निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि : मानव अधिकार आयोग


भीमदत्तनगर – राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुवाती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ ।

कञ्चनपुर भीमदत्तनगरमा विहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले बालिका पन्त हत्या प्रकरणमा जुन प्रक्रियाबाट प्रहरी÷प्रशासनले अनुसन्धान गर्नुपर्ने हो, त्यो नभएको आयोगको ठहर रहेको बताए।

“जिम्मेवार व्यक्तिबाट अनुसन्धानमा गम्भीरता देखिएन”, उनले भनिन्, “घटनाको प्रमाण सङ्कलनमा पनि त्रुटि देखिन्छ ।”घटनापछि मानव अधिकार आयोगको टोली कञ्चनपुरमै रहेर घटना र उत्पन्न स्थितिको अनुसन्धान र अनुगमनमा रहेको आयोगले जनाएको छ ।

कञ्चनपुर आइपुगेको आयोगको टोलीले आजै पीडित परिवारका सदस्य, घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका व्यक्ति लगायतसित भेटसमेत गरेको प्रवक्ता अन्सारीले पत्रकार सम्मेलनमा जानकारी दिईन् । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारदेखि नेपाल प्रहरीसितको सहकार्यमा महिलाहिंसा न्यूनीकरण एवं मानव अधिकार संरक्षणमा प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियानको प्रारम्भ गरिरहेको छ ।

बालिका पन्तको प्रहरीबाट भइरहेको अनुसन्धान प्रगतिको अवस्था , घटनाको स्थलगत अनुगमन एवं निरीक्षणका साथै सो घटना सम्बन्धी अनुसन्धान तथा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन टोलीसित समेत छलफल गरेको छ । आयोगद्वारा जारी विज्ञप्तिमा घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा शुरुवाती अवस्थामा नै प्रहरीले अनुसन्धानकार्य प्रक्रियासङ्गत नभएको आयोगको प्रारम्भिक अनुसन्धानको निश्कर्ष रहेको जनाएको छ ।

त्यसैगरी मानव अधिकार आयोगको प्रदेश नं ७ को कार्यालयमा महिला हिंसासम्बन्धी गत आर्थिक वर्षमा २० वटा उजुरी परेको र हाल उक्त उजुरीमाथि अनुसन्धान भइरहेको जनाएको छ । महिलाहरुको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले प्रारम्भ गर्न लागिएको राष्ट्रिय अभियानका क्रममा सबै प्रदेशसहित काठमाडौँमा समेत सरोकारवालाबीच विभिन्न कार्यक्रम आयोजना हुने विज्ञप्तीमा उल्लेख छ ।

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाका सम्बन्धमा हाल उच्चस्तरीय छानबिन समिति, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement