आज धान्यपूर्णिमा, नेवार समुदायमा योमरी पुन्हि उधौली पर्व मनाईंदै


काठमाडौं – मार्गशीर्ष शुक्ल अर्थात् मंसिरको पूर्णिमा। यो धान्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ। यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ।

नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ। नेवार समुदायले शनिबार योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ ।

त्यस्तै भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ । आजको दिनलाई लक्ष्मीपूजाको रुपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरी अन्न अभाव नहुने विश्वास छ । जाडोमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

काठमाडौँ उपत्यकाका नेवार समुदायले चारसयवर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । योमरी पूर्णिमा अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौतीलगायतका ठाँउमा सांस्कृतिक र्यालीसहितको त्य छि त्य कार्यक्रम हुँदैछ ।  आजका दिनलाई धान्य पूर्णिमाका रुपमासमेत मनाउने गरिन्छ । आजै काठमाडौंका ज्यापू समुदायले १५ औ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement