रवि लामिछानेदेखि गगनसम्मको आँखा बालुवाटारमा, को बन्लान भावी प्रधानमन्त्री ?


टक खाती, काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरु संघीय निर्वाचनको तयारीमा होमिएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा  साना तथा ठूला राजनीतिक दलका नेताहरु होमिएका हुन् ।

२०७४ सालमा भएको संघीय निर्वाचन भन्दा मंसिरमा हुने निर्वाचन फरक र रोचक हुने देखिएको छ । गत निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनाव लडेको थियो भने अब हुने निर्वाचनमा नेपाली कांग्रेस हालको सत्तारुढ गठबन्धनसहित निर्वाचनमा जाने भएको छ ।

गत ०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए । एमाले र माओवादी मिलेर बनेको बाम गठबन्धनले झन्डै दुई तिहाई बहुमत ल्याएको थियो । तर, आपसी मतभेदका कारण कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा बनेको सरकार धेरै लामो समय सम्म टिक्न भने सकेन ।

यसैबीच अब आउने चुनावबाट प्रधानमन्त्री कुन दलको नेता बन्ला भन्नेबारेमा पछिल्लो समय चर्चा हुन थालेको छ ।  यता  विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले अब आउने निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी पेश गर्दै आएका छन् ।

प्रधानमन्त्री बन्ने आकांक्षा राख्ने मुख्य नेताहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्दछन् । अब आउने चुनावबाट देउवा प्रधानमन्त्री बन्नकै लागि हालको सत्ता गठबन्धनलाई टिकाइ रहेका छन् ।

उनी कुनै पनि हालतमा सत्ता गठबन्धन दलहरुको साथ नछाड्ने रणनीतिमा छन् ।  ओली नेतृत्वको सरकार ढलेपछि आफूलाई प्रधानमन्त्री बनाउँन सत्ता गठबन्धन दलहरूले ठुलो भूमिका खेलेको भन्दै बेला बेलामा देउवा गुनगान पनि गाउँछन् ।

गठबन्धनमा आवद्ध दलहरूको विरुद्धमा नबोल्न नेपाली कांग्रेसका नेताहरूलाई देउवाले चेतावनी पनि दिइरहन्छन् । संघीय चुनावमा गठबन्धनसहित गएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने रणनीतिमा देउवा जुटेका छन् ।

त्यस्तै प्रचण्डको पनि प्रधानमन्त्री बनेर देशको बागडोर समाल्ने ठुलो धोको छ । केही दिन अगाडि काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले एक पटक देशको मालिक भएर काम गर्ने आफ्नो चाहना भएको बताएका थिए । ‘एक पटक देशको मालिक भएर काम गर्ने मन छ । फेरि त्यो अवसर मिल्यो भने देशलाई विकासको गतिमा अगाडि बढाएर देखाउनेछु’, प्रचण्डले उक्त कार्यक्रममा भनेका थिए ।

यसका लागि प्रचण्डले नेकपा माओवादी केन्द्रलाई शक्तिसाली बनाउने प्रयत्न गरिरहेका छन् । बामदेव गौतम र डा. बाबुराम भट्टराई लगायतका सबैलाई आफ्नै पार्टीको हालको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हतौडाबाट चुनाबमा उम्मेदवारी दिन लगाएर आफू थप बलियो हुने रणनीति प्रचण्डको थियो ।

प्रचण्डको उक्त रणनीति सफल हुँदै गएको छ । माधव नेपाल, वामदेव गौतम र डा. भट्टराई लगायतका नेताहरूलाई आफ्नै चुनाब चिन्हबाट उम्मेदवारी दिन लगाउँदा काङ्ग्रेसबाटसमेत अलि बढि सिट प्राप्त गर्नेदेखि चुनाबमा जितेर आएपछि कतै घात गर्न खोजे स्वतः पद समेत धरापमा पार्न सकिने दाउँमा प्रचण्ड लागेका हुन् ।

यसैबीच संघीय चुनावमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । त्यस्तै प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि पार्टी एकताका लागि छलफल गरिरहेका छन् ।

यता प्रमुख  प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली पनि अब आउने चुनावबाट आफ्नो नेतृत्वमा सरकार गठन गर्न चाहान्छन् । यसभन्दा अघि अध्यक्ष ओलीले हालको पाँच दलीय गठबन्धन फुटाउने धेरै प्रयत्न गरे तर सफल हुन सकेनन् ।  बेला बेलामा ओली पाँच दलीय गठबन्धन होइन आठ दलीय गठबन्धन आए पनि नेकपा एमालेले संघीय चुनावमा बहुमत ल्याउने दावी गर्दछन् ।

उनले नेकपा एमालेले एक्लै बहुमत ल्याउन सक्ने बताए पनि त्यो सम्भव छैन् । किनभने नेपालको संवैधानीक व्यवस्था अनुसार बहुमतको सरकार गठन गर्न १३६ सिट ल्याउनु पर्छ । यदि नेकपा एमाले एक्लै संघीय चुनावमा गयो भने १३६ सिटमा विजयी हुन सम्भव छैन् ।  त्यसकारण ओली पनि कुनै न कुनै दलसँग चुनावी तालमेल गर्ने रणनीतिमा लागेका छन् ।

प्रधानमन्त्रीको दौडमा रहेका अध्यक्ष ओली, सभापति देउवा र प्रचण्ड भने पटक पटक प्रधानमन्त्री भइसकेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा भने सबै भन्दा धेरै  पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।

 एमाले अध्यक्ष ओली पनि ३ पटक प्रधानमन्त्री बनेका छन् । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुई पटक प्रधामन्त्री बनिसकेका छन् । त्यस्तै प्रधानमन्त्रीको दौडमा रहेका नयाँ अनुहारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापा पर्दछन् ।

अध्यक्ष लिङदेन, रवि लामिछाने र गगन थापाको पनि प्रधानमन्त्री बन्ने ठुलो चाहना छ । कांग्रेस महामन्त्री थापाले पनि अब युवाहरुले देश चलाउनु पर्छ भन्दै प्रधानमन्त्रीमा आफ्नो दावी रहने बताउँदै आएका छन् । तर, सभापति देउवा भने थापाको त्यो चाहना पुरा हुन दिने पक्षमा छैनन् । उनी आफ्नो नेतृत्वमा सरकार गठन गर्न चाहान्छन ।  त्यस्तै अध्यक्ष लिङदेन, रवि लामिछानेले प्रधानमन्त्री बन्ने चाहना राखेपनि हालको अवस्था हेर्दा सम्भव देखिएको छैन् ।

देउवा, ओली र प्रचण्डको संक्षीप्त इतिहास

शेर बहादुर देउवा

वि.स. २००३ जेठ महिनामा डडेल्धुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री हुन् ।

वि.स. २०४८ सालमा डडेल्धुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । वि.स. २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने ।  वि.स. २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि देउवा नेपाली काँग्रेसको संसदीय दलकोसमेत नेतृत्व गर्दै पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

वि.स. २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला डा. बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो ।

वि.स. २०५६ सालमा डडेल्धुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बने । २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनस्र्थापित गरे । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए ।

नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि देउवा २०७८ असार २९ गते पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् ।  देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए ।

केपी शर्मा ओली 

वि.स. २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा जन्मेका केपी शर्मा ओली नेकपा एमालेका वर्तमान अध्यक्ष हुन् । विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले वि.स.  २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

नेपालको जनआन्दोलन वि.स. २०४६ पछि उनी आम निर्वाचन २०४८ मा झापा-६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ओली २०५६ मा झापा निर्वाचन क्षेत्र २ र ६ बाट पुन निर्वाचित भएका थिए जसमा उनले झापा-६ को सिट त्यागेका थिए ।

ओली २०७२ असोज २४ मा संसदीय मतदानमा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थनमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि नेकपा (एमाले) प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेपछि ओली वि.स. २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनले वि.स. २०७४ फागुन २७ मा २७५ सदस्यीय प्रतिनिधिसभामा २६८ मतमध्ये २०८ मतसहित विश्वासको प्रस्ताव पारित गरेका थिए । त्यसैगरी ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दावी उपलब्ध समय सीमाभित्र राख्न असमर्थ भए पछि राष्ट्रपति भण्डारीले २०७८ जेठ ८ मा मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनपछि ओली सरकार नयाँ निर्वाचन सम्पन्न नभएसम्म अन्तरिम सरकारमा परिणत भएको थियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

कास्की जिल्लाको ढिकुरपोखरी गा. वि. स. वडा नं २ लिवाडेमा वि. सं २०११ साल मंसिर २६ गते प्रचण्डको जन्म भएको थियो । झण्डै १३ वर्ष भूमिगत जीवन बिताएका उनी २०६२-६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्।

संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए ।

प्रचण्डले २०७३ साल साउन १९ गते दोस्रो पटक पनि प्रधानमन्त्रीको पद सम्भालेका थिए । संविधान सभाको चुनावमा उनी एक्ला उम्मेदवार भए पनि संसद्को बहुमतको आधारमा प्रधानमन्त्री घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement