सर्वोच्चमा कामु प्रधानन्यायाधीश एक्लिंदै, फुलकोर्ट नबोलाए स्थिति असहज हुने न्यायाधीशहरुको चेतावनी


काठमाण्डु – सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्कीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको विषयमा सर्वोच्च अदालतमा न्यायाधीशहरुले प्रश्न उठाएका छन् । कामु प्रधानन्यायाधीश कार्कीसंग दाहालले उनकै निवासमा पुगेर भेटवार्ता गरेको काठमाण्डुपाटीले पहिलो पटक खुलासा गरेको थियो ।

दाहालसंग भेटेको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आपत्ति जनाएको थियो । एमाले अध्यक्ष ओलीले कामु प्रधानन्यायाधीश कार्कीले सत्ता गठबन्धनलाई सहज हुने गरि फैसला गरेको आरोप लगाए । उनले हालैमात्र कामु प्रधानन्यायाधीश कार्की र सत्ता गठबन्धनका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेट भएको विषय समेत दावी गरेका थिए ।

ओलीले भनेका थिए ‘तपाईँहरू देखिरहनुभएको छ, समाचारहरू अखबार र अनलाइनमा आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ गएर २ घण्टा बसे । त्यहाँबाट बाहिर निस्किएपछि ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो । त्यहाँ के भयो ? लेनदेन हुने गरेको छ नेपालमा । हामी विनम्रताका साथ आग्रह गर्छौं, सम्मानति सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ, कुनै खुसामद होइन । कुनै खासखुस, कुनै लेनदेन, कुनै घासघुस जसको चर्चा चलेको छ, त्यही कुरा निरन्तर हुनु हुँदैन ।’

त्यसैगरी उनले हालको सत्ता गठबन्धन दुई दिनको पाहुना भएको समेत दावी गरे । त्यसकारण दुई दिनको पाहुनाको पछि लागेर कुनै पनि फैसला नगर्न न्यायाधीशहरुलाई उनले आग्रह गरेका थिए ।

‘अदालतका न्यायाधीशहरू भनिरहेका छन् अदालत भ्रष्ट भयो,बदनाम भयो । त्यसबाट मुक्त गर्नका लागि श्रीमान न्यायाधीशहरूलाई आग्रह गर्न चाहान्छु । मुख्यरूपमा न्याय सम्पादन होस् । यस सत्ता गठबन्धनको उलमुलामा अदालत पर्नु हुँदैन । यो गठबन्धन भनेको २ दिनको पाहुना हो । ढोडका लौराको भर परेर नचल्न सुझाव दिन चाहंन्छु,’ उनले भने ।

सर्वोच्चका न्यायाधीशहरुले शुक्रबार कार्कीलाई भेटेर आफ्नो नीजि स्वार्थका लागि प्रधानन्यायाधीशले सत्तासंग बार्गेनिङ गर्ने विषयले संस्थाकै बदनाम भएको बताएका थिए । सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ,हरिकृष्ण कार्की र प्रकाशमान सिंह रावतलगायतले कार्कीको चेम्बरमा पुगेर असन्तुष्टि पोखेका थिए ।

उनिहरुले कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको पत्र समेत गलत भएको बताएको स्रोतको दावी छ । कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा गराउन अख्तियारमार्फत दबाव दिएको धेरैको बुझाइ छ । उनि सर्वोच्चमा प्रधानन्याधीश बन्न राजनीतिक सांटगांठमा लागेको स्रोतले बतायो ।

कार्कीले त्यसैका लागि सर्वोच्च अदालतको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारलाई १५ दिनभित्र छानविन गर्न पत्र पठाएका थिए । उनको सचिवालयमार्फत गएको पत्रप्रति सर्वोच्चकै अधिकांश न्यायाधीशहरु असन्तुष्ट छन् । उनिहरुले कार्कीले मुख्य रजिष्ट्रारलाई बाइपास गरेर आफ्नो सचिवालयमार्फत पत्र लेख्नु नै गलत भएको बताएका छन् ।

कार्की र दाहालको भेट संवैधानिक नियुक्तिको मुद्दा सुनुवाई अघि भएको थियो । उनले दाहालसंग राणाको राजीनामा आए आफुले मुद्दा सदर गरिदिने प्रस्ताव पठाएको स्रोतको दावी छ । त्यसका लागि अहिले अदालतमा बिचौलियाहरुले चलखेल गरिरहेको बताइन्छ ।

असोज १५ मा उमेर हदका कारण अनिवार्य अवकासमा जान लागेका कार्कीले अदालतमा व्यक्तिगत स्वार्थका लागि मनपरी गर्न थालेपछि अधिकांश न्यायाधीशहरुले बेन्च समेत सेयरिङ नगर्ने चेतावनी दिइसकेका छन् । उनले राणासंग इगो सांध्न खोजेको अर्थमा अरु न्यायाधीशहरुले लिएका छन् ।

कार्कीले अख्तियारलाई लेखेको पत्र र कर्मचारीहरुमाथि व्यक्तिगत पूर्वाग्रह सांधेर गरेको सरुवा र शक्तिकेन्द्रसंग सौदाबाजीमा लागेपछि उनि एक्लिदै गएका छन् । अहिले कार्कीको पक्षमा एक जना न्यायाधीश समेत नभएको सर्वोच्च स्रोत बताउंछ । कार्कीलाई मानवअधिकार आयोगको अध्यक्ष बन्ने प्रस्ताव सत्तारुढ दलहरुबाट आएको समाचार समेत यसअघि सार्वजनिक भएको थियो । तर, कार्कीले यसको कुनै खण्डन समेत नगरेकोमा न्यायाधिशहरुको आपत्ति छ ।

सर्वोच्चका अधिकाशं न्यायाधीशहरुले फुल कोर्टको बैठक राख्न माग गरेका छन् । कार्कीले न्यायापालिकाले गरिमालाई कमजोर बनाउने काममा लागेको भन्दै पूर्व प्रधानन्यायाधीशहरु समेत असन्तुष्ट बनेका छन् ।

सर्वोच्चका बहुमत न्यायाधीशहरुले तत्काल फुलकोट नबोलाएर बहुमत न्यायाधीशहरुले बैठक बोलाउने चेतावनी दिएका छन् । ‘हामिले उहांलाई भेटेर फुलकोर्ट बोलाउन भनेका छौं । उहांले यसबारेमा म सल्लाह गर्छु भन्नुभएको छ । अव हेरौं बैठक बोलाउनुहुन्छ कि हुन्न । यदि बैठक बोलाउनुभएन भने हामि आफै बैठक बोलाउंछौं । त्यसपछि स्थिति असहज हुनसक्छ । ’ सर्वोच्चका एक न्यायाधिशले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement