काठमाण्डु ४ मा गगन र राजनबीच चर्कियो चुनावी युद्ध, कसले मार्ला बाजी ?


काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दलहरु होमिएका छन् । संघीय निर्वाचनको मिति नजिकिएसँगै सानादेखि ठुला राजनीतिक दल चुनावी प्रचारप्रसारमा होमिएका हुन् ।

जसअनुसार काठमाण्डुको क्षेत्र नम्बर ४ मा पनि राजनीतिक दलले चुनावी प्रचार तिव्र पारेका छन् । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापा चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा एमालेले राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

चुनावी मैदानमा रहेका यी दुई नेता नै काठमाण्डु ४ का मूल प्रतिस्पर्धी देखिन्छन् । काठमाण्डु ४ मा ‘ह्याट्रिक’ गर्ने दाउमा थापा छन् भने पहिलोपटक संसद पुग्ने अभिलाषा राखेका भट्टराई यसपटक उनलाई रोक्न कसरत गर्दैछन् ।

थापासँग दुईपल्ट संविधानसभामा रहेको सहित तीनपटक सांसद बनेको अनुभव छ । संसदीय समितिको सभापति र मन्त्री बनिसकेका उनले पार्टीमा भूमिका समेत बढाएका छन् । पार्टीको कार्यकारी पद महामन्त्री पुगेका उनी तेस्रोपटक निर्वाचित हुने रणनीतिमा लागेका छन् ।

यसैबिच यस क्षेत्रमा सत्ता पक्ष र नेकपा एमालले घरदैलो र चुनावीसभाका क्रममा एकअर्काविरुद्ध आरोपप्रत्यारोप लगाउने गरेका छन् । यहाँ जनप्रतिनिधिलेसमेत आफूनिकट पार्टीइतरका उम्मेदवारविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका छन् ।

त्यसकारण पनि काठमाण्डु ४ मा कसले मार्ला बाजी भन्ने आम नागरिकको चासोको विषय बनेको छ । अर्को तर्फ चुनाव जितेर भावी प्रधानमन्त्रीमा दाबी गर्ने गगन थापाकाे मनशाय छ ।

यस क्षेत्रमा कांग्रेसका नेता तथा कार्यकर्ताले उनको प्रचारका लागि मूल मुद्धा पनि यसैलाई बनाएको देखिन्छ । थापा निर्वाचित भए प्रधानमन्त्री हुने तर भट्टराईले जिते भने सांसद मात्रै हुने हुन् भन्दै कांग्रेस नेता कार्यकर्ताले भन्दै आइरहेका पनि छन् ।

त्यसैले यस क्षेत्रमा थापा र भट्टराईबीच चुनावी युद्ध चर्केको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा २०७४ सालको निर्वाचनमा राजन भट्टराई पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका थिए । गगनले २१ हजार ५५८ मत प्राप्त गरी विजयी भए । राजनको पक्षमा १८ हजार १४० मत खसेको थियो ।

गत बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा काठमाण्डु महानगरका वडातर्फ कांग्रेस बलियो देखिन्छ । यस क्षेत्रमा पर्ने बूढानीलकण्ठतिरका वडाको तथ्यांकले भट्टराईलाई बलियो देखाउँछ ।

महानगरका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा पर्ने कुल १२ वडामध्ये काठमाण्डुको ७, ८ र ३० मा मात्रै कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । क्षेत्रमा पर्ने ९ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।

स्थानीय तहको मतको आधार लिने हो भने यो क्षेत्रमा गठबन्धन उम्मेदवारको अवस्था केही बलियो बलियो देखिन्छ । काठमाण्डु–४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १६ हजार ८४ मत पाएको छ ।

स्थानीय तहमा एकीकृत समाजवादीले २ हजार ६८८ मत पाएको छ । माओवादी केन्द्रले  ८७३ मत पाएको थियो । स्थानीय तहको नतिजा हेर्दा थापालाई चुनाव जित्न केहीँ सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement