नेकपाको फुटले चीन गम्भीर : पुनः जुटाउन गुपचुप के–के गर्दैछ ‘चिनियाँ मिसन’ ?


काठमाण्डु – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर संसदमा झण्डै दुईतिहाइ बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकृत हुँदा जनता मात्रै होइन, उत्तरी छिमेकी चीन समेत उत्साहित भएको थियो । त्यो उत्साह चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले पुष्टि गरेको थियो । गत वर्ष असोजमा सीले नेपाल भ्रमण गरेका थिए ।

राजनीतिक स्थिरताका कारण ठूला आयोजनामा लगानी र सहकार्य गर्न सहज हुने, कम्युनिस्ट पार्टीकै सरकार भएकाले पार्टीगत सम्बन्ध समेत सुधार हुने र चिनियाँ सुरक्षा स्वार्थ सम्बोधन हुने चीनको बुझाइ थियो । त्यसैअनुसार चीन र नेपालबीच सहकार्य बढ्दै गइरहेको थियो ।

तर एकाएक नेपालमा राजनीतिक संकट देखियो । नेकपा फुट्यो । यो घटनाक्रमले चीनलाई गम्भीर बनाएको छ । गम्भीर पनि सामान्य रूपमा होइन, नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियताले मात्रै पुगेन, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली नै काठमाडौं आएको छ ।

नेकपाभित्रको विवाद अकस्मात निम्तिएको संकट थिएन । महिनौंदेखि चल्दै आएको विवादको शृंखला उत्कर्षमा पुगेपछि नेकपा फुटेको हो । विवाद बढेका बेला चिनियाँ राजदूत यान्छीले नेताहरूलाई लगातार भेट्ने गरेपनि नेकपाको फुट टरेन ।

गत कात्तिक २८ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्टि थिए । त्यही प्रस्ताव फिर्ता लिन ओलीले आग्रह गर्दा पनि प्रचण्डले नमानेपछि नेकपा विभाजितको अवस्था आएको हो ।

प्रचण्डको त्यो प्रस्तावले ओली आक्रोशित बनेर नेकपाभित्र संकट उत्पन्न भएपछि राजदूत होउ यान्छीले मंसिर २ गते राति प्रधानमन्त्री ओलीसँग ३ घण्टा छलफल गरिन् । अत्यन्तै चासोका साथ हेरिएको मंसिर ३ गते बोलाइएको नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा यान्छीले ओलीलाई भेटेकी थिइन् । त्यसपछि यान्छीले प्रचण्ड र नेता माधवकुमार नेपालसँग पनि भेट गरेकी थिइन् ।

नेकपाभित्र विवाद चर्किएका बेला राजदूत यान्छी सक्रिय हुने गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आईतबार प्रतिनिधिसभा (संसद) विघटन गरेपछि नेकपा विभाजित हुँदा यान्छीले फेरि सक्रियता बढाइन् ।

राजदूत यान्छीले गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिन् । त्यसपछि उनले बिहीबार बिहान नेकपा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरिन् । राजदूत यान्छीले नेकपा अध्यक्ष माधवकुमार नेपाल, पूर्व सभामुख कृष्णबहादुर महरा र पूर्व मन्त्री वर्षमान पुनलाई भेटिसकेकी छन् । अब नेकपा नेताहरूलाई भेट्न सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको टोली नै काठमाडौं आएको छ ।

चीनले चासो देखाएको अहिले मात्रै होइन, नेकपाभित्र विवाद चर्किएका बेला राजदूत यान्छीले गत बैशाख १८ गते प्रधानमन्त्री ओली र बैशाख १९ गते अध्यक्ष प्रचण्ड र नेपालसँग भेट गरेकी थिइन् । संसदमा झण्डै दुईतिहाइ बहुमत प्राप्त नेकपालाई एकीकृत नै रहेको देख्न चाहने चीनको इच्छा अनुसार यान्छीको सक्रियता हुने गरेको दूतावास स्रोतले जानकारी दिएको छ । तर यान्छीको सक्रियताले सफलता पाएको थिएन । उनले प्रधानमन्त्री ओलीसंग भेटका लागी समय मागेपनि अहिलेसम्म भेट भने हुन नसकेको स्रोत बताउंछ।

नेकपा फुटेको विषयमा चिनियाँ राष्ट्रपति सीले नै चासो राखेको स्रोतले जनाएको छ । दक्षिण एसियामा अमेरिका–भारत र चीनले आफ्नो प्रभाव बढाउन छुट्टाछुट्टै कोसिस गरिरहेका बेला नेपालमा कम्युनिस्ट पार्टी फुट्नुलाई गम्भीर समस्याको रूपमा लिएको बुझिएको छ ।

काठमाडौं आएको सीपीसीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, राजपा नेता उपेन्द्र यादव र कांग्रेस नेता शेखर कोइराला लगायतसँग भेटवार्ता गर्नेछ । टोलीले पार्टी फुट्ने गरी उत्पन्न भएको समस्या र त्यसको समाधानका उपायबारे नेताहरूसँग छलफल गर्दै चिनियाँ उच्च नेतृत्वलाई सुझाव दिने नेकपा स्रोतले जनाएको छ ।

‘चीन नेपालमा राजनीतिक स्थिरता होस् भन्ने चाहन्छ, त्यसका लागि नेकपा फुट्नु हुँदैन, फेरि मिल्नुपर्छ,’ चिनियाँ दूतावासका एक अधिकारीले भने, ‘नेकपा विभाजित हुँदा नेपाल–चीन सम्बन्धमा ध्यान दिन नसकिने, चिनियाँ लगानीमा सञ्चालित विकास आयोजना प्रभावित हुने, चिनियाँ सुरक्षा चासो सम्बोधन हुन नसक्ने खतरा रहन्छ ।’

प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेपछि चीनले नेपालको विकासमा लगानी बढाउने, नेकपासँगको सम्बन्ध विस्तार गर्ने तथा सरकार र पार्टीगत तहमा सहकार्य बढाउँदै लगेको थियो । ‘राजनीतिक गतिरोध निम्तिएपछि सरकारले नै विकासका काममा ध्यान दिन पाउँदैन, यसले चीन र नेपालको सहकार्यले नतिजा दिँदैन, चिनियाँ लगानीका आयोजनाको काम अलपत्र पर्छ, त्यसैले चीन नेपालमा राजनीतिक स्थिरता चाहन्छ,’ स्रोतले भन्यो ।

नेकपाभित्रको विवाद र फुटबारे चीनले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । नेकपाको विवाद मिलाउन सक्रिय भएको कुरा गोप्य नै राख्न चाहन्छ चीन । गोप्यताको विषयमा चीन कतिसम्म संवेदनशील छ भने चिनियाँ टोलीले काठमाडौंमा रहँदा नेपाल प्रहरीको सुरक्षा लिन नै अस्वीकार गरेको छ । चिनियाँ पक्षको सुरक्षाबारे प्रहरीले परराष्ट्र मन्त्रालयमार्फत दूतावाससँग समन्वय गर्दा दूतावासले प्रहरी सुरक्षा आवश्यक नभएको जवाफ दिएको स्रोतले जनाएको छ ।

नेपालमा रहँदा चिनियाँ मिसनले नेताहरूका विवाद बुझ्ने, समाधानको सूत्र सोध्ने र नेकपालाई पुनः मिलाउन धेरै कोसिस गर्ने स्रोतले जनाएको छ । नेकपाका दुवै पक्षले देशभर दूरी बढाइरहेका बेला चिनियाँ मिसनले ढिलासुस्ती नगर्ने समेत जनाइएको छ । ‘मिसनले सकभर काठमाडौंमै कुरा मिलाउन खोज्नेछ, नभए चिनियाँ उच्च नेतृत्वलाई सुझाव दिएर त्यहाँबाट नेकपाका नेताहरूलाई विशेष दबाब दिइनेछ,’ स्रोतले भन्यो, ‘चिनियाँ पक्षले नेकपा फुट्नै हुँदैन भन्ने मनसाय राखेको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement