कोशीमा फेरि नयाँ विवाद : मतदान कार्य सकिएपछि दिएको मतले मान्यता पाउँछ ?


काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई पहिलोपटक मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेपछि विवाद सिर्जना भयो । सर्वाेच्च अदालतसम्म पुगेको विवाद निरुपण हुँदा मुख्यमन्त्री थापाको नियुक्ति बदर भयो ।

सभामुखले सरकार बनाउन पक्ष–विपक्षमा सहभागी हुन नपाइने फैसला गर्दै थापाको नियुक्ति बदर गर्‍यो । प्रदेश प्रमुखबाट पुनः दाबी पेश गर्न आह्वान भएपछि सत्तारुढ गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर दाबी पेश गर्‍यो ।

दाबी पेश गर्ने प्रक्रिया ठीकठाक भए पनि विश्वासको मत लिने प्रक्रिया विवादित बनेको छ । उपसभामुख सिर्जना दनुवार बिरामी परेपछि सभाध्यक्षको जिम्मेवारी पाएका इसरायल मन्सुरीले विश्वासको मत लिने प्रस्तावको पक्षमा मतदान गरेपछि नेकपा एमालेले तत्कालै विरोध गर्दै नाराबाजी गरेको छ । एमालेको नाराबाजीबीच सभाध्यक्ष मन्सुरीले मत विभाजनको परिणाम सुनाउँदै मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका छन् । उनको घोषणाअनुसार प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत परेको छ ।

मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेर प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । तर सभाध्यक्ष मन्सुरीले गरेको मतदान उनले नै सुनाएको मत विभाजन प्रक्रियाभन्दा ढिला गरिएको देखिन्छ । मत विभाजन प्रक्रियाबारे बुझ्नुअघि छलफलका क्रममा उठेका धारणाबारे बुझौं ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका दल नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सभामुखले मत बराबर भएको बेला मात्रै मतदान गर्ने प्रावधान अन्य प्रस्तावको सन्दर्भमा लागू हुने र विश्वासको मतमा मतदान गर्न पाइने तर्क गरेका थिए ।

छलफलकै क्रममा नेकपा एमालेले सभाध्यक्षले मतदान प्रक्रियामा सहभागी हुन नहुने धारणा राखिसकेको थियो । नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भनेका थिए, ‘बहुमत पुर्‍याउने नाममा संविधानको ठाडो उल्लंघन हुने व्यवहार कहीँकतैबाट नहोस् । नेकपा एमाले त्यसलाई सामान्य ढंगले लिन मन्जुर छैन । त्यसलाई असामान्य ढंगले लिनुपर्छ, त्यही अनुसारका काम अगाडि बढाउनुपर्छ । संविधानको हूर्मत लिने दुष्प्रयास नगर्नुहोस् । संविधान र कानूनको विषयलाई मनगढन्ते, स्वार्थपूर्तिका निम्ति व्याख्या गर्ने प्रयास नगर्नुहोस् ।’

प्रदेशसभा बैठकमा छलफल सकिएपछि मत विभाजन प्रक्रिया सुरु गरिएको थियो । प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मत विभाजन गरिने बताउँदै सभाध्यक्ष मन्सुरीले ‘मत विभाजन गर्दा अपनाइने प्रक्रिया’ प्रदेशसभा बैठकमा सुनाएका थिए ।

उनले भनेका थिए –

– बाहिर रहेका माननीय सदस्यहरूलाई सभाहलमा प्रवेश गर्न मौका दिन ५ मिनेट विभाजन घण्टी बनाइनेछ
– त्यसपछि ढोका बन्द गरिनेछ
– ढोका बन्द गरेपछि हस्ताक्षरका लागि टेबुल राखिनेछ
– हुन्छ भन्ने पक्षका सदस्यहरूले सभामुख आसनको दायाँतर्फको टेबुलमाथि राखिएको नामावलीको दस्तखत महलमा दस्तखत गर्नुपर्नेछ
– हुन्न भन्ने पक्षमा हुने सदस्यहरूले बायाँतर्फको टेबुलमा राखिएको नामावलीको दस्तखत महलमा दस्तखत गर्नुपर्नेछ
– मत दिन्न भन्नेले सभामुखको सिधै अगाडिको टेबलमा दस्तखत गर्नेपर्नेछ
– मत दिइसकेपछि कुनै सदस्यले आफ्नो मत सच्याउन चाहने भएमा मतदान कार्य सकिएको ३ मिनेटभित्र माग गरेमा मत सच्याउन दिइनेछ

सभाध्यक्ष मन्सुरीले सुनाएको प्रक्रिया ‘मतदान कार्य सकिएको ३ मिनेटमा मत सच्याउन दिइने’ समय समेत सकिएपछि उनले अध्यक्षमण्डलका सदस्य गीता तिमिल्सिनालाई सभाध्यक्षको आसन ग्रहणका लागि बोलाउँछन् । त्यसपछि मतदान गर्न नामावली राखिएको ठाउँमा जान्छन् ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गर्दै विरोध जनाएको थियो तर सभाध्यक्ष मन्सुरीले मतदान गरेर आएर मत परिणाम घोषणा गर्दै मुख्यमन्त्री थापाले विश्वासको मत पाएको जनाएका छन् ।

थापा मुख्यमन्त्री बनेको पहिलोपटक जस्तै दोस्रोपटक पनि विश्वासको मत लिएको विषय विवादित बनेको छ । नेकपा एमालेले अब त्यसविरुद्ध कदम चाल्ने देखिएको छ ।

यस्तो अवस्थामा सभाध्यक्ष मन्सुरीले नै सुनाएको मत विभाजन प्रक्रियाबमोजिम मतदान कार्य सकिएपछि उनले गरेको मतदानले मान्यता पाउँछ ? कोशी प्रदेशको राजनीति अब कसरी अगाडि बढ्छ ? हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement