शताब्दीकै लामो खग्रास चन्द्रग्रहण आज


काठमाडौं – आज शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दैछ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ।

चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ।

पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ ।

त्यो समयमा मंगलग्रह पनि चन्द्रमा नजिक हुने हुँदा ग्रहण लागेको समयमा यसलाई खुला आँखाले समेत देख्न सकिन्छ। सन् २०७१ चैत २१ गते यो शताब्दीको सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो। त्यतिबेला पाँच मिनेटको चन्द्रग्रहण लागेको थियो।

धर्म शास्त्र अनुसार ग्रहणमा के गर्ने के नगर्ने ?

यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा चन्द्रमाबाट आउने विषमय तथा विकृत किरणहरूको तरंगले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्छ। यस कारण पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्।

धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।

चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर ९९ घण्टा  अघिदेखि ग्रहण सूतक लाग्छ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन। ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग पिसाब गर्नाले दरिद्रता तथा दिसा गर्नु पनि नराम्रो नै मानिन्छ। त्यसैले ग्रहण लाग्नु अलि अघि देखिनै सक्दो पानी पनि न पिउनु राम्रो।

ग्रहणका बेला मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement