हामी सबैसँग मित्रता प्रगाढ बनाउन चाहन्छौं,नेपाल कुनै पनि किसिमको प्रतिस्पर्धासँग जोडिदैन: परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं – नेपालले निकैपछि अमेरिकाको राजनीतिक नेतृत्वसंग संवाद सुरु गरेको छ । चीन र भारतसंगको सम्बन्धलाई मात्र पछिल्लो दिनमा नेपालले महत्व दिएको भन्दै पछिल्लो समय सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अमेरिका भ्रमण भएको छ । उनले आफ्ना अमेरिकी समकक्षीसंग निकै महत्वपूर्ण मुद्दामा छलफल समेत गरेका छन् । विविसीका फणिन्द्र दाहालले अमेरिकामा परराष्ट्रमन्त्री ज्ञवालीसंग छोटो अन्र्तवार्ता गरेका छन् । उनको अन्र्तवार्तालाई हामीले उपयुक्त ठानेर यहां साभार गरेका छौं – 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगको आफ्नो भेटवार्तापछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले संयुक्त राज्य अमेरिकासँगको सम्बन्धलाई थप मजबुत प्रगाढ बनाउनेतर्फ ध्यान दिने बताएका छन्।

उनले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालको परराष्ट्र सम्बन्ध भारत र चीनसँग बढी केन्द्रित भएको स्वीकार गर्दै विभिन्न देशहरू र विकास साझेदारहरूसँग बलियो सम्बन्ध कायम गर्न अहिलेको सरकार क्रियाशिल हुने बताए।

उनले नेपालले राष्ट्रिय स्वार्थलाई ध्यान दिएर कूटनीतिक सम्बन्ध सञ्चलान गर्ने पनि बताएका छन्।

१७ वर्षपछि नेपाल र अमेरिकाबीच पराराष्ट्र मन्त्रीको तहमा स्थानीय समयअनुसार म‌ंगलवार अपरान्ह वार्ता भएको थियो।

अमेरिकी विदेशमन्त्रीसँगको तपाईँको भेटवार्ता कस्तो रह्यो?

भेटवार्ता एकदमै महत्त्वपूर्ण र सौहार्दपूर्ण रह्यो। छलफल एकदमै उपलब्धिपूर्ण भएको छ। लामो अन्तरलपछि दुई देशबीच यो स्तरमा कुराकानी भएको हो। ठूलो अपेक्षा बोकेर म यहाँ आएको थिएँ त्यो अपेक्षा प्रभावकारी रूपमा पुरा भएको महसुस गरेको छु।

त्यो भेटवार्तामा तपाईँले के कुरा राख्नुभयो?

मुलत नेपाल र अमेरिकाबीच सात दशक लामो घनिष्ट सम्बन्ध रहेको छ। त्यसलाई कसरी उचाइमा पुर्‍याउने र थप घनिष्ट बनाउने भन्ने हिसाबमा हामीले कुराकानी गर्यौं। हामीले नेपालमा ठूलो उपलब्धि हासिल गरेका छौं र मौलिक ढंङ्गले हाम्रो शान्ति प्रकिया सम्पन्न पनि भएको छ।

नेपालमा राजनीतिक स्थायित्व हासिल भएको छ र अब हामी आर्थिक विकासमा अघि बढ्न खोजिरहेका छौं। मैले नेपालको आर्थिक विकास र समृद्धिको लागि अमेरिकी सरकार र यहाँको निजी क्षेत्रबाट सहयोगको अपेक्षा गरेको कुरा राखे।

अहिले पनि नेपाललाई सबैभन्दा बढी आधिकारीक तवरले सहयता उपलब्ध गराउने देश अमेरिका हो।

विदेशमन्त्री पोम्पेओले नेपालमा लगानीका लागि अमेरिकी निजी क्षेत्रलाई उत्प्रेरित गर्ने कुरा मसँग गर्नुभएको छ।

तपाईँले ठूलो अपेक्षा राखेर अमेरिका आएको त्यो पूरा भएको आफूले ठानेको बताउनुभयो। के आधारमा त्यस्तो भन्नुहुन्छ?

हामीले ठूलो अपेक्षा राखेका छौं। त्यो पूरा भएको छ। पछि व्यवहारमा पनि देखिन्छ। मूल कुरा नेपालका विकास प्राथमिकतामा अमेरिकी प्रतिक्रिया कस्तो रहन्छ त्यो महत्त्वपूर्ण हो।

हामीले उहाँहरू सकारात्मक रहेको पाएका छौं। अमेरिकी विदेशमन्त्रीले नेपाललाई भरपर्दो साथ रहने कुरा बताउनुभएको छ यो महत्त्वपूर्ण कुरा हो।

तपाईँहरुबीच कुनै क्षेत्र विशेषमा सहयोग बढाउने भन्ने हिसाबमा कुरा भयो?

हामीले आर्थिक विकासका धेरै क्षेत्रमा कुराकानी गरेका छौं। आर्थिक विकासका लागि पाँच वटा क्षेत्र पहिचान गरेका छौं।

कृषि, पूर्वाधार, जलश्रोत, मानव स‌ंशाधन र पर्यटनका क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गरेका छौं। उहाँहरूले ७७ वटा नेपाली उत्पादनमा अहिले भन्सार छुट दिइरहनु भएको छ।

हामीले थप किसिमका प्राविधिक सहायताका लागि पनि आग्रह गरेका छौं। त्यसबाहेक आगामी मार्च महिनामा नेपालमा गर्न लागिएको लगानी सम्मेलनमा अमेरिकी कम्पनीहरूको सहभागिताका लागि पनि अनुरोध गरेका छौं।

अमेरिकाले यसअघि नै नेपालमा विद्युत र सडकका लागि ६५ अर्ब रूपियाँ उपलब्ध गराएको छ र त्यसमा अहिले काम भइरहेको छ। आगामी दिनमा दुई देशबीचको सहकार्य थप बढ्दै जान्छ।

_104870253_45459572895_efe9b17540_b.jpg

नेपालले हालैका वर्षमा भारत चीनसँगको सम्बन्धलाई बढी प्राथमिक्ता दिएको अरू देशहरूसँगको कूटनितिक सम्बन्धलाई खासै ध्यान नदिएको भन्ने टिकाटिप्पणीहरू हुने गरेका छन्। यसमा तपाईँ के भन्नुहुन्छ?

लामो समयसम्म कायम राजनीतिक अस्थिरताका कारण तपाईंले भने जस्तै हाम्रो विदेश सम्बन्ध प्रभावकारी हुन नसकेको यथार्थ हो। विगतमा छिटो छिटो सरकार परिवर्तन हुँदा त्यसको प्रभाव हाम्रो विदेश सम्बन्धमा पनि पर्यो।

खासमा सरकार फेरिने बित्तिक्कै परराष्ट्र नीति फेरिनुहुँदैन। अस्थिरताका कारण हामी छिमेकमा मात्रै अल्झियौं, अहिले आएर हामीले त्यसलाई चिरेका छौं।

मेलै जापान लगायत कतिपय देशमा गरेका भ्रमण र भेटवार्ता त्यसको उदाहरण हो। आगामी दिनमा प्रधानमन्त्रीले गर्ने विदेश भ्रमणहरूले पनि यसलाई थप पुष्टि गर्दै जानेछ।

अन्य देशहरू र हाम्रा सबै विकास साझेदारहरूसँग मजबुत सम्बन्ध कायम राख्न हामी सक्रिय रहनेछौं।

नेपालले अमेरिकासँगको सम्बन्धलाई चाँहि कतिको प्राथमिक्ता दिएको ?

हामीले उच्च प्राथमिकता दिएका छौं। अमेरिका नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने दोस्रो देश हो। अमेरिकासँग दौत्य सम्बन्ध कायम भएपछि त्यसले अरू बाह्य सम्बन्ध कायम गर्न हाम्रो ढोका खोलेको थियो।

यो सम्बन्धलाई विगतमा नै थप उपयोगी बनाउन सकिन्थ्यो। विगतमा त्यसलाई प्रभावकारी बनाउन नसकेको साँचो हो। अब हामी यसलाई थप प्रभावकारी र मजबुत बनाउने छौं।

अमेरिका सहित कतिपय पश्चिमा देशले नेपाल पछिल्लो समयमा चीनसँग नजिकिएको भनेर आश‌काहरू व्यक्त गर्ने गरेको बताइन्छ। त्यस्तो कुनै छनक पाउनुभयो?

तपाईंले भनेजस्ता चासो बेला बेलामा प्रकट हुन्छन्। तर हामीले हाम्रा सबै मित्रहरूलाई आश्वस्त पारेका छौं की हामी सन्तुलनलाई प्राथमिकतामा राख्छौं।

र, हामी कतैतिर पनि ढल्किएका छैनौं। राष्ट्रिय हितलाई केन्द्रमा राखेर हामीले हाम्रो विदेश सम्बन्ध सञ्चालन गरिरहेका छौं। हामी सबैसँग मित्रता प्रगाढ बनाउन चाहन्छौं।नेपाल कुनै पनि किसिमको प्रतिस्पर्धासँग जोडिदैन। त्यसो गर्ने हैसियत पनि हामीसँग छैन र रूची पनि छैन।विभिन्न देशका विश्वव्यापी प्रतिस्पर्धालाई आ-आफ्नो आँखाले हेर्ने उहाँहरूको कुरा हो। हामी हाम्रै ढंङ्गले सबैसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्छौं।

प्रतिक्रिया दिनुहोस
Advertisement