केरुङ-काठमाडौं रेलमार्गबारे मोडालिटी टुंग्याउन चिनियाँ टोली काठमाडौंमा


काठमाडौं – केरुङ-काठमाडौं रेलमार्गबारे छलफल गर्न सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन १४ सदस्यीय चिनियाँ टोली नेपाल आएको छ । सोमबार (अाज) हुने सचिवस्तरीय बैठकमा केरुङ(काठमाडौं रेलमार्गको डीपीआर बनाउने मोडालिटीमाथि छलफल हुनेछ ।

आयोजनाको डीपीआर पनि चीनले नै बनाइदिनुपर्ने पक्षमा नेपाल छ । तर, चीनले भने डीपीआरमा लाग्ने लागत बाँडफाँट गर्न प्रस्ताव गर्ने सम्भावना बढी रहेको रेल्वे विभागका एक उच्च अधिकारीले बताए । यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको छ । अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नुपर्ने हुन्छ । तर, प्रारम्भिक रिपोर्ट आएको ३ महिना वितिसक्दा पनि यसबारे दुई देशबीच औपचारिक सम्वाद भएको थिएन ।

अब छलफल अघि बढाउन चिनियाँ रेल मामिला हेर्ने डेपुटी एड्मिस्ट्रेटरसहितको टोली आइतबार नै नेपाल आएको छ । प्रारम्भिक रिपोर्टअनुसार केरुङ(काठमाडौं रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । साथै निर्माण सम्पन्न गर्न ९ वर्ष समय लाग्ने अनुमान छ । केरुङ-काठमाडौं रेलमार्गको कुल लम्बई करिब ७२.२५ किलोमिटर हुने देखिएको छ ।

यो रेलमार्गमा सजिलो भुगोल नपर्ने भएकाले झण्डै ९९ (९८.५५) प्रतिशत खण्डमा सुरुङ वा पुल बनाउनुपर्नेछ । चिनियाँ कम्पनी चाइना रेल्वे र्फस्ट सर्भे एन्ड डिजाइन इन्स्टीच्युटको रिपोर्टअनुसार प्रतिवेदन रेलमार्गमा ७ वटा सुरुङमार्ग हुनेछ ।

तर, यो आयोजनामा लगानी कसले, कसरी, कुन मोडालिटीमा गर्ने भन्ने तय हुन बाँकी छ । परियोजना प्रतिवेदन नै नबनेसम्म कर्मचारीस्तरमा यसबारे छलफल हुने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए ।

रेलमार्गको एलाइनमेन्ट मात्रै टुंगिएको र प्राविधिक विषय टुंगो लगाउन भोली यातायात मन्त्री रघुवीर महासेठसाग पनि चिनियाँ टोलीले छलफल गर्ने कार्यक्रम छ । यो टोली बुधबार स्थलगत अवलोकनका लागि पोखरा जाने कार्यक्रम छ । रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि सबै खर्च चिनियाँ पक्षले व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement