सांसद रंगमतीको गुनासो : सरकारको तलबले हुम्ला जान पनि पुग्दैन !


निशेष खनाल

काठमाडौं – नेपाली कांग्रेसकी समानुपातिक सांसद रंगमती शाही प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मेरो स्कुटीको पछाडि बसेर शहर घुम्न जाउँ’ भनेर चर्चामा आइन् ।
कर्णाली प्रदेशको विकट जिल्ला हुम्लामा जन्मिएकी शाहीको जिल्लामा हालसम्म सडक सञ्जाल पुग्न सकेको छैन । शहरको धुलोधुवाँबाट आजित बनेकी उनलाई आफ्नो जिल्लामा धुलो उडाउँदै भएपनि गाडी गुडेको हेर्न मन छ ।

काठमाडौंको बनस्थलीबाट नयाँ बानेश्वरसम्म आइपुग्दा सडकको अवस्था देखेर उनलाई असह्य हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्री भएदेखि धुलो कम भएको र मानिसले मास्क लगाउन छोडिसकेको बताएपछि उनलाई झनक्क रिस उठ्यो ।

त्यसपछि उनले प्रधानमन्त्री ओलीलाई आफ्नो स्कुटीको पछाडि बसेर शहर घुम्न आग्रह गरिन् । उनी आफूलाई रहर लागेर प्रधानमन्त्रीलाई स्कुटीमा बस्न आग्रह नगरेको बताउँछिन् । ‘प्रधानमन्त्रीज्यूले म प्रधानमन्त्री भएपछि मास्क लगाउन छोडिसके’ भन्नुभयो हामी मास्क नलगाइ हिँड्न सक्ने अवस्था छैन,’ उनी भन्छिन् ।

राजनीतिमा महिलालाई समस्या !

नेपाली राजनीतिमा संघर्ष गर्न एउटा पुरुषलाई जति समस्या पर्छ, त्योभन्दा बढी समस्या महिलाले भोग्नुपर्छ । एउटी महिलाले घरपरिवारदेखि समाजसम्मलाई प्रभावित पार्न सक्नुपर्ने अवस्था रहेको सांसद शाही गुनासो गर्छिन् । ‘समस्याको कुरै नगरौं । शहरको महिलालाई त समस्या छ भने हामी त विकट जिल्लाबाट आएका हौं । अहिले सम्झिँदा पनि कस्तो जमानाको मान्छे हो जस्तो लाग्छ,’ विगत सम्झिँदै उनी भन्छिन् ।

स्कूल पढ्दा उनको गाउँबाट एक्ली थिइन् उनी । ‘गाउँको स्कूल एक्लैदोक्लै जान नसकिने । त्यसमाथि केटासाथीसँग हिँड्नुपर्ने बाध्यता थियो । छरछिमेकले केटासँग हिँडेको देख्नै नहुने, अनेक बात लगाइहाल्थे,’ उनी भन्छिन्, ‘कोहीसँग बोल्यो कि त्यहीसँग लागि भनिहाल्थे । मेरो गाउँबाट पढ्ने केटी म एक्लै थिएँ । छोरी पढायो भने अर्कै जातकोसँग बिहे गर्छे भनेर पढ्न दिनु हुँदैन भनेर मुवालाई गाउँलेले उचाल्थे ।’

विद्यालयको पढाइ सकेर सक्रिय राजनीतिमा लागेकी शाहीले जिल्लाबाट महिला संघको अध्यक्ष पद सम्हाल्न पुगिन् । पढाइलाई बिचमै बिट मारेर राजनीतिमा होमिएकी सांसद शाहीले ‘प्लस टू’सम्म मात्र पढेकी छन् । उनी भन्छिन्, ‘जिल्लामा कलेजको अभाव भएका कारण पनि मेरो पढाइ बिचमै टुट्यो ।’ रंगमतीका बाबु कट्टर राप्रपाका नेता थिए । तर छोरी कांग्रेसमा सक्रिय थिइन् । कांग्रेसमा लागेपनि उनलाई बुवाले सहयोग भने खुबै गर्थे । फरक पार्टी हुँदा बुवाले विरोध गर्नुभएन ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘खै ! मलाई पनि अचम्म लाग्छ । म कांग्रेस प्रवेश गर्ने बेलामा बुवालाई सोध्दा पनि सोधिनँ र उहाँले पनि केही भन्नु भएन ।’

राप्रपामा बसेर कुनै पद नपाएका उनका बुवा छोरी सांसद हुँदा दंग छन् । उनी सांसद भएपनि जिल्लाबाट जुन उद्देश्य लिएर आएकी थिइन, त्यो पूरा गर्न नपाउँदा दुःख लागेको सुनाउँछिन् । विकट जिल्लाबाट आएकी उनलाई सांसद भएपछि केही गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । पहिलो पटक संसद बैठक छिर्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘बैठकमा सबैजना उठ्ने राष्ट्रिय गाना बज्ने, अगाडि सभामुख आउँदा कक्षामा सर आएजस्तो फिलिङ भयो ।’

उनले पहिलो पटक संसदमा बोल्दा ‘नर्भस’ भएको अनुभव सुनाइन् । ठूला नेताका अगाडि बोल्दा ‘नर्भस’ भएपनि बोल्दै जाँदा हिम्मत बढेको उनले बताइन् । संसद बैठकमा उच्छृंखलता प्रस्तुत गर्ने सांसदको चर्तिकला उनलाई मन पर्दैन । उनले सबैभन्दा माथिल्लो निकाय विधायिका भएकाले सबैले अनुशासनमा बस्नुपर्ने बताइन् । संसदको विकास समितिमा समेत रहेकी सांसद शाहीको जिल्ला हुम्ला सडक सञ्जालमा जोडिएको छैन । सञ्चार र खानेपानीको पनि हुम्लामा मुख्य समस्या रहेको उनी बताउँछिन् । विकास समितिमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री रघुवीर महासेठलाई जति घच्घच्याए पनि काम नगरेको उनको गुनासो छ ।

‘अहिलेसम्म मेरो जिल्लामा गाडी पुगेको छैन । यातायात मन्त्रीलाई धेरै नै घच्घच्याए पनि उहाँ कानमा तेल हालेर बस्नुहुन्छ । मैले शहरका सडकको समस्याको पनि कुरा राख्छु । जिल्लालाई सडक सञ्जालमा जोड्नका लागि हामी लागिपरेका छौं,’ उनले भनिन् ।

छाउगोठदेखि रोस्टमसम्म !

पश्चिमका पहाडी जिल्लामा चर्चामा रहेको छाउगोठको अनुभव सांसद शाहीलाई अहिले पनि ताजै रहेको छ । १२ वर्षको उमेरमा छाउगोठ बसेकी उनलाई घरको जग पनि छुन दिइएको थिएन । ‘घरको जगसमेत छुन दिइँदैनथ्यो । बारीको डिलमा एउटा झुप्रो बनाइदिन्थे । त्यही साथीहरूसँग बस्थ्यौं,’ उनी भन्छिन्, ‘बाघ, भालुबाट भन्दा पनि मान्छेबाट बढी डर हुन्थ्यो । तर हाम्रो हकमा भने दुवै कुरा लागू हुँदैनथ्यो । धेरै जना हुन्थ्यौं । वरिपरि गाउँ भएकाले पनि होला ।’

छाउगोठ हुँदै सांसद शाही संसदको रोस्टमसम्म पुगेकी छन् । उनले भनिन्, ‘छाउगोठको पीडादायी अवस्था भोगेर आएपनि अहिलेसम्म मलाई आफू रोस्टममा छु जस्तो लाग्दैन । किनकि त्यस्तो अवस्था भोगेर आएपनि मैले के काम गरें भन्ने फिल हुन्छ ।’

सरकारले ल्याएको छाउपडी उन्मूलन कार्यक्रम प्रभावकारी नभएकोमा उनी असन्तुष्टि पोख्छिन् । उनी भन्छिन्, ‘सदरमुकाममा २÷४ जना महिलालाई सचेतना कार्यक्रम गरेर सचेतना हुने होइन नि ! सरकारले सञ्चारमाध्यमबाट सञ्चालन गर्ने भन्यो । दुर्गममा टीभी रेडियो कहाँ छ ?’

छाउगोठ अन्त्यका लागि जनचेतना जगाउन उनी गाउँगाउँ पुगिन् । छाउपडी अन्त्यका लागि उनी आफैंले पनि घरमा धेरै संघर्ष गर्नुप¥यो । उनी भन्छिन्, ‘सुरूवात आफैंबाट गर्नुपर्छ भनेर म छाउगोठ नबसी घरमै बसें । तर धामीझाँक्री र छिमेकीहरूले हाम्रो घरको पानीसमेत खाएनन् ।’

छाउपडी अन्त्य गर्न पुरुषले साथ दिएपनि महिलाले समर्थन नगर्ने उनको अनुभव छ । ‘पुरुषहरू छाउपडी अन्त्यका लागि साथ दिनुहुन्छ तर महिला नै छाउ बस्न तयार हुन्छन् । उनीहरू महिनावारीको समयमा घरमा बस्न मान्दैनन्,’ उनले भनिन् ।

सरकारको तलबले घर जान पुग्दैन !

सांसदलाई सरकारले दिएको तलबमा उनी सन्तुष्ट छैनन् । सरकारले दिएको तलबले घर आउजाउ गर्नै धौंधौं हुने उनको अनुभव छ । वर्षमा दुईपटक मात्र जिल्ला जाने सांसद शाही आफ्नो खर्च व्यवस्थापन गर्न समस्या परेको गुनासो पोख्छिन् ।

उनले आफूले खाएको तलबको सबै बेलिविस्तार लगाइन् । ‘सांसदलाई ५८ हजार पाँच रुपैयाँ खाता आउँछ । २२ देखि २५ हजार घरभाडा दिनुपर्छ । बाँकी रह्यो २८ हजार । त्यो पैसा, प्राकृतिक विपत्ति भयो भने के गर्नु ? पीडित जनतालाई सहयोग गर्नुपर्छ । पार्टीले काट्छ । सचिवालयले काट्छ । काठमाडौंमा कसरी बाँचेकी हुँला ?’

प्रतिक्रिया दिनुहोस
Advertisement