको उल्लेख छ। यो कम्पनीमा सुमार्गीको अर्को कम्पनी अस्मिताज् वर्ल्ड लिमिटेडले १०० अमेरिकी डलर बराबरको १०० कित्ता सेयर लगानी गरेको छ। कम्पनीको सम्पत्तिको स्रोतहरू मुक्तिश्री प्रालि र नेपाल स्याटेलाइट टेलिकम लिमिटेड भएको कागजातहरूले देखाएको छ।

कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिस भर्जिन आइल्याण्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यू डिजिटेक इन्टरनेसनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिस पाउण्ड विदेशी लगानी (एफडीआई) नेपाल भित्र्याएको तथ्य पनि यसअघि नै नेपालिक्समार्फत् खुलासा भइसकेको छ। द न्यू डिजिटेक कम्पनीको स्रोतको रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रालि रहेको खुलेको छ।

नेपालको कानुनी व्यवस्था अनुसार विदेशमा गैरकानुनी रूपमा कम्पनी खोलेका सुमार्गीले त्यहाँको नीतिगत व्यवस्थाको समेत उल्लंघन गरेको विवरण फेला परेको छ। कम्पनी दर्ता गरिदिने ‘ल फर्म’ले जोधार इन्भेस्टमेन्ट लिमिटेडले सुमार्गीको हाल बस्दै आएको ठेगाना, कम्पनीको उद्देश्य, कम्पनीले व्यापार तथा कारोबार गर्ने ठेगाना, कम्पनीको बैंक खातासम्बन्धी विवरण नबुझाएको भनेर उनीमाथि कारबाहीको चेतावनी दिइएको भेटिएको छ।

ब्रिटिस भर्जिन आइल्याण्डस्थित ल फर्म कम्पनी ट्राइडेन्ट ट्रस्ट लिमिटेडका कम्प्लायन्स एण्ड मनी लाउन्डरिङ रिपोर्टिङ अफिसरले ८ फेब्रुअरी २०१८ मा सुमार्गीको कम्पनीको कानुनी एजेन्टलाई इमेल लेखेर ९ फेब्रुअरीभित्र आवश्यक सबै काजगात बुझाउन र त्यसो नगरे कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको प्यान्डोरा पेपर्सको विवरणमा उल्लेख छ।

सुमार्गीका नातेदारको नाममा पनि

सुमार्गीको कम्पनीमा काम गर्दै व्यावसायिक साझेदार हुन पुगेका उनका एक आफन्त अर्जुन शर्माको पनि ट्याक्स हेभन मुलुकमा कम्पनी रहेको विवरण फेला परेको छ। ब्रिटिस भर्जिन आइल्याण्डको ट्राइडेन्ट ट्रस्ट कम्पनीले सन् २०१९ मा राखेको रेकर्डअनुसार १२ मे २०१० मा ब्रिटिस भर्जिन आइल्याण्डको डेलोर भेञ्चर्स लिमिटेडमा नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर अर्जुनप्रसाद शर्माले लगानी गरेका हुन्।

यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्याण्डकै एडीली कन्सल्ट्यान्ट लिमिटेड नामक अर्को कम्पनी निर्देशकका रूपमा रहेको देखिन्छ। ब्रिटिस भर्जिन आइल्याण्डकै फोनफाइडर सर्भिसेज् लिमिटेड डेलोर भेञ्चर्स कम्पनीको सेयर होल्डरका रूपमा छ। फोनफाइडर सन् २०१० मा ५० हजार अमेरिकी डलर साधारण सेयर खरिद गरेर उक्त कम्पनीमा भित्रिएको थियो।

शर्मालाई उक्त कम्पनीमा लगानी गर्न आवश्यक नेपाली पासपोर्ट लगायतका कागजात प्रमाणीकरण गर्ने काम सन् २०१९, अप्रिलमा साइप्रसस्थित सोटिरिओस् पिट्टास एण्ड को एलएलसी नामक ल फर्मले गरेको भेटिएको छ। थप विवरण खोज्दै जाँदा यो ल फर्मका प्रबन्ध निर्देशक सोटिरिओस् पिट्टास रहेको भेटियो।

प्यान्डोरा पेपर्समा भएका कागजातहरूले साइप्रसका नागरिक पिट्टास एडीली कन्सल्ट्यान्ट लिमिटेड कम्पनीका निर्देशक तथा मुख्य लगानीकर्ता रहेको खुलासा गरेको छ। आईसीआईजेले यसअघि सार्वजनिक गरेको ‘अफशोर लिक्स’मा सोटिरिओसले ब्रिटिस भर्जिन आइल्याण्ड र साइप्रसमा थप कम्पनीहरू खोलेको भेटिएको थियो। यसले साइप्रसका वकिल तथा एडीली कन्सल्ट्यान्ट लिमिटेडका निर्देशक पिट्टाससँगको साझेदारीमा शर्माले डेलोर भेञ्चर्स कम्पनी सञ्चालन गरेको देखाउँछ।

अफशोर लगानीमा संलग्न सुमार्गी र शर्मालाई टेलिफोन गर्दा उनीहरू सम्पर्कमा आएनन्। उनीहरूलाई पठाइएको सन्देशको पनि कुनै प्रतिक्रिया आएन।

गुण ग्रुपका राजेन्द्र शाक्यको अफशोर कारोबार

ब्रिटिस भर्जिन आइल्याण्डको गोल्ड टाइम्स ग्लोबल लिमिटेडमा पुल्चोक ललितपुरका राजेन्द्र शाक्यको लगानी रहेको भेटिएको छ। कम्पनीका निर्देशक रहेका उनले कम्पनीमा लगानी गर्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन्। सन् २०१० मा निर्देशकका रूपमा कम्पनीमा भित्रिएका शाक्यको कम्पनीको रजिस्टर्ड एजेन्ट ब्रिटिस भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी ट्रस्ट हो।

शाक्य गुण ग्रुपका अध्यक्ष हुन्। यो ग्रुपमार्फत् घरजग्गा, सहकारी तथा गुण एयरलाइन्समा समेत लगानी छ। उनी एक दशकअघि ठूलो आर्थिक संकटमा परेका थिए। ऋण तिर्न नसकेर बैंकको कालोसूचीमा समेत परेका उनको लगानी रहेको गुण सहकारीले तीन करोड ठगी गरेको भन्दै उजुरी परेको थियो। जुन रकम अहिलेसम्म निक्षेपकर्तालाई फिर्ता भएको छैन।

अफशोर लगानीमा संलग्न शाक्यसँग टेलिफोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन्। अफशोर लगानीबारेमा पठाइएको सन्देशको पनि उनले प्रतिक्रिया दिएनन्।

सुहृदराज घिमिरे र पुरुषोत्तम पौडेलको संलग्नता

नेपालमा किया गाडीका बिक्रेता सुहृदराज घिमिरे र उनका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलको पनि ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी भेटिएको छ। घिमिरे नेपालस्थित किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष हुन्। पौडेल सोही कम्पनीका कार्यकारी निर्देशक हुन्।

घिमिरे र पौडेलले सन् २००९ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको हो। यी दुवै जना कम्पनीका लगानीकर्तासँगै निर्देशक पदमासमेत रहेको आईसीआईजेका कागजातहरूले देखाउँछन्। उनीहरूले कम्पनी खोल्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन्। घिमिरेले एक अमेरिकी डलरका दरले तीन कित्ता र पौडेलले एक डलरका दरले एक कित्ता सेयर खरिद गरेर यो कम्पनी खोलेका हुन्।

‘द बीभीआई बिजनेस कम्पनी एक्ट, २००४’ ले यो कम्पनीलाई एक डलरका दरले अधिकतम ५० हजार कित्ता सेयर जारी गर्न सक्ने अधिकार दिएको छ। यो कम्पनीको रजिस्टर्ड एजेन्ट ब्रिटिस भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी हो।

सन् २००९ मा नेराइन ट्रस्ट कम्पनी एजेन्ट रहेको यसले सन् २०१० मा एजेन्ट परिवर्तन गरी ओभरसिजमार्फत् काम गर्न थालेको हो। यसरी एजेन्ट परिवर्तन गरिदिने काम सिंगापुरको ‘एक्सप्रेस को रजिस्ट्रेसन एण्ड म्यानेजमेन्ट पीटीई लिमिटेड’ले गरिदिएको देखिन्छ।

घिमिरे र उनका साझेदार काठमाडौं कपनका पौडेल नेपालको चर्चित ‘बालुवाटार जग्गा प्रकरण’मा समेत जोडिएका व्यक्ति हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख भएअनुसार पौडेल र घिमिरेकी सासू इन्दु शर्माको नाममा बालुवाटारमा जग्गा छ। राजनीतिज्ञ, प्रशासक तथा उद्योगी व्यापारीको मिलेमतोमा बालुवाटार क्षेत्रको करिब ३०० रोपनी जग्गा व्यक्तिको नाममा सारिएको थियो।

यसमध्ये ७६३.११ वर्गमिटर सरकारी जग्गा पौडेलको नाममा कायम भएको छ। डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार १२ आना जग्गा १३ मंसिर २०६३ मा घिमिरेकी सासू इन्दु शर्माको नाममा राजीनामा पास भएको छ। उनीहरू विरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ।

सन् २०१३ मा आईसीआईजेले नै गरेको अफशोर लिक्समासमेत घिमिरेको नाम समावेश थियो। त्यतिबेला सार्वजनिक भएको विवरणअनुसार घिमिरेको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा इको बे लिमिटेड नामक कम्पनी छ। पुरुषोत्तम पौडेल पनि उक्त कम्पनीका लगानीकर्ता हुन्।

अफशोर लगानीमा संलग्न घिमिरे र पौडेललाई टेलिफोनमार्फत् सम्पर्क गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन्। हामीले पठाएको टेलिफोन सन्देशको पनि उनीहरुले कुनै प्रतिक्रिया दिएनन्।

सुधीर मित्तलको अफशोर कारोबार

नेपालको पुरानो एयरलाइन्स कम्पनी ‘श्री एयरलाइन्स’का सञ्चालक सुधीर मित्तलको पनि ट्याक्स हेभन मुलुकमा लगानी भेटिएको छ। ज्ञानेश्वर, काठमाडौं ठेगाना उल्लेख गरी मित्तलले ब्रिटिस भर्जिन आइल्याण्डमा पेगासस एअर चार्टस् इंक कम्पनी खोलेको भेटिएको छ। प्राप्त कागजातअनुसार मित्तल यो कम्पनीको लाभार्थी मालिक हुन् र उनले कम्पनीका नाममा बैंक खाता पनि खोलेका छन्। उनले कम्पनीको सम्पत्तिको उत्तराधिकारी पनि आफैं रहेको कागजातहरू पेस गरेका छन्। पेगाससको निर्देशक कम्पनी साइप्रसको ज्यासिनार लिमिटेड रहेको देखिन्छ।

उनले सन् २००६ मा ब्रिटिस भर्जिन आइल्याण्डमा ग्रिफन एसेट होल्डिङ्स लिमिटेड नामक अर्को कम्पनीमा पनि लगानी गरेको भेटिएको छ। उनी यो कम्पनीमा लाभार्थी मालिक रहेको कागजातहरूले देखाउँछन्। उनले कम्पनीमा लगानी गर्नका लागि आफ्नो बसाइ युनाइटेड अरब इमिरेट्स (यूएई)मा रहेको उल्लेख गरेका छन्। यो कम्पनीमा उनकै परिवारका सदस्य भारतीय नागरिक अदिती गुप्ता मित्तल, अमेरिकी नागरिक अनन्या मित्तल र दिभान्स मित्तल पनि लाभार्थी छन्।

यो कम्पनी दर्ताको काम गरिदिने एजेन्ट कम्पनी ट्राइडेन्ट ट्रस्ट (मरिसस) लिमिटेड हो। ग्रिफनको सेयर होल्डर द एल्केमी ट्रस्टले यो कम्पनीमा प्रतिकित्ता एक डलरका दरले ५० हजार कित्ता सेयर लगानी गरेको छ। सन् २०१६ देखि कम्पनीको निर्देशकमा ब्रिटिस भर्जिन आइल्याण्डको ब्लुस्फेयर लिमिटेड रहेको देखिन्छ।

सुधीरले द एल्केमीबाट दुई लाख अमेरिकी डलर रकम आफूसहित आफ्नो परिवारका सदस्यको लगानी रहेको ग्रिफनको खातामा सारेको भेटिएको छ। यो काममा नेपालको गोरखा ठेगाना भएका र पेसाले अकाउन्टेन्ट अशोक रेग्मी साक्षी देखिन्छन्।

मित्तललाई उनको कारोबारबारे सोध्न फोन सम्पर्क गर्दा उनले भेटेर मात्रै कुराकानी गर्ने बताए। त्यसपछि भने उनले फोन उठाएनन्। अर्को दिन आफैं म्यासेज पठाएका उनले ‘आफू २५ वर्षसम्म नेपालमा नबसेको र बुबाको मृत्युपछि मात्र नेपाल फर्किएको’ बताए। तर, आफ्नो अफशोर लगानीबारे प्रतिक्रिया दिन चाहेनन्।

किशोर राना : शंकास्पद कारोबारमार्फत् अर्बका मालिक
नेपाली पासपोर्ट प्रयोग गरी विभिन्न देशमा झण्डै एक दर्जन कम्पनी स्थापना गरेका ३५ वर्षीय किशोर राना शंकास्पद कारोबारबाट अर्बका मालिक भएको देखिन्छ। प्यान्डोरा लिक्समा समावेश विवरणअनुसार सन् २०१७ मा थाइल्याण्डको सुकुम्भित रोडमा बस्दै आएका रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेड कम्पनी स्थापना गरेका छन्।

उनले ’क्रिप्टो करेन्सी’ बिक्री गरेर आएको रकमले कर्ण इन्भेस्टमेन्ट कम्पनी खोल्ने प्रयास पनि गरेका थिए। सिंगापुरस्थित ल फर्म एसियासिटी ट्रस्टका कर्मचारीहरूले एकआपसमा गरेको इमेल आदानप्रदान विवरणअनुसार उक्त काम मापदण्डभन्दा बाहिरको थियो। तर, किशोरले क्रिप्टो करेन्सीको कारोबार लगायतको काम गर्ने गरी २५ जुलाई २०१७ मा हङकङमा कर्ण इन्भेस्टमेन्ट नामक कम्पनी खोल्न सफल भए। किशोरको यो कम्पनीको सचिव कम्पनी हङकङस्थित एटीजी सेक्रेटरिज् लिमिटेड हो।

३१ मे २०१७ मा बैंक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको बैंक स्टेटमेन्टअनुसार उनको क्यानडाको इल्डोराडो गोल्ड कर्पोरेसनमा पनि ६००२९.४ अमेरिकी डलर मूल्य बराबरको २० हजार कित्ता सेयर लगानी छ। इल्डोराडोले अमेरिका, युरोप र एसिया क्षेत्रका विभिन्न खानीहरूमा लगानी तथा कारोबार गर्छ।

क्यानडाको गोल्ड स्ट्यान्डर्ड भेञ्चर कर्पमा पनि राणाले ९० हजार २०० कित्ता सेयर लगानी गरेका छन्। उक्त बैंक स्टेटमेन्टअनुसार उनले तत्कालीन मूल्यअनुसार प्रतिकित्ता २.३२९६२ अमेरिकी डलरका दरले २ लाख १० हजार १३१.७२४ अमेरिकी मूल्य बराबरको सेयर खरिद गरेका हुन्।

यस्तै क्यानडाको ताञ्जनिया रोयल्टी एक्स्प्लोरेसनमा एक लाख कित्ता सेयर लगानी गरेका छन्। उनले प्रतिसेयर ०.४८०६८ सेन्टका दरले उक्त संख्याको सेयर कूल ४८ हजार ६८ अमेरिकी डलर रकममा लगानी गरेका हुन्। यो मिनरल तथा सुन खानी सञ्चालन गर्ने कम्पनी हो।

उनले क्यानडाको बोन्टेरा रिसोर्सेज् इंक कम्पनीमा पनि दुई लाख कित्ता सेयर लगानी गरेका छन्। प्रतिकित्ता ०.३२०६६ क्यानेडियन डलरमा कूल ६४ हजार १३२ क्यानेडियन डलर मूल्य बराबरको सेयर खरिद गरेका हुन्। बोन्टेरा कम्पनीले विभिन्न मुलुकमा सुन खानी सञ्चालन गरिरहेको छ।

क्यानडाको इन्टिग्रा गोल्ड कर्पोरेसनमा पनि उनले एक लाख ५० हजार कित्ता सेयर लगानी गरेका छन्। उनले प्रतिसेयर ०.७७९९२ क्यानेडियन डलरका दरले उक्त कम्पनीमा एक लाख १६ हजार ९८८ क्यानेडियन डलर लगानी गरेका हुन्। इन्टिग्राले सुन उत्पादनको काम गर्दै आएको छ।

क्यानडाकै ओर्का गोल्ड इंकमा पनि उनले प्रतिकित्ता ०.४३६७९ क्यानेडियन डलरका दरले १ लाख ७ हजार ५०० कित्ता सेयर ४६ हजार ९५४.९२५ क्यानेडियन डलरमा खरिद गरेका छन्। यो कम्पनीले पूर्वी अफ्रिकामा सुन खानीहरू सञ्चालन गरिरहेको छ।

क्यानडाको प्योर गोल्ड माइनिङ इंक नामक अर्को सुन खानी सञ्चालन गर्ने कम्पनीमा पनि उनले ६० हजार कित्ता सेयर लगानी गरेका छन्। रानाले उक्त कम्पनीमा प्रतिकित्ता ०.६८३०५ क्यानेडियन डलरका दरले कूल ४० हजार ९८३ मूल्य बराबरको सेयर खरिद गरेको पाइएको हो। यो विश्वकै सबैभन्दा ठूलो सुन खानी सञ्चालन गर्ने कम्पनीमा पर्छ।

किशोरले ३ फेब्रुअरी २०१७ मा क्यानडाको क्यामेको कर्पोरेसनमा १० हजार कित्ता सेयर लगानी गरेको पाइएको छ। यो विश्वकै ठूलो युरेनियमको व्यापार गर्ने कम्पनी हो। यो सबै विवरण ३१ मे २०१७ मा बैंक अफ सिंगापुरले किशोरका नाममा जारी गरेको बैंक स्टेटमेन्टबाट देखिएको हो।

सोही बैंक स्टेटमेन्टअनुसार रानाले अमेरिकाको युरेनियम रिसोर्सेज् इंकमा ३० हजार कित्ता सेयर लगानी गरेका छन्। उनले प्रतिकित्ता १.९८७६० अमेरिकी डलरका दरले ५९ हजार ६२८ अमेरिकी डलर मूल्य बराबरको सेयर खरिद गरेको सम्बद्ध कागजातले देखाउँछन्।

थाइल्याण्डको सुकुम्भित रोडमासमेत बस्ने उनको अर्को मुकाम सिंगापुर पनि हो। सिंगापुरको कम्पनी दर्ता गर्ने एजेन्टको कार्यालयमा पेश गरेको विवरणअनुसार उनी त्यहाँका गैरआवासीय नागरिक हुन्। उनको कम्पनी कर्ण इन्भेस्टमेन्ट हङकङमा दर्ता भएकाले उनी त्यहाँ पनि बस्ने गरेका छन्। यसअघि आईसीआईजे र नेपालस्थित खोपकेले गरेको खुलासामा पनि रानाको नाम उल्लेख थियो।

’आईसीआईजेकै सन् २०१७ को प्याराडाइज पेपर्सले सार्वजनिक गरेको सूचीमा पनि नेपाली नागरिक किशोर रानाको नाम थियो,’ सन् २०१९ मा खोपकेले गरेको नेपालिक्स खुलासामा भनिएको छ, ’इचंगु काठमाडौं ठेगाना उल्लेख भएका रानाले ट्याक्स हेभन मुलुक माल्टामा सेलेस्टियल इन्भेस्टमेन्टस लिमिटेड कम्पनीमा लगानी गरेका छन्। माल्टास्थित कम्पनीको पूरै सेयर उनको नाममा छ।’

रानाले ’भर्चुअल’ मुद्राको कारोबारका लागि खाता खोल्ने क्रममा बेलायतको बिटस्टाम्प लिमिटेडले लगानीको स्रोत खोज्दै इमेल गरेको विवरणहरू फेला परेको छ। यसमा प्रतिक्रिया दिँदै रानाले कम उमेरमै यसमा लगानी थालेको र उनको व्यक्तिगत बचत तथा धेरै ठाउँमा गरेको लगानीको आम्दानी नै यसको स्रोत भएको बताएका छन्।

रानाले कर्ण इन्भेस्टमेन्ट लिमिटेडका नाममा सिंगापुरको बैंक अफ सिंगापुरमा पनि ’भर्चुअल’ मुद्रा कारोबारका लागि खाता खोलेका छन्। सिंगापुरको युनाइटेड ओभरसिज बैंक लिमिटेडले पटक–पटक उनको आर्थिक स्रोतबारे प्रश्न गरेको छ।

किशोरको अथाह मौज्दात

हङकङको युनाइटेड ओभरसिज् बैंक लिमिटेडमा रहेको कर्ण इन्भेस्टमेन्ट लिमिटेडको खातामा भएको विवरणअनुसार ३१ जनवरी २०१९ सम्ममा कम्पनीको खातामा २ लाख ४८ हजार ६३१.५९ अमेरिकी डलर जम्मा भएको देखिन्छ। यो मितिसम्ममा कम्पनीको खाताबाट उक्त रकममध्ये ३५ हजार ९८२.३ अमेरिकी डलर निकालेको देखिन्छ। यसबाहेक किशोरको व्यक्तिगत बैंक खातामा पनि रकम जम्मा भएको देखिन्छ।

३१ मे २०१७ मा बैंक अफ सिंगापुरले किशोर रानाका नाममा जारी गरेको बैंक स्टेटमेन्टअनुसार उनको क्यास, सजिलै क्यासमा रूपान्तरण गर्न सकिने वस्तु (जस्तै सुन वा चाँदी) र अन्य विभिन्न स्रोतबापत् गरी कूल झण्डै २ लाख अमेरिकी डलर बराबरको रकम थियो। बैंकको रेकर्डअनुसार ३१ मे २०१७ सम्ममा उनको सेयरमा मात्र ५ लाख ६० हजार २९७.९६ अमेरिकी डलर लगानी भएको देखिन्छ। यसरी विभिन्न स्रोतबाट उनले ३१ मे २०१७ सम्ममा कूल ७ लाख ३० हजार ६९० अमेरिकी डलर बराबरको रकम उनको खातामा जम्मा गरेको देखिन्छ।

रानालाई ह्वाट्स एपमार्फत् सम्पर्क गरेर उनको अफशोर कम्पनीमा लगानी र क्रिप्टो करेन्सीको कारोबारबारे प्रतिक्रिया माग्दा उनले ‘नेपालसँग कुनै कनेक्सन नभएको’ भन्दै प्रतिक्रिया दिन मानेनन्।

को हुन् किशोर?

किशोर रानाको बायोडेटा अनुसार उनले सन् २०१२ मा अमेरिकाको फ्लोरिडास्थित एम्ब्री रिडल एरोनटिकल युनिभर्सिटीबाट एरोनटिकल साइन्समा स्नातक तहको अध्ययन गरे। त्यसपछि उडान प्रशिक्षकका रूपमा काम गरेका उनी सन् २०१४ मा नेपाल आएका थिए। परिवारसँग नजिक रहनका लागि उनी थाइल्याण्ड गएको विवरण फेला परेको छ। सन् २०१५ मा उनले आफ्नो परिवारबाट एक करोड अमेरिकी डलर रकम विरासतमा पाएको बायोडेटामा उल्लेख छ। उनी थाइल्याण्डमा ३० लाख अमेरिकी डलर मूल्य बराबरको रियल स्टेट सम्पत्तिको मालिक भएको पनि कागजातमा देखिन्छ।

सिंगापुरको टौरस वेल्थ एडभाइजर नामक कम्पनीका प्रबन्ध निर्देशक धीरज भर्वानीले एसियासिटीका कर्मचारीलाई इमेलमार्फत् पठाएको विवरणअनुसार उनले सुरुआतमा स्टार्टअप प्रविधि र विद्युतीय मुद्रामा लगानी गरेका थिए। किशोरले भर्वानीलाई सिंगापुरको ईएफजी बैंकमा खाता खोल्नका लागि उक्त विवरण पठाएको देखिन्छ। कम्पनीमा के कसरी लगानी गर्ने भन्नेबारेमा परामर्श दिने धीरजसँग किशोर पनि सोही कामको लागि सम्पर्कमा आएको देखिन्छ।

सराफ परिवारको ट्याक्स हेभनमा दर्जन कम्पनी

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले पनि शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिस भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ। याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड (हायात) सञ्चालन गर्दै आएका भारतीय मूलका सराफ, उनका दुई छोरा र श्रीमतीले अफशोर कम्पनी खडा गरी कारोबार गरेको फेला परेको हो।

सराफ नेपालमा पनि होटलका नाममा सरकारी जग्गालाई अनियमित रूपमा कम्पनीको नाममा दर्ता गर्ने, नेपाली स्रोतमाथि अनियमित दोहन गर्ने र गैरकानुनी ढंगले सरकारको सेयर हत्याउने भनेर परिचित छन्।

मुख्यगरी बौद्धस्थित तारागाउँ रिजेन्सी होटल परियोजना निर्माण गर्ने क्रममा दोब्बरभन्दा बढी लागत देखाएर अनियमितता गरेको आरोप सराफमाथि छ। यो विषयमा संघीय संसद्, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र पर्यटन मन्त्रालयले समेत अध्ययन गरेर अनियमितता भएको प्रतिवेदन तयार पारेका छन्।

तारागाउँ होटल रिजेन्सी लिमिटेड (हायात)

आईसीआईजेको ‘प्यान्डोरा पेपर्स’का गोप्य कागजातले सराफ तथा उनको परिवारले अफशोर कारोबार गरी शंकास्पद कारोबार गरेको खुलासा गरेको छ।

उनी ब्रिटिस भर्जिन आइल्याण्डमा सन् २००० मा स्थापना भएको पिग्नोलो लिमिटेडका लाभार्थी मालिक भएको खुलेको छ। सराफले आफू बस्ने ठेगाना हङकङ उल्लेख गरेका छन्। यो कम्पनी बैंकसँग सम्बन्धित व्यापार गर्ने, बिमा वा पुनर्बिमा कम्पनीसम्बन्धी व्यापार गर्ने, म्युचुअल फन्डसम्बन्धी व्यवसाय गर्ने लगायत काम गर्ने गरी दर्ता भएको देखिन्छ। यो कम्पनी खोल्न ट्राइडेन्ट ट्रस्टले सहयोग गरेको छ।

राधेश्याम, उनका छोरा उमेश सराफ र श्रीमती रत्ना सराफले मध्य अमेरिकी मुलुक बेलिजमा सन् २००६ मा द डेभिटा ट्रस्ट नामक कम्पनी खोलेको पाइएको छ। यी तीनै जना यो कम्पनीका लाभार्थी मालिक हुन्।

उनका अर्का छोरा अरुण सराफले बलिजमै द भरुनिसा ट्रस्ट कम्पनी खोलेका छन्। यो कम्पनी पनि सन् २००६ मै अरुणले पूर्ण एकल स्वामित्वमा खोलेको देखिन्छ। उनका अलावा यो कम्पनीका लाभार्थी मालिक राधेश्याम र उनकी श्रीमती रत्ना छन्।

द डेभिटा ट्रस्ट र द भरुनिसा ट्रस्टमा राधेश्यामका छोराहरूको लगानी रहेको देखिने कागजातहरूलाई काठमाडौंस्थित भारतीय दूतावासले ‘कागजातहरूमा भएको विवरण तथा सामग्रीको कुनै जिम्मेवारी नलिने’ भन्दै प्रमाणीकरण गरिदिएको फेला परेको छ।

प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले अफशोर लगानीसम्बन्धी अहिलेसम्मकै ठूलो खोज गरेको छ, प्यान्डोरा पेपर्समार्फत्।

विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पु¥याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यसले गरेको छ। अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनीमार्फत् कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो। यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने, तस्करी र गैरकानुनी गतिविधि बढाउँछ। यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थव्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ।

आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनीमार्फत् अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको खुलासा गरेको छ।

प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ। यसको अर्थ हो, कर छली गरेको ठूलो रकम विदेशमा लुकाउने, अवैध तरिकाले कमाएको रकम विदेश पु¥याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ र त्यसलाई अधिकार सम्पन्न निकाय र राजनीतिज्ञको प्रत्यक्ष÷परोक्ष संरक्षण छ।

नेपालको कानुनले राष्ट्र बैंकको स्वीकृतिविना नेपालीलाई विदेशमा लगानी गर्न रोकेको छ। त्यसैले नेपालीले विदेशमा लगानी गर्नु दण्डनीय अपराध हो।

सहभागी मिडिया र पत्रकार

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो। यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी थिए।

केलाइएका रेकर्ड

प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो। यसका लागि १ करोड १९ लाखभन्दा बढी दस्तावेज केलाइएको थियो।

यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ। सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन्। तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन्। यो लिक्समा सन् १९७१ देखि २०१८ सम्म खोलिएका कम्पनीहरूको विवरण छ।

आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो।

नेपालमा खोज

नेपालमा यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकरसहित पाँच वटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो। खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिकको अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो।

कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो।

प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्बिरलगायत विभिन्न कागजपत्रका झण्डै तीन हजार दस्तावेज केलाइएको थियो।

खोज पत्रकारिता केन्द्रबाट साभारित

प्रतिक्रिया दिनुहोस
Advertisement