प्रहरीमा वैशाख १९ पछी आईजीपीको प्रतिस्पर्धा : पोखरेल र धानुक दौडमा अघि


काठमाण्डु– स्थानीय निर्वाचन नजिक आउंदै गर्दा नेपाल प्रहरीमा नयां नेतृत्वको लागि तिव्र प्रतिस्पर्धा सुरु भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यही वैशाख १९ मा अनिवार्य अवकाश पाउंदैछन् । उनिसंगै उनका ब्याची एआईजीहरु हरि पाल, प्रधुम्न कार्की र निरज शाहीले पनि एकै दिन अवकास पाउंदैछन् ।

प्रहरीमा भर्खरै बढुवा भएका एआईजी बसन्त पन्त समेत थापासंगै अवसकास पाउन लागेका छन् । त्यसपछी प्रहरीमा नेतृत्वको लागि पछिल्लो ब्याचबाट प्रतिस्पर्धा हुंदैछ । हाल प्रहरीमा आईजीपीका लागि २०४९ चैत्र ११ गते प्रहरी निरीक्षकको वैकल्पिकमा भर्ना भएका विश्व पोखरेल,सहकुल थापा,धिरजप्रताप सिंह र रविन्द्र धानुक प्रतिस्पर्धामा छन् ।

उनिहरु चारै जना डीएसपी(२०६२,जेठ २२) र एसपी (२०६९,माघ ११) मा बढुवा हुंदा एकै साथ भएपनि त्यसपछी भने चारै जनामध्ये कहिले कसैले कहिले कसैले बढुवामा उछिनेका थिए । एसएसपीमा भने पोखरेल,सिंह र धानुक एकसाथ बढुवा भएपनि थापा बढुवामा छुटेका थिए ।

तर, डीआइजीमा भने पौडेलले आफ्ना व्याचीहरुलाई उछिनेर बढुवा भएका थिए । नेपाल प्रहरीका डीआईजी सुशील भण्डारीको काभ्रेमा सड्क दुर्घटनामा निधन भएपछी उनको ठाउंमा ०७६ वैशाख १९ मा पोखरेल डिआईजीमा बढुवा भएका थिए ।

त्यसपछी २०७६ चैत २८ (११ महिनापछी) मात्र थापा,सिंह र धानुक डीआईजीमा बढुवा भएका थिए । जवकी एसएसपी बढुवामा छुटेका थापाले आफ्नै ब्याचका डीआईजी बसन्त लामा,सिंह र धानुकलाई उछिन्न सफल भए । भक्तपुर घर भएका थापा नेपाल प्रहरीमा धेरै लाभ लिने अधिकृतमध्ये एक हुन् ।

एसपी हुंदा काभ्रे बस्दा तत्कालिन गोकुल बास्कोटासंग उनको सुमधुर सम्बन्ध थियो । बांस्कोटाकै बलमा उनि त्यो बेला डीआईजीमा एक नम्बरमा बढुवा भएको प्रहरीकै अधिकारीहरु बताउंछन् । थापाको शक्तिकेन्द्रसंग सुमधुर सम्बन्ध बनाउन सक्ने र अक्षरस निर्देशन पालना गर्न सक्ने क्षमता छ ।

उनले नै बालुवाटारको जग्गा प्रकरणमा अनुसन्धानको जिम्मा पाएका थिए । थापालाई मिडिया उद्यमीको आवरणमा प्रहरीको सरुवा बढुवा, ठेक्कापट्टा र कमिसनको धन्दा गर्दै आएका एक जना व्यापारीको समेत साथ थियो । उनले अहिले पनि थापाका लागि लविङ जारी राखेका छन् । त्यसबाहेक भक्तपुरका सांसद महेश बस्नेत र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदा अधिकारीसंग उनको सुमधुर सम्बन्ध छ । तर, उनी आईजीपी बन्ने सम्भावना भने कम छ ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले एमाले नेता ईश्वर पोखरेल,तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेको दबावमा पोखरेललाई ०७७ मंसिर २५ मा दरबन्दी सिर्जना गरेर एआईजी बढुवा गरिएको थियो ।

पोखरेलको एमालेभित्रकै अर्को गुटसंग सम्बन्ध सुमधुर नभएपछी फेरी थापालाई दरबन्दी सिर्जना गरेर २०७८ साउन १४ मा एआईजीमा बढुवा गरिएको थियो । थापालाई आईजीपीमा पोखरेललाई काउन्टर दिन बढुवा गरिएको चर्चा त्यतिबेला गरिएको थियो ।

प्रहरीमा आवश्यकतालाई ध्यान दिएरभन्दा पनि आफु निकटका अधिकारीहरुलाई बढुवा गर्न दरबन्दी सिर्जना गर्ने र घटाउने खेल भइरहेको हुन्छ । प्रहरी संगठनमा व्यवसायीकता र कार्यसम्पादन हेरेर भन्दा पनि निकट सम्बन्ध र आदेश पालकलाई मात्र नेतृत्वमा ल्याउने प्रवृति विकास हुंदै आएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि ओली सरकारले गरेकै शैलीमा प्रहरीमा दरबन्दी सिर्जना गरेर ०७८ चैत १६ मा पन्त,सिंह र धानुकलाई एआईजीमा बढुवा गर्यो भने उत्तम सुवेदीजस्ता अधिकृतहरुलाई बढुवामा छुटाईयो । प्रहरीमा बढुवा गरिएका दुई जना सुदुरपश्चिम घर भएका र सिंहको मध्यपश्चिमको नेपालगंज घर हो । उनिहरु सबै प्रहरीमा कार्यदक्षता सामान्य भएका अधिकृतहरु हुन्

प्रहरी नियमावली–२०७१ मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मध्येबाट कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीका आधारमा एक जनालाई आईजीपीमा बढुवा गर्न सक्ने व्यवस्था छ । तर,नियमावलीमा जे लेखिएपनी आईजीपीको नियुक्ति भने राजनीतिक नियुक्ति भएकाले सरकारले विश्वास गरेको व्यक्तिले नै जिम्मेवारी पाउने देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खांड मात्र होईन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समेत आईजीपी नियुक्तीमा चांसो छ । आईजीपीका प्रतिस्पर्धीहरु पछिल्लो समय प्रभावशाली नेता र केही ठुला व्यापारीहरुकोमा घरदैलो गरिरहेका छन् । सत्तारुढ दलभित्र समेत प्रहरी र सशस्त्रको आईजीपी नियुक्तीमा भागवण्डा गर्नुपर्ने आवाज समेत उठेको स्रोत बताउंछ ।

आईजीपीको लागि मुख्यगरी तीन जनाबीच प्रतिस्पर्धा देखिएको छ । एआईजीहरु पोखरेल,धानुक र सिंहबीच मुख्य प्रतिस्पर्धा रहेको स्रोत बताउंछ । स्थानीय तहको निर्वाचन नजिक आइरहेको बेला पोखरेल एमालेको पालामा बढुवा भएको भन्दै अरु प्रतिस्पर्धीहरुले उनको आलोचना गरेपनि अहिले पनि आईजीपीमा भने उनकै सम्भावना सबैभन्दा बढी छ ।

पोखरेल अरु प्रतिस्पर्धीभन्दा ११ महिना सिनियर मात्र छैनन अहिलेसम्म कुनै ठुलो बिवादमा समेत आएका छैनन् । उनको सत्तारुढ दलका सबै प्रभावशाली नेताहरुसंग सुमधुर सम्बन्ध छ । शक्तिकेन्द्र चिन्न सिपालु पोखरेल लो प्रोफाइलमा बसेर हाइ प्रोफाइल काम गर्न माहेर छन् ।

नेपाल प्रहरीमा आईजीपी नियुक्ति यसअघि विवादमा पर्ने गरेको इतिहास भएपनि वरियतामा मिचेर आईजीपी बनाउन भने त्यति सजिलो छैन । वरियता मिच्दा सरकारको आलोचना हुने भएकाले पनि यसपटक सरकारले पोखरेललाई नै आईजीपी बनाउने सम्भावना छ । तर, पोखरेलका लागि पछिल्लो समय प्रतिस्पर्धीका रुपमा एआईजी धानुक र सिंह देखिएका छन् ।

प्रहरीमा यसअघि पनि शैलेश थापा, ठाकुर ज्ञवाली र सर्वेन्द्र खनाल समेत वरियताकै आधारमा आईजीपी नियुक्त भएका थिए । नवराज सिलवाल र जयबहादुर चन्दको पालामा भने वरियता मिचिएको थियो । यसपटक पोखरेललाई पछिल्लो समय धानकुले चुनाती दिइरहेको स्रोत बताउंछ । एआईजी सिंहको समेत बढी भरोसा सत्तारूढ दल कांग्रेस  र माओवादी केन्द्रका केही नेताहरूमाथि रहेको  चर्चा प्रहरीभित्र छ ।

यो पनि पढ्नुहोस-

सशस्त्रमा वैशाख १८ पछी को बन्ला नयां आईजीपी ?

प्रतिक्रिया दिनुहोस
Advertisement