आध्यात्मिक ज्ञानले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोर्‍याउँछ : मन्त्री चौधरी


काठमाण्डु – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन् ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाण्डुले शनिबार काठमाण्डुमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित कुनै पनि व्यक्तिले हानी, नोक्सानी नगर्ने उनले बताइन् ।

‘यदि आध्यात्मिक ज्ञानबाट प्रशिक्षित राजनीतिज्ञ भएमा उसले गर्ने काम कारबाहीहरू र उसले लिने कामको रणनीतिहरू अलिकति समाजलाई सकारात्मक दृष्टिकोणले उत्थान, विकास गर्ने गरी अगाडि बढ्छ,’ मन्त्री चौधरीले भनिन्, ‘हामी आफैंबीचमा पनि अन्तर्द्वन्द्वहरू छ । व्यक्ति–व्यक्तिबीचको, समुदायबीचको अन्तर्द्वन्द्व छ । त्यस कारणले यो अनेक चिजलाई । हामी मान्छेहरूले नै व्यावहारिक प्रयोग तथा आविष्कारका लागि उत्पादन गरेका छौं, हामी मान्छेले नै पत्ता लगाएका, आविष्कार गरेका चिजहरूलाई चलाउन नजान्दा । नकारात्मक कुरामा प्रयोग गर्दा । संसार खराब अवस्थामा पुगेको छ ।‘

एकअर्कालाई कसरी पछाडि पारेर आफू अगाडि जाने भन्ने गलत प्रतिस्पर्धाका कारण समाज केही रूपमा गलत दिशातर्फ गएको हो कि भन्ने लागे पनि ती गलत मान्यता र अभ्यासहरूलाई यस्ता कार्यक्रमहरूले चिर्न सकिने उनको भनाइ छ । उनले भनिन्, ‘अहिलेको समाजलाई पनि दृष्टिगत गरेर हेर्दा एकअर्कालाई पछाडि पारेर कसरी अगाडि बढ्ने भन्ने प्रतिस्पर्धाको कारणले गर्दाखेरि समाजमा दूराभावहरू, दूषित विचारहरू छन् ।’

मन्त्री चौधरीले समाजमा रहने हरेक व्यक्तिको विचारमा थोरै भए पनि आध्यात्मिक चेतना आउनै पर्ने बताइन् । ‘म राजनीतिक प्रवृत्तिबाट आएको मान्छे हुँ तर पनि म आफू सँगसँगै अन्यलाई पनि भन्छु, राजनीतिक क्षेत्र, व्यावसायिक क्षेत्र तथा अन्य औद्योगिक क्षेत्रमा । अथवा कृषि तथा जुनसुकै क्षेत्रमा पनि समाजमा रहने हरेक व्यक्तिको विचारमा अलिकति आध्यात्मिक चेतना आउनैपर्छ,’ उनले भनिन्, ‘आध्यात्मिक कुराबारे जानकार व्यक्ति, आध्यात्मिक ज्ञान लिएको व्यक्तिले आफ्नो समाजलाई नकारात्मक दिशातर्फ दोहोर्‍याउँदैन । उसले आफ्नै साथी सर्कल, आफन्त, समाज कसैलाई पनि घात गर्दैन ।’

आध्यात्मिक सेवा केन्द्र, प्रशिक्षण केन्द्र, आध्यात्मिक मन्दिर, गुम्बा जस्ता धार्मिक सेवा केन्द्रहरूले असल व्यवहार, सकारात्मक व्यवहारहरूको कुरा ल्याउने कामहरूमा तत्पर रहेको बताउँदै उनले त्यसलाई सबैले फलो गर्नुपर्ने बताइन् ।

‘हिन्दु सनातनी धर्मले भनोस् कि बौद्ध धर्मावलम्बीहरूले भनोस् कि इस्लामले भनोस् । यी कुनै पनि धर्मका धार्मिक ग्रन्थहरूले व्यभिचार गरोस् भनेर भन्दैन । हत्या, हिंसा गरोस्, अरूको वितण्डा गरेर आफू माथि उठ्ने भन्ने कुरा धर्मले कहिल्यै पनि गर्दैन,’ उनले भनिन्, ‘त्यसकारण हरेक धर्मले जब सुविचारहरू फैलाउँछ । स्वस्थ विचारहरू फैलाउँछ । सकारात्मक कार्यहरू गर्न भन्छ भने, त्यस्ता चिजहरूमा हामी किन नलाग्ने ?’

प्रतिक्रिया दिनुहोस
Advertisement