नेपाल–भारत सम्बन्धमा यक्षप्रश्न: सीमाको झमेला थाती राख्ने कि टुंग्याएर अगाडि बढ्ने ?


काठमाण्डु – भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले काठमाण्डु आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि दुवै देशबीच अनवरत संवाद भइरहेको छ ।

भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणे र विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपाल भ्रमणसम्म आइपुग्दा नेपाल–भारत सम्बन्ध सुधारको वार्ता राजनीतिक तहसम्म पुग्ने संकेत स्पष्ट देखिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमण र नेपालले नयाँ नक्सा जारी गरेपछि केही महिना औपचारिक संवाद नै हुन सकेको थिएन ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै नेपाल र भारतबीच कुनै समस्या नरहेको दाबी गरेका छन् ।

‘मैले भनिहाले – कुनै घटनालाई न्यायको अन्तिम गजको रूपमा नलिनुहोस् । समस्याहरू छन् । एकअर्काबीच समस्या नै नभएका २ छिमेकी मुलुक कहाँ छन् र ? आज हाम्रा अधिकांश छिमेकी देश लोकतान्त्रिक छन् । यसको अर्थ, उनीहरूको आफ्नो राजनीति छ र हाम्रो पनि आफ्नो राजनीति छ । यसमा मुद्दाहरू आउँछन् । वार्ता र संवादबाट सम्बन्ध समाधान गर्छाैं ।’

भारतीय विदेशमन्त्री जयशंकरले नेपालबारे दिएको सकारात्मक प्रतिक्रिया सँगसँगै नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी गरिरहेको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली यसै डिसेम्बरको दोस्रो हप्ता भारत भ्रमणमा जाने तयारीमा छन् । ज्ञवालीले आफ्नो भारत भ्रमणका क्रममा सीमाको झमेलालाई प्रमुख एजेन्डा बनाएर उठाउने जनाएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले यसको संकेत गरेका हुन् ।

मंसिर १५ गते रिपोर्टस् क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल र भारतबीचको संवाद पूूर्व स्थितिमै फर्केको जनाएका थिए । ‘भारतसँगको सम्बन्ध र संवादको स्थिति ट्रयाकमा फर्केको छ,’ उनले भनेका थिए, ‘दुवै देशबीच माथिल्लो तहमा एकीकृत रूपमा छलफल गर्न परराष्ट्र मन्त्रीस्तरको संयुक्त समितिको आगामी डिसेम्बरमा हुने बैठकपछि एउटा ‘कोर्स’ लिनेछ ।’

भारतीय विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सीमा समस्यालाई समाधान गर्ने विषय प्रमुखताका साथ उठाएको खबर प्रधानमन्त्री ओलीको निजी वेबसाइट ‘केपीशर्माओली डटकम डटएनपी’मा लेखिएको छ । विदेश सचिवसँगको भेटमा ओलीले भनेको भनाइ खबरमा लेखिएको छ, ‘हामी २ देशबीचको आपसी र बहुआयामिक सम्बन्धलाई एक्काइसौं शताब्दी अनुकूल तथा युग सुहाउँदो हिसाबले थप गतिशील र सुमधुर बनाउन चाहन्छौं । सीमालगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपमा समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं । हाम्रा बीचका सीमा विवाद अहिले एकाएक सिर्जना भएका होइनन् । इतिहासले विरासतका रुपमा छाडेका समस्या हुन् । यसलाई थाँती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौं । यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु ।’

नेपाल–भारत सीमा झमेलालाई सरकारले गम्भीरताका साथ उठाएको प्रचार गरिएपनि यसको निष्कर्षको खाका स्पष्ट भइसकेको छैन । दुवै पक्षले सम्बन्ध राम्रो रहेको र वार्ताबाट समाधान गरिने भनिरहँदा भारतले नेपाली भूमि छाड्न लागेको हो ? अहिले पनि नेपालको कालापानी क्षेत्रमा भारतीय सैनिक बसिरहेका छन् ।

भारतले विश्वव्यापी ध्रुवीकरण र सामरिक स्वार्थका लागि छिमेकी देशसँग सम्बन्ध विस्तार गर्न खोजिरहेको छ । उसले सीमा झमेला समाधान गरेर अन्य सम्बन्ध अगाडि बढाउने हो कि सीमा झमेला थाती राख्ने हो ? स्पष्ट भइसकेको छैन । वार्ता हुने, छलफल गर्ने र सहमति खोज्ने विषयमै अल्झिएको छ हालसम्मका भ्रमण र भेटवार्ता । राजनीतिक रूपमा मन्त्रीस्तरमा हुने भ्रमणले सीमा झमेला समाधानबारे ठोस संकेत गर्ला कि नगर्ला ? प्रतिक्षाको विषय बनेको छ ।

नेपाल–भारत सम्बन्ध अगाडि बढाउनुअघि सीमाको झमेला यक्षप्रश्न बनेको छ । सीमा समस्या समाधान नभई अन्य विषयमा सम्बन्ध अगाडि बढ्ने र बढाउने अवस्था देखिँदैन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले अध्ययन गरेर तयार पारेको प्रतिवेदन समेत भारतीय प्रधानमन्त्रीले बुझ्न नमानेपछि अलपत्र छ । सम्बन्ध सुधारका लागि ईपीजी गठन गरिएको थियो । पुराना विषय टुंगोमा नपुग्दै पुनः सीमा र नक्साको विषय सतहमा आएको छ । यस्तो जटिल परिस्थितिमा नेपाल–भारत सम्बन्ध कसरी अगाडि बढ्ला ? भविष्यमा देखिने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement