काठमाण्डु-१ : मिश्र, सिंह र पौडेलबीच त्रिपक्षिय भिडन्त, कसले मार्लान बाजी ?


काठमाण्डु – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाण्डु क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् ।

सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाण्डु जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ ‘क’मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नं १ ‘ख’मा नौ राजनीतिक दल र स्वतन्त्रबाट ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाण्डु क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिए । त्यहाँ राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका हेभिवेट नेता प्रकाशमान सिंह र नेकपा एमलेका युवा उम्मेदवार किरण पौडेलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

यद्यपि, लोकप्रिय छविका पूर्वडीआईजी रमेश खरेल र स्वतन्त्र पार्टीका घण्टीछाप उम्मेदवार पुकार बम पनि सोही क्षेत्रबाट चुनावी दौडमा छन् । यस क्षेत्रमा यसपालीको राजनीतिक परिवेश र माहोल निकै फरक छ । मिश्र गणतन्त्रवादीबाट राजतन्त्रवादी बनेका छन् ।

संघीयता र हिन्दू–बौद्ध राष्ट्रको पक्षमा उभिएका छन् । र, सबैभन्दा महत्वपूर्ण उनी विवेकशील–साझाका अध्यक्षबाट पूर्वपञ्चहरूको पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष बनेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका सिंहसँग पराजित भएका उनलाई यसपटक पनि जित निकाल्न सजिलो छैन ।

अघिल्लो ०७४ को निर्वाचनमा तत्कालिन विवेशशील साझाका मीश्रलाई पराजित गरेका सिंह त्यस क्षेत्रमा बलियो देखिन्छन् ।
काठमाण्डुमा आफ्नै राजनीतिक लिगेसी भएका भेट्रान नेता हुन् उनी । राष्ट्रिय राजनीतिमा प्रकाशमान बहुत प्रभावशाली र लोकप्रिय नेता होइनन् । तर, आफ्नो निर्वाचन क्षेत्रमा उनको बलियो पकड छ ।

त्यसमा पनि कांग्रेसको आफ्नो भोट र गठबन्धनको समर्थनका कारण उनी आफ्नो जित पक्का रहेको बताउँछन् । तर उनले सोचेजस्तो सजिलो भने उनलाई पक्कै हुनेछैन । किनकी त्यहाँ विशेषगरि काभ्रेलीहरुको भोट महत्वपूर्ण हुने अनुमान गरिन्छ । काभ्रेलीहरूको भोट स्वतन्त्र उम्मेदवार रमेश खरेलतिर जाने र करुवा चिन्हको बीपी कांग्रेसका उम्मेदवारले पनि उनको केही भोट काट्नसक्ने अनुमान छ ।

यता एमालेका उम्मेदवार युवासंघका अध्यक्ष पौडललाई जित निकाल्न सहज छैन । एमालेले पौडेललाई उठाएर युवामत आकर्षित गर्न खोजेको छ । तर, उनको दाबेदारी कति बलियो छ अहिल्यै भन्न सकिँदैन । गत स्थानीय चुनावमा पाएको मतलाई हेर्दा उक्त क्षेत्रमा कांग्रेस पहिलो दल हो ।

उक्त चुनावमा वडाअध्यक्षहरूले प्राप्त गरेको कुल मत परिणाममा एमालेभन्दा कांग्रेस थोरै मतले मात्रै अगाडि छ । यस क्षेत्रमा काठमाण्डु महानगरपालिकाका १०, ११, २९ र ३१ वडाहरू पर्छन् । यी समग्र वडाबाट कांग्रेसका वडाध्यक्षहरूले ९ हजार ८ सय ९५ र एमालेका वडाध्यक्षहरूले ९ हजार ५ सय ४१ मत पाएका छन् । माओवादी केन्द्रलाई आएको ११ सय ५९ मत कांग्रेसको मतमा गाभिँदा सिंह पौडेलभन्दा केही अगाडि देखिन्छन् ।

यस क्षेत्रका वडाहरूमा राप्रपाको ११४९ मत छ भने विवेकशील साझाको मत नगण्य छ । त्यसैले राप्रपाका मिश्रले पार्टीगत भोटबाट खासै आशा राख्न सक्दैनन् । कांग्रेसका सिंहलाई भने पार्टीगत भोट नै काफी हुन सक्छ । एमालेका पौडेलले पार्टीका भोट सुरक्षित राख्दै युवा जनमत आकर्षित गर्न सके आशा राख्ने ठाउँ छ ।

सुशासन पार्टीका खरेल र स्वतन्त्र पार्टीका बम तटस्थ मतदाताहरूमा भर पर्नुपर्नेछ । यसअघि प्रकाशमानमा जाने गरेका मत यसपटक बाँडिए भने नतिजा फेरिन पनि सक्छ । कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘क’मा २६ हजार चार सय ३५ र प्रदेशसभा ‘ख’मा १८ हजार पाँच सय ८३ मतदाता छन् । तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता रहेका छन् ।

सो क्षेत्रमा काठमाण्डु महानगरपालिकाका चारवटा वडा समेटिएका छन् । यस निर्वाचन क्षेत्रमा काठमाण्डु महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन् । प्रदेशसभा ‘क’तर्फ काठमाण्डु महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाण्डु महानगरको ३१ वडा समेटिएको छ । काठमाण्डु क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement