ऊर्जामन्त्री पुनको सफलताः प्राधिकरण ७ अर्ब २० करोड नाफामा, चुहावट घट्यो


काठमाडाैँ-‘विद्युत् चुहावट नियन्त्रण, प्रसारण तथा वितरण लाइनको निर्माण, वित्तीय सुधार लगायतमा नेपाल विद्युत प्राधिकरणको राम्रो प्रगति भएको छ।’

विद्युत प्राधिकरणको मुनाफा १४९ ले बढेर आर्थिक वर्ष २०७५-७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएपछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  यसरी जानकारी गराइरहँदा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन उत्साहित देखिन्थे ।

जबकि, अघिल्लो आर्थिक वर्ष ०७४-७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ९० करोड रुपैयाँ थियो। प्राधिकरणले यसलाई ४ अर्ब ३० करोडले बढाएको हो।
पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२-७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ ।

प्राधिकरण संचालक समितिका अध्यक्ष समेत रहेका पुनले आगामी रणनीति सार्वजनिक गर्दै भने, ‘१ हजार मेगावाट देशभित्रै खपतको वातावरण बनाउन सरकार केन्द्रित छ।’ सरकारले विद्युतीय सवारीको प्रयोगलाई बढवा दिएको बताउँदै पुनले विद्युतीय सवारी साधनलाई लक्षित गर्दै चार्जिङ स्टेशन सञ्चालनसम्बन्धी कार्यविधि एक÷दुई दिनभित्रै टुङ्गो लगाइने समेत जानकारी दिए।

प्राधिकरण विद्युत चुहावटमा पनि नियन्त्रण गर्न सफल भएको छ। आर्थिक वर्ष ०७५-०७६ मा विद्युत् चुहावटलाई १५.३२ प्रतिशतमा राख्न सफल भएको छ, प्राधिकरण । जुन अघिल्लो आर्थिक वर्षको २०.७८ प्रतिशतको तुलनामा ५.१३ प्रतिशतले कमी हो । आव २०७२-७३ मा कुल चुहावट २५.७८ प्रतिशत रहेकामा तीन वर्षभित्र  १०.४६ प्रतिशतले कमी आएको छ ।

उत्साहित हुँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,‘दक्षिण एसियाली मुलुकमा करीब १० प्रतिशत चुहावटलाई एउटा मापदण्ड तोकिएको छ, हामी करीब सो मापदण्डमा टेक्ने अवस्थामा पुगेका छौँ।’ प्राधिकरणले सरकारको ढुकुटीमा १५ अर्ब ५९ करोड दाखिला गरेको छ ।

हुन् पनि प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, बितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाएको छ। कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत चुहावटमा इतिहासमै काम बनाउन सफल भएका छौँ ।’

गत आवसम्ममा ग्रीडमा आवद्ध भै विद्युत उपभोग गर्ने जनसंख्या करिब ७८ प्रतिशत अर्थात ४५ लाख पुगेको छ। यो तथ्यांक आव ०७४÷७५को तुलनामा करिब १० प्रतिशतले बृद्धि हो।

भारतर्फ विद्युत निर्यात ३ करोड ४७ लाख युनिट रहेको छ। निजी क्षेत्रको विद्युत किन्नका लागि १४ अर्ब १३ करोड र आयाततर्फ २३ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ। ३२ करोड रुपैयाँको विद्युत निर्यात भएको छ। गत आवमा ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।

रुग्ण आयोजना धमाधम सम्पन्न हुँदै
कुनै बेला रुग्ण अवस्थामा रहेका आयोजना धमाधम सम्पन्न हुन थालेका छन्। प्राधिकरणले गत आवमा रुग्ण अवस्थामा रहेका ३८ आयोजनाको निर्माण सम्पन्न गरेको हो ।

विविध उल्झनमा फसेर लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्णमध्ये उत्पादनतर्फ एक, प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ आयोजना गत आवमा सपन्न गरिएको मन्त्री पुनले जानकारी दिए।त्रिशूली ३ ‘ए’ (६० मेगावट) तथा काबेली करिडोरलगायत ३८ रग्ण आयोजना सो अवधिमा सम्पन्न भएका छन् । काम अगाडि बढाउन नसकिएका १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया शुरु गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement