योगी सरकारलाई धक्का : पत्रकारको भेषमा सुरक्षा घेराभित्रै २ कैदीबन्दीको हत्या भएपछि हंगामा


काठमाण्डु- भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शनिवार राति एउटा यस्तो घटना भयो, जसले भारतभर तरङ्ग ल्याइदिएको छ । शनिवार राति करीब साढे १० बजेतिर प्रहरी नियन्त्रणमा रहेका पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या भयो ।

प्रहरीको नियन्त्रणमा रहेका बेला नै कसरी हत्या भयो ? प्रहरी र सरकारले किन कमजोरी गर्यो ? यतिबेला भारतभर मुख्यमन्त्री योगी आदित्यनाथमाथि प्रश्न गरिँदैछ ।

अतीक र अशरफको स्वास्थ्य जाँचका लागि प्रयागराजस्थित मोतीलाल नेहरू मण्डलीय अस्पतालमा ल्याएको बेला हत्याकाण्ड भएको हो । पत्रकारको भेषमा पत्रकारहरूकै समूहमा रहेका व्यक्तिहरूले गोली प्रहार गरेका थिए । मिडियाकर्मीले दुवै जनासँग कुराकानी गर्न खोजेकै बेला गोली प्रहार भएको छ । प्रहरी घेरामा रहेका दुवैमाथि नजिकैबाट गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली प्रहारको भिडियो समेत रेकर्ड भएको छ । आक्रमणकारीले गोली प्रहारपछि ‘जय श्री राम’ नारा लगाएका छन् । तीनै आक्रमणकारीले गोली प्रहारलगत्तै प्रहरीसामु आत्मसमर्पण गरेका छन् । आक्रमणकारी अरुण मौर्य (१८), तवलेश तिवारी (२२) र सनी सिंह (२३) रहेका छन् ।

घटनाका क्रममा प्रहरीकर्मी मान सिंहको दाहिने हातमा पनि गोली लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीको सोधपुछमा तीनै आरोपीले भनेका छन्, ‘हामी अतीक र अशरफ ग्याङको सफाया गरेर प्रदेशमा आफ्नो पहिचान बनाउन चाहन्थ्यौं, जसको फाइदा हामीलाई भविष्यमा मिल्ने थियो । तर हामीले प्रहरी घेराको अनुमान लगाउन सकेनौं, हत्या गरेर भाग्न सकेनौं, प्रहरीले छिट्टै हामीलाई पक्राउ गर्यो ।’ यसअघि विभिन्न अपराधमा जेलमा रहेका बेला तीनै व्यक्तिबीच मित्रता भएको थियो ।

प्रहरीको सुरक्षा घेरामै हत्याकाण्ड भएपछि विरोध प्रदर्शन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उत्तर प्रदेश सरकारले धारा १४४ लागू गरेको छ । यसअन्तर्गत ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पाइँदैन । मुख्यमन्त्री योगीले सुरक्षा व्यवस्था दुरुस्त बनाउन सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन् ।

हत्याकाण्डपछि मुख्यमन्त्री योगीले उच्च अधिकारीसँग बैठक गरेका छन् भने घटनाको छानबिनका लागि ३ सदस्यीय न्यायायिक आयोग गठनको घोषणा गरिएको छ ।

पूर्व सांसद अतीक पनि आपराधिक पृष्ठभूमिकै हुन् । उनीविरुद्ध विभिन्न अपराधमा १०० भन्दा बढी मुद्दा चलेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हत्या, अपहरण, जबरजस्ती चन्दा असूली लगायत अपराधमा उनी संलग्न रहँदै आएका थिए । उनी बहुजन समाजवादी पार्टीका विधायक राजू पाल र उमेश पालको हत्यामा प्रमुख अभियुक्त थिए ।

उमेश पालको हत्यामा दोषी ठहरिएपछि उनलाई जन्मकैदको सजाय सुनाइएको थियो । बिहीवार उत्तर प्रदेश प्रहरीले अतीक अहमदका छोरा असद र उनका सहयोगी गुलाम मोहम्मदलाई इन्काउन्टरमा मारेको थियो । शनिवारै दुवैको अन्तिम संस्कार भएको थियो ।

सुरक्षा घेराभित्रै २ जनाको हत्या भएपछि राजनीतिक बयानबाजी तीब्र भएको छ । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले हत्याकाण्डमाथि प्रश्न उठाएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘उत्तर प्रदेशमा अपराधको पराकाष्ठा देखिएको छ र अपराधी हौसिएका छन् । जब प्रहरी सुरक्षा घेरामै खुलेआम गोली प्रहार गरेर कसैको हत्या गरिन्छ भने आम जनताको सुरक्षा के होला ? यसले जनतामा भयको वातावरण बनेको छ, यस्तो लाग्दैछ कि केही मान्छे जानेरै यस्तो वातावरण बनाउन चाहिरहेका छन् ।’

सरकारका मन्त्री स्वतन्त्र देव सिंहले ट्विटरमा लेखेका छन्, ‘पाप–पुण्यको हिसाब यसै जन्ममा हुन्छ ।’ लोकसभा सांसद तथा नेता असदउद्दीन औवेसीले उत्तर प्रदेश सरकारमाथि प्रश्न गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘इन्काउन्टर राजमा खुशीयाली मनाउनेहरू पनि यो हत्याका जिम्मेवार हुन् ।’

उत्तर प्रदेशका वित्तमन्त्री सुरेशकुमार खन्नाले हत्याकाण्डलाई माथिको फैसला भनेका छन् । मिडियासँग कुराकानी गर्दै उनले भने, ‘जब अपराधको पराकाष्ठा देखिन्छ, तब केही फैसला माथिबाटै हुन्छन् । म ठान्दछु कि यो भगवानको फैसला हो ।’

भारतीय कांग्रेसकी नेत्री प्रियंका गान्धी वाड्राले भनिन्, ‘हाम्रो देशको कानून संविधानमा लेखिएको छ, कानून सर्वाेपरि हुन्छ । अपराधीहरूलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ तर कानून अनुसार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement