किन लठ्याउँछ त मदिराले ?


काठमाडाैँ- मदिरालाई वल्र्ड एक्सेप्टेड सोसल ड्रिंक्सका रूपमा लिइन्छ । यसको सेवनपछि मानिस लठ्ठिनेदेखि विभिन्न अशोभनीय गतिविधि पनि गर्न थाल्छ । कतिपय मानिस यसको सेवनले जीवनलाई नै धरापमा पारिरहेका हुन्छन् । किनकि, यसको अत्यधिक सेवनले कलेजो फेल हुने समस्या हुन्छ । यद्यपि, यसको खपत विश्वभरि नै हुने गरेको छ । विशेषगरी नशाका रूपमा यसको सेवन गरिन्छ । किन लठ्याउँछ त मदिराले ?विर अस्पतालमा कार्यरत डाक्टर केदार सेन्चुरीले यसरी बताए –

मदिरामा अल्कोहलको मात्रा हुन्छ । यस्तो मात्रा मदिराको ब्रान्डअनुसार फरक–फरक हुन्छ । यही अल्कोहलले नै हो मानिसलाई एक्साइटमेन्ट, उग्र, आलस्य बनाउने ।

खासमा मदिरामा मिथाइल अल्कोहल हुन्छ । मदिरामा हुने भनेकै यति एउटा तत्व हो । आमाशयमा पुगेपछि यस्तो अल्कोहल तत्कालै रगतमा मिसिन पुग्छ र नसालाई असर पार्छ । यसैका माध्यमबाट दिमागसम्म पुग्छ । खासगरी दिमागको पछिल्लो पाटोमा यसको असर पुग्छ । र, मानिसलाई लठ्याउने गर्छ ।

मदिराले केही हदसम्म तनाव कम गर्ने काम गर्छ । केही समयअघि तनाव भएको मानिसलाई अल्कोहल खुवाउने प्रचलन पनि थियो । तर, अहिले त विभिन्न औषधिको आविष्कार भइसकेको छ । त्यसैले अल्कोहलको सेवन गर्नु पर्दैन ।

मदिरा सेवनपछि मानिस खुसी हुने, स्मरणशक्ति कमजोर हुने र उत्साहित हुने गर्छन् । त्यस्तै, यसको मात्रा मस्तिष्कमा पुगेपछि शरीरको ब्यालेन्स नै बिग्रन थाल्छ । यसले निद्रा लाग्ने पनि हुन्छ । तर, बढी प्रयोगले बिस्तारै कलेजो फुल्न जान्छ र ड्यामेज नै हुन्छ ।

मदिराले मानसिक समस्या
मदिराले विशेषगरी पेट र मस्तिष्कको समस्या निम्त्याउँछ । रक्सीले ग्यास्ट्रिकसँगै पेट दुख्ने, फुल्ने, पोल्ने, खान मन नलाग्ने, अमिलो पानी आउने, कालो दिसा आउने, बान्ता हुनेजस्ता समस्या देखिन्छ ।

मदिराले मस्तिष्कमा पनि उस्तै समस्या सिर्जना गर्छ । मदिराका कारण छारेरोग, बेहोस, निद्रा नपर्ने, डर लाग्ने, हात काम्ने, तलतल लाग्नेजस्ता समस्या हुन्छ । यसले स्मरणशक्ति कमजोर हुनुका साथै आत्मविश्वासमा पनि कमी ल्याउँछ । त्यस्तै, मदिराले उच्च रक्तचाप, हातखुट्टा झमझमाउने, डिप्रेसन, एग्रेसन, नसासम्बन्धी समस्या उत्पन्न गर्छ ।

रक्सी सेवन गरिरहने बानीले एक दिन मात्र पनि नपिउँदा निकै छटपटी हुन्छ । मदिरा नपिएको रात निद्रा नै नपर्नेसम्म हुन्छ । नियमित मदिरा सेवनले डर लाग्ने, ढुकढुकी बढ्ने, रिस उठिरहने, दिक्क लाग्नेजस्ता समस्या पनि हुन्छ । त्यसैले मदिराको एडिक्सन भएमा तत्काल चिकित्सकलाई भेटी छुटाउने प्रयास गर्नुपर्छ ।

अत्यधिक मदिरा सेवन गर्दा हस्पिटलमै भर्ना गर्नुपर्ने हुन सक्छ । यस्तो लत तत्काल छुटाउन गाह्रो हुने भएकाले चक्कीका माध्यमबाट यसलाई बिस्तारै छुटाउन सकिन्छ । मदिराले एन्जाइटी, पागलपनजस्ता मानसिक समस्या पनि निम्त्याउन सक्छ ।

नयांपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस
Advertisement