प्रतिक्षाको यात्रा : जनमुक्ति सेनाको कमाण्डरदेखि नेपाली सेनाको सहायक रथी


काठमाडाैँ— नेपाली सेनाको सहायक रथीमा बढुवा भएका यमबहादुर अधिकारी ‘प्रतिक्षा’ तिनै हुन् जो तत्कालीन माओवादीको १० वर्षे जनयुद्धताका जनमुक्ति सेनाका कमाण्डर थिए । शान्ति प्रक्रियासँगै भएको सेना समायोजनमा परेका उनी सहायक रथी बन्न सफल भए। अधिकारी त्यही भाग्यशाली हुन्– जो पूर्वलडाकुबाट सेनाको उपल्लो तहमा पुग्न सफल भए । समायोजनका क्रममा उपसेनानी बनेका उनी त्यसको केही समयमै उनी महासेनानी (कर्णेल) बन्न सफल भएका थिए।

गत मंगलबारको मन्त्रिपरिषद बैठकले अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको हो । विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । यो पदको पदावधि चार वर्षको हुनेछ । त्यसपछि पद स्वतः खारेज हुनेछ ।

शान्ति प्रक्रिया अझै सकिनसकेको अवस्थामा सकारात्मक सन्देश प्रवाह गर्न उनलाई बढुवा गरिएको हुनसक्ने बताइन्छ । अधिकारी आफूलाई सहायक रथी बनाउन उनले लामो समयदेखि राजनीतिक तथा आन्तरिक पहल गर्दै आएका थिए ।

अधिकारी तत्कालीन जनमुक्ति सेनाको डिभिजन कमाण्डर थिए । प्रतिक्षा, जसले धादिङको कृष्णभीरमा सेनालाई एम्बुस थापेर ठूलो परिमाणमा हतियार कब्जा गर्न सफल भएका थिए । २०६३ मंसिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार सात मुख्य र २१ सहायक शिविरमा बस्दै आएका पूर्वलडाकु ०६९ चैत ३० गतेदेखि औपचारिक रुपमा नेपाली सेनामा समायाेजन भएका थिए। अधिकारी  माओवादीका एक हजार चार सय लडाकुको नेतृत्व गर्दै नेपाली सेनामा समायोजन भएका थिए।

अधिकारीकाे विगत

उत्तरी धादिङको मार्पाकमा बाबु बोरसिंह अधिकारी र आमा खड्ककुमारीको कान्छो छोराका रुपमा ०२९ असार १ गते जन्मिएका अधिकारीले ०४६ सालमा द्वित्तीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । अधिकारी ०४६ सालको जनआन्दोलनपछि क्याम्पस पढ्न काठमाडाैँ आए । काठमाडाैँं आउनुअघि नै उनी तत्कालिन अखिल छैठौंको धादिङ जिल्ला सदस्य थिए ।

प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा गरेपछि विद्यार्थी संगठनको धादिङ अध्यक्ष बने ।   पूर्णकालीन भएदेखि उनले जनमिलिसिया, स्क्वायड, प्लाटुन, कम्पनी, बटालियन, ब्रिगेड हुँदै डिभिजन कमाण्डरसम्मको नेतृत्व गरेका थिए। ०६३ मंसिर ५ को शान्ति सम्झौतापछि नवलपरासीको झ्याल्टुङडाँडास्थित चौथो डिभिजनमा सहायक कमाण्डर रहेका अधिकारी माओवादीले कमाण्डर गणेशमान पुनलाई वाइसीएल अध्यक्ष बनाएर काठमाडाैँ ल्याएपछि स्वत कमाण्डर भएका थिए । डिभिजनमा कमाण्डर फेरबदल हुँदा इलामको चुलाचुलीस्थित पहिलो डिभिजनको कमाण्ड सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement