नेपाल-चीन सम्बन्धमा सीको सन्देश : कर्मकाण्डी कि अर्थपूर्ण ?


काठमाण्डु– नेपालको उत्तरी छिमेकी चीनसँग पछिल्लो समय कूटनीतिक सम्बन्ध प्रगाढ हुँदै गएको देखिन्छ । काठमाडौंमा चिनियाँ पक्षको कूटनीतिक र राजनीतिक सक्रियता समेत बाक्लिएको छ ।

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेताहरूको दैलोदैलोमा पुगिन् । त्यसलाई नेकपाको एकता कायमै राख्न चीनले सदासयता व्यक्त गरेको रूपमा अर्थ लगाइयो ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गरेपछि चीनले नेपाललाई महत्व दिन थालेको बुझिएको थियो । त्यसअघि चिनियाँ पक्षसँग नेपालले विभिन्न विकास सम्झौता गर्दै आएको छ ।

संविधान जारी भएपछि भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीताका नेताहरूले उत्तरी छिमेकी चीनलाई सम्झिएका थिए । दैनिक उपभोग्य वस्तु चीनबाटै ल्याउन सकिने गरी पहुँचमार्ग निर्माण गर्ने घोषणा गरिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट रेल आउने भाषण गर्दै आएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच समेत पटक–पटक राजनीतिक स्तरमा छलफल र बैठक हुँदै आएका छन् । राजनीतिक र कूटनीतिक सक्रियता घनिभूत भइरहेको बेला चिनियाँ पक्षको सहयोगमा बन्ने भनिएका ठूला विकासका परियोजना कसरी अगाडि बढिरहेका छन् ? दृश्य र चर्चामा केही देखिएको छैन ।

चिनियाँ सहयोगमा नेपालभित्रै थुप्रै सडकदेखि विकास निर्माण कार्य भइरहेका छन्, सहयोग आदानप्रदान पनि भइरहेको छ । तर जुन मात्रामा प्रचार र अपेक्षा गरिन्छ, त्यो मात्रामा काम भएको देखिएको छैन । नेपालको दक्षिणतिर रहेको एकपक्षीय परनिर्भरता घटाउने अपेक्षा पूरा गर्न चीनतिर सडक, रेल लगायत पहुँचमार्ग निर्माणको गति देखिएको छैन ।

औपचारिकता र कर्मकाण्डमा भने नेपाल–चीन सम्बन्ध प्रगाढ र सुमधुर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारततिर पटक–पटक व्यंग्य प्रहार गर्छन्, भारतले समेत नेपाली भूमिमा गिद्धे नजर लगाउँछ । तर चीनसँग नेपालको केही विवाद छैन ।

नेपाल–चीन औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा चीनका राष्ट्रपति सी चिनफिङले शुभकामना सन्देश दिँदै चीन–नेपाल सम्बन्धलाई थप घनिभूत बनाउनु महत्त्वपूर्ण जनाएका छन् । चीनको सरकारी सञ्चारमाध्यम सीजीटीएनको अनलाइन संस्करण अनुसार सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर अघि बढाउनका लागि आफू नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

राष्ट्रपति सीले दुई देशका जनताको बृहत्तर हितका लागि र क्षेत्रीय स्थिरता तथा विकासका लागि राष्ट्रपति भण्डारीसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । गत वर्ष असोजमा भएको नेपालको राजकीय भ्रमण गरेको र द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको तहमा उकालेको पनि राष्ट्रपति सीले जनाएका छन् ।

चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको समयदेखि नै दुई देशले एकअर्काको सम्मान गरेको, एकअर्कालाई समान हैसियतमा सम्मान दिएको, पारस्परिक राजनीतिक विश्वास हासिल गरेको र पारस्परिक हितका लागि सहकार्य गरेको सीले उल्लेख गरेका छन् ।

चीनका प्रधानमन्त्री ली खछ्याङले समेत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुभकामना सन्देश आदानप्रदान गर्दै कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्नका लागि दुई देशले काम गरेसँगै पारस्परिक विश्वास र मित्रता थप बलियो बनेको बताएका छन् । चीनले नेपालसँगको व्यापक सहकार्यलाई थप मजबुत बनाउन चाहेको र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने इच्छा व्यक्त गरेको उनले जनाएका छन् ।

शुभकामना आदानप्रदान, औपचारिक कार्यक्रम र बैठकमा मन खोलेर विचार व्यक्त हुने गरे पनि दीर्घकालीन महत्वका परियोजना सञ्चालनमा तीब्रता आउन सकेको देखिएको छैन । ठूलो परियोजना सञ्चालनका लागि पटक–पटक दुवै सरकारबीच सम्झौता समेत भएका छन् । तर प्रगतिले गति लिएको देखिएको छैन । चीनबाट रेल आउने बहुप्रचारित सपना कहिले पूरा होला ? कुनै यकिन तिथिमिति र समयसीमा छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement